२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशफ्रन्टलाइनर स्वास्थ्यकर्मी दुर्व्यवहार खेप्दै काम गर्दै

फ्रन्टलाइनर स्वास्थ्यकर्मी दुर्व्यवहार खेप्दै काम गर्दै


जुम्ला कोभिड–१९ विरुद्ध फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी अहिले उच्च जोखिममा छन् । उच्च जोखिमका बीच पनि मैदानमा खटिएका स्वास्थ्यकर्मी उच्च मनोबलका साथ काम गरिरहेका छन् ।

न घाम न पानीको वास्ता छ न त आरामको नै । निरन्तर स्वास्थ्य सेवामा खटिरहेका छन् । तिला गाउँपालिका स्वास्थ्य शाखामा कार्यरत अहेव उत्तम देवकोटा भन्छन्, ‘कोभिड–१९ रोकथाम तथा नियन्त्रणमा लागि रहनु परेको छ । घरपरिवार छरछिमेक, आफन्त सबैदेखि टाढा हुनु परेको छ । यो भाइरसले स्वास्थ्यकर्मी र समाज बीचमा विश्वासको संकट निम्तिएको छ ।’ स्वास्थ्य सेवा दिन अहोरात्र खटिएका स्वास्थ्यकर्मीमाथि एकपछि अर्काे दुर्व्यवहारका घटना भइरहेका छन् । कोभिड–१९ संक्रमितको उपचारमा दिलोज्यानले खट्दा पनि स्वास्थ्यकर्मीप्रति हेर्ने नजर नकारात्मक भएकोमा उनले गुनासो पोखे ।

समाजबाट दुर्व्यवहार खेप्नुको पीडा स्वास्थ्यकर्मीलाई हुने गरेको कनकासुन्दरी गाउँपालिका हाँडसिंजा स्वास्थ्य चौकीका इन्चार्ज वीरेन्द्र उपाध्यायले सुनाए । ‘काममा तनावै तनाव छ,’ उनले भने, ‘एकातिर परिवारबाट विछोडिनुको पीडा, अर्कोतिर संक्रमितको उपचार र रेखदेख गर्नमै व्यस्त हुने गरेका छौं । तर, समाजमा स्वास्थ्यकर्मीमाथि दुर्व्यहारका घटनाले झन मन पिरोल्छ ।’

स्वास्थ्यकर्मी भएर बिरामीको सेवा गर्न जति उत्साहित भइन्छ । उति नै समाजबाट बहिस्कृत हुँदा दुःख लाग्ने गरेको पातारासी गाउँपालिका स्वास्थ्य संयोजक रतन बुढ्थापाले बताए । उनले भने, ‘स्वास्थ्यकर्मीको अनुकूलता र सहजताको लागि सबैले सोच्नु जरुरी छ । एउटा सत्य के हो भने प्रतिकूलताको बीचबाट उठेर अनुकूलताको खोजी गर्नुपर्छ ।’ स्वास्थ्यकर्मीलाई समाजमा सम्मान र हौसला चाहिएको उनको भनाइ छ ।

अहिले स्वास्थ्यकर्मी गाउँमा सचेतना प्रदान गर्नेदेखि अस्पतालमा जटिल प्रकारका संक्रमितको उपचारमा संलग्न छन् । स्वास्थ्यकर्मीले निकै जोखिम मोलेर कोराना मैदानमा खटिनुपरेको छ । तर, स्वास्थ्यकर्मीलाई हेर्ने नजर सकारात्मक नरहेको गुठीचौर गाउँपालिका स्वास्थ्य संयोजक बालराम नेपाली बताए ।

संक्रमितको उपचारको क्रममा मृत्यु हुँदा स्वास्थ्यकर्मीमाथि हातपात हुनु, कोभिड–१९ संक्रमितसँग नजिक हुने भएकोले गाउँमा जाँदा फरक सोचले हेर्नु र विभिन्न प्रकारका आरोप लगाएर धम्की दिने गरेको पछिल्लो क्रियाकलापले मनोबल गिराउने काम भइरहेको उनको भनाइ छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ