२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशभेरीमा जनशक्तिको अभाव भएपछि प्रतिष्ठानले पठायो चिकित्सक

भेरीमा जनशक्तिको अभाव भएपछि प्रतिष्ठानले पठायो चिकित्सक


जुम्ला-कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले चिकित्सकको टोली उपचार गर्न नेपालगंजस्थित भेरी अस्पतालमा पठाएको छ । भेरी अस्पतालको कोभिड वार्डमा जनशक्तिको चरम अभाव भएपछि आइतबार प्रतिष्ठानले विशेषज्ञ चिकित्सकसहितको टोली पठाइएको हो ।

प्रतिष्ठानका एनेस्थेसिया तथा सघन उपचार विभाग प्रमुख डा. प्रवीण गिरी नेतृत्वको चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली नेपालगञ्ज पठाइएको प्रतिष्ठानका रजिस्ट्रार विश्वराज काफ्लेले बताए । उनका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आग्रहपछि प्रतिष्ठानका ६ चिकित्सक र स्वास्थ्यकर्मीको टोली भेरी अस्पतालमा खटाइएको हो ।

प्रतिष्ठानका निमित्त निर्देशक डा राजीव शाहले सघन उपचारका लागि चिकित्सकको अभाव रहेको जानकारी भेरी अस्पतालका मेसु डा. प्रकाश थापाले गराएपछि प्रतिष्ठानबाट चिकित्सक टोली खटाइएको बताए ।

सघन उपचार विभाग प्रमुख डा. प्रवीण गिरीसहित डा. अरुण श्रेष्ठ, डा. हरि न्यौपाने, नर्सहरु सुष्मिता खड्का, तेन्जिङ लामा र प्यारामेडिक्स नरेन्द्र शर्मा भेरी अस्पतालमा पठाइएका हुन् । मौसम राम्रो भयो र उडान भए आइतबार नै नेपालगञ्ज जाने तयारी गरिएको छ । उनीहरुले करिब १० देखि १४ दिनसम्म भेरीमा बसेर बिरामीको उपचार र व्यवस्थापनमा सहयोग गर्नेछन् ।

कोरोनाको उपचार र व्यवस्थापनका लागि कर्णाली प्रतिष्ठानमा टोली बनाइएको छ । उक्त टोलीले जहाँ अप्ठ्यारो पर्छ त्यहाँ पुगेर सहयोग गर्नेछ ।

यो टोली निश्चित समयका लागि परिचालन हुने गरेको छ । भेरी अस्पतालमा जनशक्तिको अभाव हुँदा उपचार व्यवस्थापनमा गाह्रो परेको भन्दै आफ्नो नेतृत्वको टीमले त्यसमा सहयोग र सहजीकरण गर्ने डा. गिरीले बताए ।

अहिलेसम्म सो अस्पतालका ७३ जनाभन्दा बढी स्वास्थ्यकर्मी संक्रमित छन् । जनशक्ति अभावमा केही स्वास्थ्यकर्मी संक्रमित भएर पनि उपचारमा खटिएको भेरी अस्पताल स्रोतले जनाएको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ