२०८१ वैशाख २६, बुधबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचार‘हो म एक संक्रमित नर्स, अस्पतालबाट संक्रमण घर ल्याएछु’

‘हो म एक संक्रमित नर्स, अस्पतालबाट संक्रमण घर ल्याएछु’


विश्वव्यापी रुपमा फैलिएको कोरोना महाव्याधिको त्रास अहिले देशभर फैलिरहेको छ । डर र त्रासलाई मनमा राखे पनि मुहारमा हँसिलो मुस्कान लिएर सेतो कुर्तामा बिरामी सेवामा डटिरहेकी थिए । हुन त म फ्रन्टलाइनर नर्स थिइन् । तर, पनि जोखिमको समयमा अस्पतालका ओपिडी—आईपिडीसम्म हेर्न भने पछि थिइन् । दुर्भाग्यवस आफ्ना केही व्यक्तिगत कुराहरुले गर्दा कार्यरत अस्पताल छोड्नुप¥यो । अस्पताल छाडेको ४ दिनका दिन अलिकति घाँटीमा समस्या आएजस्तो भयो । मैले आफू कार्यरत पहिलेकै अस्पतालबाट पिसिआर टेष्ट गराए । एक हप्ताको पर्खाइपछि मेरो रिपोर्टमा कोरोना पोजेटिभ देखियो ।

एक नर्सका रुपमा म आफ्नो पेसाप्रति गर्व गर्छु । हुन् त मैले अस्पतालमा काम गर्दागर्दै कति वर्षहरु बितेछन् । यतिसम्मको संसार तर्साउने भवितव्य आउला भन्ने सोचेकी थिइन् । तर, अरु रोगका बिरामीहरुको सेवामा तत्पर भएर एक आईसीयु नर्सको भूमिका निर्वाह गरिरहे । कतिपय चाडपर्व, व्यक्तिगत जीवनलाई महत्व दिइन् । बरु, नर्सिङ शिक्षामा प्रवेश गर्दा लिएको अठोटलाई मनमा लिएर हिडिरहे ।

तर, संसारलाई नै तर्साउने गरी यो कोरोना महामारी फैलियो । कयौं मानिसहरुको ज्यान गयो । दिनप्रतिदिनका संक्रमण र मृत्युका समाचारले मलाई स्तब्ध बनाइरहेका छन् । आफ्नो पोजेटिभ रिपोर्टले मलाई पनि अत्यायो । मैले अस्पतालमा एक हप्ता अगाडि कार्यरत कर्मचारीका आधारमा सोही अस्पतालको आइसोलेसनका लागि आशा गरे । तर, नीति÷नियमको अगाडि त्यो सम्भव भएन । दुःख लाग्यो ।

दिनप्रतिदिनको डाक्टर र नर्सलाई समाजका व्यक्तिहरु मिलेर घरबाट र समाजबाट निकाल्न खोज्ने समाचारका कारण म झनै आतिए । कुनै पनि लक्षणहरु नभएका कारण मैले सम्पूर्ण बिरामीहरु राखिएका अस्पतालको आइसोलेसनमा बस्नु उचित ठानिन् । घरमै बस्ने निर्णय गरे । तर, म पूर्व कार्यरत अस्पतालका संस्थापकले केही समस्या आएमा खबर गर्नुस्, म काठमाडौंसम्म लगेर उपचार गर्न सहयोग गर्नेछु भन्ने भनाइले मेरो ५० प्रतिशत आत्मबल बढ्यो । म बसिरहेको समाजका व्यक्तिहरुको मप्रति देखाएको यो माया, सम्मान र इज्जत केही नघटेको र त्यही व्यवहारले म एकदमै हर्षित छु । र, उहाँहरुप्रति आभार व्यक्त गर्दछु ।
आज आएर मलाई आफ्नो कामप्रति गर्व छ । म आतिएकी छैन । मैले आफ्नो जिम्मेवारी गहन रुपमा सम्पादन गर्दागर्दै संक्रमति भएकी हुँ । यदि मैले यति नगरेकी भएँ र सम्पूर्ण स्वास्थ्यकर्मी पछाडि हटेका भए धेरैले बिरामीले उपचारको अभावमा ज्यान गुमाउनुपर्ने थियो होला । अहोरात्र नभनी ज्यानको बाजी थापेर काम गरिरहनुभएका स्वास्थ्यकर्मीहरुप्रति पनि आभार ब्यक्त गर्दछु ।

मैले आफूलाई सम्हाले । मैले हार माने भने मेरो परिवार समाजलाई गाह्रो हुन्छ भन्ने सोच मनमा राखेर अनुहारको हाँसो कायम राखिरहे । तर, एक्लै आइसोलेसनमा बसिरहँदा मेरो बाबाआमा प्रेसरको बिरामी कतै उहाँहरुलाई गाह्रो होला कि भन्ने पीर मनमा छ । आत्मबल बलियो बनाएकी छु । जे—जस्तो भएतापनि म एक नर्स । मैले ठिक भएर अरु सयौं बिरामीहरुको सेवा गर्नुछ । समाजका अगाडि एउटा राम्रो उदाहरण बनेर निस्किनु छ । यही कुरा मेरो मनोबल उच्च बनाएको छ । मैले यो रोगलाई परास्त गर्छु भन्ने आत्मविश्वास राखेकी छु । घरमा बुवाआमा, दिदीभाइ सबैलाई सम्झाएर राखेकी छु । म मात्र होइन्, म कयौं जस्ता छोरीहरु छन्, जो यो रोगलाई पन्छाउन युद्धमा छन् । म चाडै ठिक भएर सेवामा तत्पर हुनेछु । कोरोनाका बिरामीहरुलाई छिःछि दूरदूर गर्नेहरुलाई देखाउने छु भनेर बाआमाको आत्माविश्वास बढाएकी छु । म हारेकी छैन । फेरि पनि उठेर दौडिनेछु ।

म होम क्वारेन्टाइनमा भएका कारण खासै गाह्रो छैन । तर, पोजेटिभ रिपोर्ट आए सँगसँगै कयौ फोन र टेक्स्टका लहरले मलाई अलि गाह्रो भएको अनुभव गरे । कहिल्यै नबोल्ने साथीहरुको रेस्पोन्स देख्दा चित्त दुख्यो । मैले त सम्हाल्न सके तर सबै एकैनास हुदैनन् । यही कारणले कति डिप्रेसनमा नजालान भन्न सकिन्न । कतै यिनै कारणहरुले सुसाइडजस्ता घटनाहरु बढ्ने त होइनन् । यो गम्भीर चिन्ताको विषय हो ।

फ्रन्टलाइनमा रहेर अस्पतालहरूमा सेवामा डटेका सम्पूर्ण नर्स, चिकित्सक, स्वास्थ्यकर्मीप्रति हार्दिक आभार । यो विपद् र जोखिमको अवस्थामा महामारीसँग लड्ने मनोबल उच्च रहोस् । फ्रन्टलाइनरका समस्यामा सरकारको ध्यानाकर्षण होस् । शान्त र सुन्दर मानिने सेतो पोशाक र जोखिमको अवस्थामा ज्यानको बाजी थापेर काम गरिरख्नु भएका नर्सहरुलाई उचित सम्मान र हौसला दिन पछि नहटौं । सम्पूर्ण स्वास्थ्यकर्मीहरुको मनोबल उच्च राखौं ।

(स्टाफ नर्स पोखरेल यसअघि नोबेल मेडिकल कलेजमा कार्यरत थिइन् ।)


क्याटेगोरी : अन्तर्वार्ता / विचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ