२०८१ वैशाख २९, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशस्वास्थ्य शिक्षा र सेवाको केन्द्र बन्दैं कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान

स्वास्थ्य शिक्षा र सेवाको केन्द्र बन्दैं कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान

जहाँ देशभरबाट चिकित्सा शिक्षा अध्ययन गर्न पुग्न थाले विद्यार्थी


जुम्ला— वि.सं. २०६८ सालमा स्थापना भएको कर्णाली स्वास्थ्य विज्ञान (कास) प्रतिष्ठान स्थापनाको केही वर्षमै स्वास्थ्य शिक्षा र सेवाका लागि सुगमका लागि समेत भरोसा बन्न थालेको छ । दुर्गम जिल्लामा स्वास्थ्य सेवा र शिक्षाका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना भएपछि चिकित्सक शिक्षा अध्ययन गर्ने थलो बनेको छ ।

देशभरका विद्यार्थी चिकित्सा शिक्षा अध्ययनका लागि कर्णालीको जुम्ला आउन थालेका छन् । स्नातक तहको एमबीबीएस ३० जना कोटामध्ये २८ जना विद्यार्थी भर्ना भएका छन् । बीफर्मा २० कोटामध्ये १७ जना विद्यार्थी भर्ना भएको प्रतिष्ठानले जनाएको छ । यस्तै, बीएनएच २० जनाको कोटामध्ये १७ जना, बीएमएस १० जनाको कोटामध्ये ८ जना र बिपिएच २० जनाको कोटामध्ये १६ जना विद्यार्थी भर्ना भएको प्रतिष्ठानले जनाएको छ ।

विद्यार्थी अझै भर्ना हुने सम्भावना छ । चिकित्सा शिक्षाको इतिहासमा यो संस्था विशिष्ट किसिमको रहेको प्रतिष्ठानका उपकलपति डा. मंगल रावलले बताए । ‘प्रतिष्ठानले १३ वटा पिछडिएका जिल्लाहरुको उपचार, चिकित्सा शिक्षा र अनुसन्धानका काम गर्दै आएको छ,’ डा. रावलले भने, ‘प्रतिष्ठान अध्ययनरत विद्यार्थीले अनुशासन र आनीबानीमा निकै ख्याल गर्नुपर्ने हुन्छ ।’ चिकित्सा शिक्षाका लागि विद्यार्थीको कडा मेहनत आवश्यक पर्ने बताउँदै उनले भोलि कर्णालीमा उत्पादन भएको जनशक्ति विश्वभर माग हुने खालको बनाउने बताए ।

झापा, सुर्खेत, धादिङ, दाङ, पाल्पा, बर्दिया, बाग्लुङ, रुपन्देही, नवलपरासी, बारा, सर्लाही, भक्तपुर, कालिकोट, कपिलवस्तु, नेपालगन्जलगायतका सुगम जिल्लाबाट दुर्गम कर्णालीको जुम्लाका चिकित्सा शिक्षा अध्ययन गर्न आउने गरेको प्रतिष्ठानका रजिष्ट्रार नृपेन्द्र महतले जानकारी दिए ।

कोभिड-१९ सुरु हुनुअघि पनि सुगम मानिएका सुर्खेत, नेपालगन्जलगायतका जिल्लाबाट बिरामीहरूलाई जुम्ला ल्याएर उपचार गराइन्थ्यो । नेपालको अति दुर्गम जिल्ला मध्येमा पर्ने जुम्लामा स्वास्थ्य विज्ञान प्रतिष्ठान बनेपछि तराईंका बिरामी पहाड उक्लेर उपचार गर्ने गरेका थिए ।

केही वर्षअघिसम्म जुम्लाका नागरिकले डाक्टर नपाएर अकालमा ज्यान गुमाउनुपर्ने बाध्यता थियो । तर, प्रतिष्ठान बनेपछि पर्याप्त पूर्वाधार र स्वास्थ्य जनशक्ति संकटमा भरोसा बनेको छ । तीन सय बेडको अस्पताल सञ्चालनमा रहेको छ । जसमा एचडियु बेड २४, आईसीयु बेड १२ र भेन्टिलेटर १५ वटा छन् । सिटी स्क्यान, भिडियो एक्स—रे, अक्सिजन प्लान्ट, आरटी पिसिआर मेसिन सञ्चालनमा छन् । इन्डोस्कोपी, ब्रान्कोस्कोपी, इकोकार्डियोग्राफी र थाइराइडसको ल्याव परीक्षण पनि जुम्ला अस्पतालमै व्यवस्थापन गरिएको अस्पताल निर्देशक डा. राजीव साहले बताए ।

प्रतिष्ठानमा थप भौतिक संरचना निर्माण हुँदैछन् । शिक्षक तथा कर्मचारीको आवास कक्षाकोठाको अभाव रहेको प्रतिष्ठानले जनाएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रवक्ता डा. रमेश भट्टराईका अनुसार जुम्लामा एमबीबीएस पढाउने सपना पूरा भएको हो । ‘कर्णाली क्षेत्रको स्वास्थ्य क्रान्तिको एउटा थप खुडकिलो पार भएको छ,’ उनले भने, ‘आगामी दिनमा प्रतिष्ठानलाई देशकै एउटा उत्कृष्ट प्रतिष्ठान बनाउने, यहाँ उपचार र अध्ययनका लागि देशभरिबाट मान्छे आउने वातावरण सिर्जना गरेका छौं ।’

प्रतिष्ठान जनशक्तिको हिसाबले पनि अब्बल छ । प्रतिष्ठानमा ७० जना चिकित्सकसहित करिब २ सय ५० जना स्वास्थ्यकर्मी कार्यरत छन् । अस्पतालको पूर्ण क्षमताअनुसार बिरामी भर्ना हुँदा पनि करिब ५० जना चिकित्सक, स्वास्थ्यकर्मीलाई अन्य जिल्लामा परिचालन गर्न सकिने डा. भट्टराईले बताए  ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ