२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशस्वास्थ्यकर्मी फकाउन सरकारले फेरी घोषणा ग¥यो ५० प्रतिशत जोखिम भत्ता

स्वास्थ्यकर्मी फकाउन सरकारले फेरी घोषणा ग¥यो ५० प्रतिशत जोखिम भत्ता


जुम्ला- कोभिड-१९को पहिलो र दोस्रो लहर नियन्त्रण र संक्रमितको उपचारमा दिनरात खटिएका देशभरका झन्डै ११ हजार स्वास्थ्यकर्मी संक्रमणको चपेटामा परे । ५० जनाले त ज्यान नै गुमाए । सरकारले उपलब्ध गराउने भनेको जोखिम भत्तासमेत सबै स्वास्थ्यकर्मीले अझै पाएका छैनन् ।

नेपालमा ९ माघ ०७६ मा संक्रमण पुष्टि भएयता कोरोनाका दुइटा लहर सकिएर तेस्रो लहर सुरु भएको छ । तर, अघिल्ला लहरमा संक्रमितको उपचारमा प्रत्यक्ष खटिएका सबै स्वास्थ्यकर्मीले सरकारबाटै घोषणा भएको जोखिम भत्ता अहिलेसम्म पाएका छैनन् । उनीहरूमध्ये केहीले पहिलो लहरकै र धेरैले दोस्रो लहरको भत्ता नपाएको गुनासो गरेका छन् ।

कोरोना संक्रमणको तेस्रो लहर सुरु भएपछि स्वास्थ्यकर्मीलाई फकाउन सरकारले कोभिड–१९ विरुद्ध फ्रन्टलाइनमा खटेर काम गर्ने स्वास्थ्यकर्मीलाई ५० प्रतिशत जोखिम भत्ता दिने तयारी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलका अनुसार कोभिडमा खटिने स्वास्थ्यकर्मीलाई ५० प्रतिशत जोखिम भत्ता दिने तयारी छ । ‘हामीले कोभिड–१९ मा खटिने स्वास्थ्यकर्मीलाई माघ, फागुन र चैतको ५० प्रतिशत जोखिम भत्ता दिने तयारी अगाडि बढाएका छौं,’ उनले भने । उक्त भत्ता बारे स्वास्थ्यले फाइल तयार गरिसकेकाले केही दिनमै त्यो फाइल अर्थ मन्त्रालय पठाउने तयारी छ ।

कोभिड–१९ को तेस्रो लहरमा स्वास्थ्यकर्मीहरु पनि तीब्र रुपमा संक्रमित भइरहेका छन् । स्वास्थ्य मन्त्रालयको यो तयारीले उनीहरुलाई फ्रन्टलाइनमा काम गर्ने प्रोत्साहित गर्ने विश्वास गरिएको छ ।

कनकासुन्दरी गाउँपालिकास्थित हाँडसिंजा स्वास्थ्य चौकीका इन्चार्ज विरेन्द्र उपाध्यायले संघीय र प्रदेश सरकारले पहिलो र दोस्रो लहरमा जोखिम भत्ता दिने भनेपनि नदिएको उनले बताए । उनले सो गाउँपालिकामा झण्डै ७० जना स्वास्थ्यकर्मी रहेको बताए।

‘कोरोना संक्रमणको पहिलो र दोस्रो लहरमा हाँडसिंजा र पाण्डगुफा स्वास्थ्य चौकी आइसोलेनमा फन्टलाइनमा काम गर्ने २०/२५ जना स्वास्थ्यकर्मी जोखिम भत्ता पाउनु पर्ने हो । तर, पाएनन् । गाउँपालिकाले सामान्य खाजा भत्ता मात्रै दिएको थियो,’उनले भने । अहिले पनि संघीय सरकारको जनसंख्या तथा स्वास्थ्य मन्त्रालयले ५० प्रतिशत जोखिम भत्ता दिने घोषणा गरेपनि आस नगरिएको उनले बताए ।

दोस्रो लहरको कोरोना संक्रमणका बेला अघिल्लो वर्ष यहाँका आठ स्थानीय तह मध्ये चन्दननाथ नगरपालिका बाहेक ७ गाउँपालिका तातोपानी, गुठीचौर, पातारासी, कनकासुन्दरी, हिमा, सिजा र तिला गाउँपालिकामा अस्थायी कोभिड अस्पताल सञ्चालनमा थिए । प्रत्येक अस्थायी कोभिड अस्पतालमा एक जना चिकित्सक, दुई जना स्टाफनर्स र एक जना कार्यालय सहयोगीको व्यवस्था गरिएको थियो ।

तर, आर्थिक वर्ष २०७८/०७९ को साउन महिनादेखि जनसंख्या तथा स्वास्थ्य मन्त्रालयमार्फत बजेट विनियोजन नभएपछि अस्थायी कोभिड अस्पताल प्रभावित भएको हाँडसिजा स्वास्थ्य चौकीका इन्चार्ज विरेन्द्र उपाध्यायले बताए । उनले भने,’बजेट नभएपटि अस्थायी कोभिड अस्पतालमा अहिले स्वास्थ्यकर्मी छैनन् ।’

यस्तै, तिला गाउँपालिका स्वास्थ्य शाखा संयोजक गणेश शाहीका अनुसार नयाँ आर्थिक वर्षको साउनदेखि बजेट नआएपछि अस्थायी कोभिड अस्पताल स्वास्थ्यकर्मी विहीन अवस्थामा छन् । तेस्रो लहरको कोरोना संक्रमण फैलिदो अवस्थामा छ । तर अस्थायी कोभिड अस्पतालमा स्वास्थ्यकर्मी छैनन् ।

तातोापानी स्वास्थ्य शाखाका संयोजक गुरुप्रसाद चौलागाईका अनुसार अस्थायी कोभिड अस्पतालका स्वास्थ्यकर्मीको सेवासुविधा साउनदेखि आएको छैन । उनले भने यस विषयमा स्वास्थ्य मन्त्रालयमै पुगेर बुझेका थियौँ । पुस महिनासम्मको सेवासुविधा पठाउने तयारी गरिएको बुझिएको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ