२०८१ जेठ ७, सोमबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशनेपाली सेनाद्धारा जुम्लाको गज्याङकोटमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

नेपाली सेनाद्धारा जुम्लाको गज्याङकोटमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न


जुम्ला– जुम्लाको सदरमुकाम खलंगादेखि पूर्वीभेगमा पर्ने गुठीचौर गाउँपालिकाको गज्याङकोट गाउँमा स्वास्थ्य शिविर सम्पन्न भएको छ । आइतबार शंकर माध्यमिक विद्यालयमा नेपाली सेनाले निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको हो ।

नेपाली सेनाले सञ्चालन गरेको बृहत निःशुल्क स्वास्थ्य शिविरबाट दुर्गम गाउँका करिब ४ सय ३८ जना नागरिक प्रत्यक्ष लाभान्वित भएका छन् । जसमा १ सय ५१ जना महिला र २ सय ३५ जना पुरुष र ५३ जना बालबालिका गरी ४ सय ३८ जना बिरामीकोे विभिन्न रोगको निःशुल्क उपचार गरिएको थियो ।

स्वास्थ्य जाँच गरिएका अधिकांश महिलामा पाठेघरको समस्या भेटिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुबी बस्नेतले जानकारी दिइन् । उनका अनुसार आइतबार स्वास्थ्य जाँच गरेका १ सय ५१ जना महिला मध्ये करिब ९० प्रतिशत महिलामा पाठेघर क्यान्सरको जोखिम, सेतो पानी बग्ने र महिनावारी भएको बेला रक्त श्राव हुने समस्या बढी देखिएको हो । ‘दुर्गम गाउँका महिलामा पाठेघर क्यान्सरको जोखिम बढ्दै गएको पाइएको छ,’ उनले भनिन्, ‘अपरिपक्व उमेरमै बच्चा जन्माउनु, धेरै काम गर्नु, चुरोट तमाखुको प्रयोग गर्नु, भारी बोक्नु आराम नगर्नु लगायतका कारण दुर्गमका महिलामा पाठेघर क्यान्सरको जोखिम बढी देखिएको हो ।’
३५ देखि ४० र ६० वर्ष मुनिका महिलामा बढी पाठेघरको समस्या देखिएको स्त्रीरोग विशेषज्ञ डा. बस्नेतको भनाई छ । उनीहरुलाई आवश्यक औषधी र पोषणयुक्त खानेकुरा खान र आराम गर्न सुझाव दिइएको छ ।

अन्य पुरुष, बालबालिका, यूवा युवतीहरुमा, ग्यास्ट्रिक, हाडजोर्नी, छाती दुख्ने लगायतका समस्या बढी देखिएको शिविरमा संलग्न डा. हेमन्त चौधरीले बताए । नेपाली सेनाको नागरिक सैनिक कार्यक्रम अन्तरर्गत घरदैलोमै सञ्चालन गरिएको स्वास्थ्य शिविरले स्थानीयले राहत महसुस गरेका छन् । स्थानीय काली बुढाले भनिन्, ‘७० वर्ष उमेर कटिसक्यो, हिँडेर सदरमुकाम जान सक्ने अवस्था थिएन् । गाउँमै आएर स्वास्थ्य जाँच गरी औषधी पाएकोमा साह्रै खुसी लागेको छ ।’

उहिले सेना देख्दा डर लाग्थ्यो अहिले गाउँमै पुगेर सेना नागरिकको सेवा गर्न थालेपछि डर त्रास नरहेको उनको भनाई छ । उमेरले ७६ वर्ष नाघि सकेकी गुठिचौर ३ की नानीकला बुढाले पनि गाउँमै निशुल्क स्वास्थ्य उपचार पाउँदा खुसी व्यक्त गरिन् । ‘पुरुष त विरामी हुँदा अस्पताल गएर जाँच गरिहाल्छन् हामी महिलालाई घरधन्दा मेलापात गर्दै ठिक्क हुन्छ,’ उनी भन्छिन्, ‘नेपाली सेनाले गाउँमै उपचार गरेर निःशुल्क औषधी दिँदा ग्रामीण्काा महिलालाई बढी राहत भएको छ ।’

२४ नम्बर बाहिनीका बाहिनीपति यम सापकोटाले नागरिक सैनिक कार्यक्रम मार्फत सेना र नागरिकको सम्बन्ध समधुर बनाउन गाउँगाउँमा जनहितका कार्यक्रम गर्दै आएको बताए । सेना पनि नागरिकका सुख दुःखका साथी हुन् भन्ने कुराको विश्वास दिलाउन विभिन्न काम गरिरहेको उनको भनाई छ ।

त्यस्तै नन्दा बक्स गणका गणपति दिवाकर रायमाझीले चालु आर्थिक वर्षको पहिलो नागरिक सैनिक कार्यक्रम अन्तर्गत स्वास्थ्य शिविर सञ्चालन गरेको बताए । उनका अनुसार यसअघि गत वर्ष सेनाले जुम्लाको हिमा गाउँपालिका स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । स्वास्थ्य शिविरसंगै अन्य विभिन्न विषयमा जनचेतना मुलक कार्यक्रम गरिएको उनको भनाई छ ।

गुठीचौर गाउँपालिका अध्यक्ष हरि बहादुर भण्डारीले स्थानीय सरकारले गर्ने काम नेपाली सेनाले गरेको बताए । नागरिक र सेना बीचको सम्बन्ध समधुर बनाउन यस्ता सामाजिक हितका कार्यक्रम कोशेढुंगा सावित हुने तर्क दिए ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ