२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचारयुद्धमोर्चा बनेका अस्पतालबाट फ्रन्टलाइनर नर्सको अनुभव : यो भाइरस निकै निर्दयी छ

युद्धमोर्चा बनेका अस्पतालबाट फ्रन्टलाइनर नर्सको अनुभव : यो भाइरस निकै निर्दयी छ


कोभिड–१९ हामीले सोचेको जस्तो छैन् । पहिलो लहरभन्दा दोस्रो लहर एकदमै डरलाग्दो छ । यो महामारीले कुनै बालक, युवा र वृद्ध भनेर छुट्याएको छैन । जसलाई पनि जे पनि हुन सक्छ, पूर्व आँकलन एकदमै असम्भव छ ।

म कोभिड–१९ महामारी सुरु भएदेखि नै कोभिड केयर सेन्टरमा संक्रमितको सेवामा छु । पहिलो लहरमा हामीहरुलाई कोभिड–१९ बारे धेरै कुरा थाहा थिएन । कुनै पनि स्पष्ट उपचार पद्धति र स्वास्थ्य प्रोटोकलहरु बन्ने चरणमै थियो । जसका कारण हामी थोरै नर्सहरुको टिम फ्रन्टलाइनमा रहेर धेरै बिरामी हेर्ने गथ्र्यौ । त्यो बेला हामीले थोरैले पनि त्यो जिम्मेवारी निभाएका थियौं ।

त्यो बेला कोभिड–१९ भन्ने बितिकै एकदमै धेरै डर थियो । सुरुवाती दिनहरुमा कोभिड–१९ विरुद्धका ड्युटीमा खटिदा हातखुट्टा काँपेर आउँथे । व्यक्तिगत सुरक्षा इक्वीपमेन्ट (पीपीई) कसरी लगाउने होला ? कसरी ८–९ घण्टा कोभिड–१९ वार्डमा बिरामीहरुको केयर गर्ने होलाजस्ता अनेकन प्रश्नहरु मनमा उकुस–मुकुस पार्थे । तर, गर्दै जाँदा विस्तारै हाम्रा लागि कोभिड–१९ वार्ड सहज लाग्न थाल्यो ।

झण्डै एक वर्ष बढीदेखि कोभिड–१९ का बिरामीहरुको सेवामा खटिदा अहिले च्यालेन्जमा खटिन झन रमाइलो लागिरहेको छ । अहिले पनि म सम्झन्छु त्यो बेलाका सुरुवाती दिनहरुमा हामी धेरै एक्पोज नहुने, काम चाडो गरेर बाहिर निस्की हाल्ने सोचमा हुन्थ्यौं । अहिले ती कुराहरु पूर्ण रुपमा परिवर्तन भएका छन् ।

चिकित्सक, नर्सलगायतका फ्रन्टलाइनरहरुलाई कोभिड–१९ विरुद्ध युद्धमोर्चाजस्ता बनेका अस्पतालहरुमा बिरामीको सेवा तत्लीन रहनका लागि अहिले मनोबल पहिलेजस्तो कमजोर छैन । यो अवधिमा हाम्रा तयारी, अनुभव, सिकाइ र भोगाइले नयाँ उचाइ हासिल गरेपनि अवस्था निकै जटिल छ ।

कोभिड–१९ को दोस्रो लहर तीब्र रुपमा आगोसरी फैलिरहेको छ । नयाँ भेरियन्ट तीब्र संक्रामक भएका कारण अस्पतालमा बिरामीहरु उच्च चाप छ । चुनौतीपूर्ण पक्ष भनेको अस्पताल पुगेका सबै संक्रमितलाई अक्सिजन दिनुपर्नेछ । अझ कतिपय संक्रमितहरुलाई त हाइफ्लो अक्सिजन दिनुपर्ने अवस्था छ । मैले पहिलेको कोभिड–१९ को तुलनामा दोस्रो लहरमा अस्पताल पुग्ने सबै बिरामीलाई निकै गाह्रो भइरहेको प्रत्यक्ष अनुभव गरिरहेकी छु । श्वास प्रश्वासमा एकदमै कठिन अवस्था झेलिरहनु भएको छ । तसर्थ, अनुभवका आधारमा अहिलेको कोभिड–१९ निकै विषालु र संक्रामक छ ।

अहिले हामी ३–४ जना स्टाफले ३० जनासम्म बिरामी हेर्नु परिरहेको छ । अवस्था यस्तो छ कि बिरामीको उच्च चापका कारण अस्पतालका साधन–स्रोत र जनशक्तिले समेत धान्न नसक्ने छ । अस्पताल व्यवस्थापनले हामी फ्रन्टलाइनर नर्सका लागि काम गर्ने वातावरण अहिले पहिलेकोभन्दा अलि सजिलो बनाइदिएको छ । किनभने, अहिले हामीसँग २४ घण्टा अन ड्युटी डाक्टरहरु हुनुहुन्छ । डाक्टर पनि पीपीईलगाएर २४ घण्टा नै फ्लोरमा बस्ने भएकाले कोभिड–१९ का बिरामीको रेखदेखमा अझ बढी सहयोग पुगेको छ ।

धुलिखेलका कोभिड वार्डमा कार्यरत ज्योति र उनका साथीहरू

म एक नर्सका रुपमा सेवा रहँदा सबै कुरा बिरामी नै हुन्छन् । कोभिड–१९ संक्रमित बिरामीलाई कसरी सजिलो हुन्छ, के गर्दा सजिलो हुन्छ भन्ने सोचमात्र ड्युटी रहँदा मनमा आउँछ । हामी पनि कुनै छुट्टै कुराले बनेका मानिसहरु होइनौं । नर्सभित्र पनि भावना, डर, प्रेमजस्ता गुण आम मानिसजस्तै हुन्छन् । त्यसैले मनभित्र एक किसिमको डर नहुने होइन् । तर, पहिलेको जस्तो अहिले डर छैन । किनभने, हामीले कोभिड–१९ विरुद्धको लडाइमा यसबाट कसरी बच्न सकिन्छ भन्ने अनुभव पनि यसअघि हासिल गरेका छौं ।

अहिले समय कठोर छ । भाइरस एकदमै निर्दयी छ । हामी कोभिड–१९ का वार्डहरुमा बिरामीका गाह्रोपन महसुस गरिरहेका हुन्छौं । उनीहरुलाई श्वास फेर्नका लागि उठाउनुपरिरहेका पीडाहरुसँग साक्षात्कार भइरहेका हुन्छौं । हामीले फेर्ने प्रत्येक श्वासको मूल्यबोध भइरहेको हुन्छ । मानिसहरु श्वास फेर्न नसक्दैं प्राण त्यागिरहेका हुन्छन् । कलिला लाउलाउ खाउखाउ भन्ने उमेरमै पनि यो विषाणु भाइरसले मानिसको जीवन हरण गरिरहेको छ । अहिले हामी फ्रन्टलाइनहरु पनि केही गर्न सक्दैनौं, आँखा अगाडि नै बिरामीहरु मरिरहेका निकै निर्दयी र क्रुर दृश्यहरु ब्यहोर्नुपर्छ । एकछिन अघिसम्म बोलिरहेको बिरामी हेर्दाहेर्दै गइसकेको हुन्छ ।

हामी ती कोभिड–१९ का ड्युटी वार्डहरुमा बिरामीका लागि गर्न सक्ने सबै उपायहरु गरिरहेका हुन्छौं । तर, अवस्था यति जटिल छ हामी चाहेर पनि केही गर्न सक्दैनौं । यसले हामीलाई निरिह भएको अनुभूति हुन्छ । लाग्छ, हामी हेल्पलेस छौं । जति कलिला उमेरका बिरामीहरु आँखा अगाडि बित्छन्, त्यो पीडा अझ गहिरो हुन्छ । आफ्ना आमाबुवा र भाइकै उमेरका बिरामीहरु ढलिरहेका कारुणिक दृश्यहरु निकै पीडादायी छन् । आफ्नै हातले प्याक गरेर पठाउँदा आँशु धरधरी झर्छ । म ती भावनाहरु यहाँ शब्दमा व्यक्त गर्न सक्दिन् ।

पहिलो लहरमा हामी केहीलाई कोभिड–१९ लागिसकेका छ । तर, अनयासै कहिलेकाहीँ लाग्छ, फ्रन्टलाइनमा रहेर बिरामी सेवामा रहँदा फेरि कोभिड–१९ संक्रमित भयौं भने के हामी बाँच्छौं होला ? अनि सोच्छु, ल मलाई त जे होला तर आफूसँग बसिरहेको भाइलाई केही भयो भने ? राति भाइले खोक्दा पनि डर लाग्छ । हामी फ्रन्टलाइनरहरुलाई आफ्नो भन्दा परिवारको चिन्ता छ । रातभर निन्द्रा लाग्दैन् । अनेकन शंका र उपशंका मनमा चलिरहन्छन् ।

पीपीई लगाएर घण्टौं काम गर्न पनि उत्तिकै मुस्किल छ । कोभिड–१९ का बिरामीहरुको सेवामा रहँदा ७–८ घण्टा पीपीईमा बस्दामा नुहाएर निस्केजस्तै हुन्छ । पसिनाले लपक्कै भिजेको । त्यतिबेला लाग्छ, अब आफैलाई ज्वरो आउँछ होला । हामी नर्स, डाक्टर र स्वास्थ्यकर्मी पनि मानिस नै हो । हाम्रो दिमागमा पनि धेरै कुरा खेलिरहेका हुन्छन् । डर लाग्छ । घर आउँदा तनाव बोकेर आउँछौं । घर पुगेपपछि भाइरस संक्रमणको माध्यम बनिएला भन्ने पीर छदैंछ ।

अहिले हामीलाई पहिलेको जस्तो क्वारेन्टाइन टाइम भनेर छुट्टै टाइम पनि हुँदैन । अहिले लगातार नै कोभिडमा ड्युटी गर्नुपर्छ । कोभिडमा काम गरेर घर नै फर्किने भएकाले सिफ्टवाइज ड्युटी गर्नुपर्छ । रेष्टटाइममा माइन्ड डाइभर्ट गर्न रमाइलोमा साथीहरु मिलेर टिकटक बनाउने, गीत गाउने र नाच्ने गर्छौ ।

अन्तमा, सबैमा मेरो अनुरोध छ, अहिले घरबाट बाहिर ननिस्कौं । यो रोगलाई सामान्य रुपमा नलिऔं । अहिले जसलाई परेको छ, उसलाई मात्र थाहा छ । त्यसबाहेक हेल्थवर्करहरु जो कोभिड–१९ संक्रमित भएर अस्पताल आएकाको जीवन र मरणको साक्षी बस्छौं, हामीलाई थाहा छ । यो रोग कति खतरानाक र निर्दयी छ । उपचार गर्नुभन्दा रोग लाग्न नदिनु नै सर्वोत्तम उपाय हो । घरमा बस्नुस्, सुरक्षित रहनुहोस् । धन्यवाद ।

(लेखक धुलिखेल अस्पातलमा कार्यरत छन् ।)


क्याटेगोरी : अन्तर्वार्ता / विचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ