२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकर्णाली केयरमा विशेषज्ञ स्वास्थ्य सेवा,आईसीयु कक्षदेखि सिटी स्क्यानसम्म

कर्णाली केयरमा विशेषज्ञ स्वास्थ्य सेवा,आईसीयु कक्षदेखि सिटी स्क्यानसम्म


वीरेन्द्रनगर- कर्णालीका नागरिकलाई विशेषज्ञ स्वास्थ्य सेवा दिन सुर्खेतको वीरेन्द्रनगरमा अत्याधुनिक सुविधासहितको अस्पताल संचालनमा आएको छ । कर्णालीमा निजी क्षेत्रबाट ठूलो लगानीमा अत्याधुनिक सुविधासहितको कर्णाली केयर इन्टरनेशनल हस्पिटल एण्ड रिसर्च सेन्टर संचालनमा आएको हो ।

१२ चैतेदेखि संचालनमा आएको कर्णाली केयरमा विशेषज्ञ स्वास्थ्य सेवासहित आईसीयु कक्षदेखि सिटी स्क्यानसम्मका सेवा उपलब्ध छन् । ५० वेडको अत्याधुनिक सुविधायुक्त कर्णाली केयर अनौपचारिक रुपमा संचालनमा आएपनि औपचारिक उद्घाटन हुन बाँकी छ ।

सबै विशेषज्ञ स्वास्थ्य सेवा एकै ठाउँबाट दिने उद्देश्यले अस्पलात संचालनमा ल्याइएको अस्पताल कार्यकारी निर्देशक तथा मानसिक रोग विशेषज्ञ डा.सुशील समदर्शीले बताए । उनका अनुसार अस्पतालमा बालरोग विशेषज्ञ सेवा, हार्डजोर्नी तथा नशा रोग विशेषज्ञ सेवा, महिला तथा प्रसुति रोग, मानसिक रोग, जनरल फिजिसियन, जनरल तथा ल्याप्रोस्कोपी सर्जरी, छाला र यौन तथा सौन्दर्य विशेषज्ञ सेवा उपलब्ध छन् ।

यस्तै नाक, कान, घाँटी, प्याथोलोजिष्ट, फिजियोथेरापी, दाँत, मुख तथा गिजा रोगको पनि अस्पतालमा उपचार हुनेछ । साथै अस्पतालले आधुनिक प्रविधियुक्त सिटी स्क्यान, भिडियो एक्स–रे, सादा एक्स–रे सेवा, आधुनिक ल्याव, भेन्टिलेटरसहितको आईसीयु, एनआईसीयु, साना तथा ठूला सम्पूर्ण शल्यक्रिया सेवा पनि अस्पतालले दिनेछ ।

‘कर्णालीमै पहिलो पटक छुट्टै मनोरोग वार्ड स्थापना गर्ने तयारीमा छौं । जहाँ जटिल खालका मानसिक रोगका बिरामीको उपचार हुनेछ’ डा. समदर्शीले भने, ‘जनरल तथा विशेष वार्ड रहेको अस्पतालले चौवीसै घण्टा इमरजेन्सी र फार्मेसी सेवा संचालन गर्नेछ ।’ कर्णालीका कमजोर आर्थिक अवस्था भएका नागरिकलाई मध्यनजर गरी सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरिने उनको भनाइ छ ।

डा. समदर्शीका अनुसार अस्पतालले विमा र आमा सुरक्षा कार्यक्रम र स्वास्थ्य सम्वन्धी अध्ययन, अनुसन्धानको काम गर्नेछ । विशेषज्ञ सेवा लिन अब कर्णालीवासीले नेपालगंज, काठमाडौं, लखनउलगायत बाह्य ठाउँ जान नपर्ने अस्पतालले जनाएको छ । ‘कर्णालीमै कम खर्चमा स्तरीय सेवा दिने प्रयासमा छौं’ डा. समदर्शीले थपे, ‘चाँडै बिपीएच, बिएन, स्टाफ नर्स र एचए अध्यापन कार्य समेत सुरु गर्ने तयारीमा छौं ।’


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ