२०८१ वैशाख २६, बुधबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचारकोरोनाले देखाएको स्वास्थ्य धरातल

कोरोनाले देखाएको स्वास्थ्य धरातल


कोरोना महाव्याधिका कारण हाल विश्व नै आक्रान्त छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार हालसम्म दुई करोडभन्दा बढी मानिसमा यसको संक्रमण फैलिएको छ । यस्तै भाइरस संक्रमणका कारण सात लाख ६३ हजार बढीको मृत्यु भएको छ । नेपालमा २८ हजार संक्रमितमध्ये १ सय जनाभन्दा बढीले ज्यान गुमाइसकेका छन् । भाइरसको सबैभन्दा बढी प्रभाव अमेरिका, युरोपसँगै अब एसियाली राष्ट्रहरुमा देखिन थालेको छ ।

विश्वका महाशक्ति भनिने राष्ट्रहरु पनि भाइरसका कारण निरिह देखिएका छन् । संसारकै अब्बल मानिने उनीहरुको स्वास्थ्य प्रणाली पनि यो भाइरसका अगाडि फिका देखिएको छ । भाइरस कति समय सक्रिय रहने हो ? यो अझै अनुमान गर्न गाह्रो छ । रसिया, चीन, बेलायत, अमेरिकाले खोपको परीक्षण थालेका छन् । खोपको नतिजा एवं प्रभावकारिता कस्तो हुने हो ? त्यो हेर्न बाँकी नै छ । यद्यपि, खोपको परीक्षण सफल भएर नतिजा सकारात्मक आएतापनि संसारभर एकै पटक खोप पुग्न मुस्किल छ । विकसित राष्ट्रले त्यसबाट चाँडो फाइदा लिन सक्छन् भने नेपालजस्ता विकासशील देशमा खोप आइपुग्न पक्कै पनि समय लाग्नेछ । त्यसैले हामीमा कोरोनासँग जुध्दै जिउनुपर्ने बाध्यता छ ।

उसो त हाम्रो स्वास्थ्य प्रणाली पहिलेदेखि नै निकै कमजोर छ । सरकारी संरचना कि त उपकरणबिहिन छन् कि त भएका पनि काम नगर्ने वा आवश्यक दक्ष जनशक्तिको कमीमा पूर्ण उपयोगमा आएका छैनन् । यस्तो फितलो धरातललाई कोरोना महामारीले उदांगो पारिदिएको छ । हरेक वर्ष स्वास्थ्यमा छुट्टाइने न्यून बजेट भौतिक पूर्वाधारलाई मात्र समावेश गरिने भएकाले उपकरण र जनशक्तिको लागि खासै लगानी गरेको पाइदैन् ।

अझ त्यसमाथि पनि सरकारी संयन्त्रको नेतृत्व तहमा बसेकाहरुले राम्रोलाई भन्दा हाम्रोलाई काखी च्याप्ने र त्यससम्बन्धी विज्ञका राय सल्लाह र सुुझावलाई बेवास्ता गरी नीति नियम बनाउँदा त्यसले प्रतिफल दिन सक्दैन् । नतिजा कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि सरकारले गरेका असफल प्रयासहरुले प्रस्टाइदिएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले पाँच महिनाअघि नै नेपाललाई रेड जोनमा राखेको थियो । आवश्यक पूर्व तयारी गर्न निर्देशन पनि जारी ग¥यो । तर, हाम्रोजस्तो देशका लागि यो निकै ठूलो चुनौतीपूर्ण थियो नै । सँगै कमजोर स्वास्थ्य धरातललाई माथि उठाउन प्रशस्त समय र मौका पनि थियो । तर, सरकार र स्वास्थ्य मन्त्रालयको व्यवस्थापकीय कमजोरीले अहिले महामारी समुदायस्तरसम्म पुगिसकेको छ । सरकारले आवश्यक तयारी नै नगरी १ सय २० दिन लामो लकडाउन खोल्यो । जसले गर्दा कोरोना संक्रमण उच्च गतिमा बढ्दै गर्दा बिना हतियार मैदानमा उत्रिएका करिब ४ सय स्वास्थ्यकर्मीहरु पनि संक्रमित भइसके । हाल सञ्चालनमा रहेका अस्पतालको बेडमा विरामी भरिन थालिसके । कति अस्पताल सिल गरेर राख्नु परेको अवस्था छ । कोभिडसँगसँगै नन–कोभिडका बिरामीहरु समेत मर्कामा परेका छन् । न्यून अस्पतालको संख्या, बेड, भेन्टिलेटर, आवश्यक उपकरण र दक्ष जनशक्तिको कमी र आवश्यक निर्देशिका नहुँदा बिरामीले अस्पताल चहार्दा—चहार्दै बाटोमै मृत्युवरण गर्नु परेको अवस्थासमेत देखिएका छन् ।

सरकारको लापरवाहीका कारण नागरिकले स्वास्थ्य सुविधा नपाउँदा उनीहरु स्वास्थ्यकर्मीमाथि आक्रोशित पोख्न थालेका छन् । जसले परिणाम नै मान्नुपर्छ, ठाउँ—ठाउँमा अप्रिय घटनाहरु घटिरहेका छन् । अस्पताल तोडफोडसहित डाक्टरमाथि नै हातपात गर्ने अनि ‘डाक्टर चोर देश छोड’सम्मका नारा लगाउने काम भएका छन् । यता आफ्नो र परिवारको ज्यानकै बाजी थापेर दिनरात नभनी सिमित व्यक्तिगत सुरक्षा उपकरण (पीपीई)को भरमा काम गरिरहेका स्वास्थ्यकर्मीलाई प्रोत्साहन गर्नुको साटो उल्टो स्वास्थ्यकर्मी माथि नै आक्रमण हुनु निन्दनीय छ ।

विकसित देशमा स्वास्थ्यकर्मीहरुलाई उच्च प्रोत्साहन गर्दै भगवानकै दर्जा दिएका छन् । तर, यहाँ त कोरोना संक्रमणको मुख्य दोषी डाक्टर नै हो भने जसरी घरबाट निकाल्ने, कही डाक्टरको घरमै संक्रमित हो भनेर पोष्टर टाँस्ने, कतै कुटपिट, धम्की र ज्यान मार्नेसम्मको प्रयास गरिएको छ । सरकारले दिने भनेको जोखिम भत्ता पनि स्वास्थ्यकर्मीहरुले पाएका छैनन् । यस्तो अवस्थामा स्वास्थ्यकर्मीले कुन मनोबलका साथ काम गर्लान्? छोड्नोस् डाक्टरलाई गाली गर्न, नेतालाई प्रश्न गर्नुहोस् ? राज्यको सिस्टम असफल भयो? त्यसो भए राज्य संयन्त्र प्रभावकारी बनाउन आवाज उठाउनुहोस् । डाक्टर दुश्मन होइनन्, तपाईंको ज्यान लिने । तपाईंहरुको सेवामा दिनरात खट्ने, आफ्नो ज्यानको बाजी राखेर बिरामीको जीवन बचाउने भगवान सरह हुन् । स्वास्थ्यकर्मीलाई माया र सम्मान गरौं । उनीहरुको मनोबल बढाऔं । सकिन्छ, स्वास्थ्यकर्मीलाई साथ, माया अनि सम्मानले प्रोत्साहित गरौं । यदि सकिदैन भने विभिन्न आत्मबलमा ठेस पुग्ने गतिविधि तथा नाराले हतोत्साहित पनि नगरौं ।

महामारी बढ्दै गएको अहिलेको अवस्थामा पर्याप्त मात्रामा आवश्यक जनशक्ति, आइसोलेसन वेड र भेन्टिलेटर वेडको पूर्ण तयारी गर्नुपर्ने देखिन्छ । प्राइभेट अस्पतालहरुलाई सरकारीकरण गर्ने समय पनि यही नै हो । स्वास्थ्यमा दोहोरो मापदण्ड अन्त्य गर्न सकियो भने पनि स्वास्थ्य सेवा सर्वसुलभ र जनताको पहुँचसम्म पुग्ने थियो । यसैगरी अस्तव्यस्त सरकारी स्वास्थ्य संरचनालाई स्तरोन्नती गर्दै लैजानुपर्ने देखिन्छ । स्वास्थ्य क्षेत्रमा बजेट वृद्धि गर्ने, डाक्टरको दरबन्दी थप गर्ने, अत्यावश्यक उपकरण र प्रविधि भित्र्याउने, स्वास्थ्यकर्मीको क्षमता विकास गर्दै लैजाने, सातवटै प्रदेशमा सुविधासम्पन्न अस्पताल निर्माण गर्ने, सबै अस्पतालहरुमा आवश्यक उपकरण र जनशक्तिको व्यवस्था गर्न सकियो भने समग्र स्वास्थ्य प्रणाली राम्रो हुने थियो । अस्पताल र स्वास्थ्य संस्थाहरु राम्रो भए भने नागरिकले पनि राम्रो सेवा सुविधा प्राप्त गर्दछन् । कोरोनाले उदांगो पारिदिएको स्वास्थ्य संयन्त्र बलियो बनाउने यो उपयुक्त अवसरका रुपमा लिनु पर्दछ ।

लकडाउन र सटडाउनले मात्र समाधान दिदैन् । व्यक्तिगत सुरक्षा सावधानी अपनाउने, माक्सको प्रयोग नियमित गर्ने, भिडभाडमा नगर्ने, सार्वजनिकस्थलहरुमा सामाजिक दूरी कायम गर्ने र सरसफाइमा ध्यान दिन सके संक्रमणको जोखिम कम हुन्छ । स्वास्थ्य सुरक्षा सर्तकता अपनाएर पेशा व्यवसाय सुरु गर्न सकिन्छ । आर्थिक क्रियाकलाप ठप्प हुँदा मान्छेमा रोजीरोटीकै समस्या हुन्छ । जसले गर्दा कोरोना महामारीकै बीच मानसिक समस्या अझ बढेर जानेछ ।

विकसित देशहरुले स्वास्थ्य निर्देशिका जारी गरी विस्तारै बजार खुलाउन थालेका छन् । निर्देशिका कार्यान्वयन नगर्नेलाई ठूलो जरिवाना तोकिएको छ । नागरिकहरुले पनि कानुनको पालना गरेका छन् । जसले पनि संक्रमण नियन्त्रणमा सघाउ पु¥याएको छ । नेपालले पनि कोरोना रोकथाम तथा नियन्त्रणमा विश्वले अंगीकार गरेका राम्रा अभ्यासहरुको प्रयोग गरेमा चाँडै नियन्त्रणमा आउन सक्छ । कोरोना महामारीले यत्रतत्र अनि सर्वत्र प्रभाव पारेको छ । हामी सबै मिलेर कोरोना महामारी रोकथाम र नियन्त्रण गर्न आफ्नो आफ्नो ठाँउबाट भूमिका खेलौं । नागरिकको सचेतना र स्वास्थ्य सुरक्षा सावधानीले कोरोना नियन्त्रण गर्न सहयोग पुग्छ । विश्व स्वास्थ्य संगठनको स्वास्थ्य निर्देशिका लागु गरौं ।


क्याटेगोरी : अन्तर्वार्ता / विचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ