२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशजुम्लाको कनकासुन्दरीमा २९ र पातारासीका २४ जनामा कोरोना संक्रमण

जुम्लाको कनकासुन्दरीमा २९ र पातारासीका २४ जनामा कोरोना संक्रमण


जुम्ला-जुम्लाको कनकासुन्दरी गाउँपालिकामा २९ र पातारासीका २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जनस्वास्थ्य कार्यालय र स्थानीय तहका स्वास्थ्यकर्मीको टोलीले कनकासुन्दरीका १९५ जनामा एन्टीजेन्ट परीक्षण गर्दा २९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । हाँडसिंजा स्वास्थ्य चौकीको इन्चार्ज वीरेन्द्रप्रसाद उपाध्यायका अनुसार कोरोना संक्रमण पुष्टि भएका मध्ये १५ जनालाई आइसोलेसनमा राखिएको छ भने अन्य १४ जना होमआइसोलेसनमा बसेका छन् ।

संस्थागत आइसोलेसनमा रहेको कोरोना संक्रमति व्यक्तिलाई गाउँपालिकाले खानाको व्यवस्थापन पनि गरेको उनले बताए । उनले भने पाँच बेडको कोभिड अस्थायी अस्पताल र २० बेडको आइसोलेसन रहेको छ ।

कनकासुन्दरी गाउँपालिकास्थित हाँडसिंजा स्वास्थ्य चौकी सिल गरिएको छ । स्वास्थ्य चौकीमा कार्यरत एक जना कर्मचारीमा कोरोना संक्रमण देखिएकोले बैशाख २९ गतेदेखि एक साता सिल गरिएको हो ।

स्वास्थ्य चौकी इन्चार्ज उपाध्यायकाअनुसार स्थानीयस्तरमा कोरोना संक्रमण परीक्षण गर्दा अझै संक्रमण पुष्टि हुने सम्भावना देखिएको छ । उनले भने, ‘यहाँको जमघट, विहेवारी जस्ता गतिविधिका कारण संक्रमण फैलिने डर उत्तिकै रहेकोले यस्ता गतिविधि रोक्नुको विकल्प छैन ।’

यस्तै, जुम्लाको पूवीभेगमा पर्ने पातारासी गाउँपालिकाका २४ जनामा कोरोना संक्रमण देखिएको छ । बैशाख २८ गते जनस्वास्थ्य कार्यालय र स्थानीय तहको समन्वयमा १०४ जनाको एन्टीजेन्ट परीक्षण गर्दा २२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यसअघि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा २ जनालाई पिसिआर परीक्षण गर्दा संक्रमण देखिएको थियो । हाल पातारासी गाउँपालिकाका २४ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य संयोजक रतन बुढ्थापाले बताए ।

उनले भने, ‘कोरोना रोकथाम तथा नियन्त्रणमा जुटेका छौं । गाउँपालिकाको प्रवेशद्वार उर्थु चौतारामा हेल्थ डेक्स स्थापना गरी स्वास्थ्य चेकजाँच गर्ने गरिएको छ ।’

गाउँपालिका अध्यक्ष लक्षिमन बोहराकाअनुसार कोरोना सम्बन्धी जनचेतना अभियान सञ्चालन गरिएको छ । पाँच बेडको अस्थायी कोभिड अस्पताल व्यवस्थित बनाउने पनि तयारी गरिएको छ ।

३० बेडको आइसोलेसनको पनि तयारी थालिएको छ । त्यस्तै एउटा गाडी भाडामा लिएर कोरोना संक्रमितलाई ओसारपसार गर्नेका लागि कोभिड विशेष एम्बुलेन्सको पनि व्यवस्थापन गरिएको उनले बताए ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ