२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशदुर्गम भेरीखोलामा विशेषज्ञ सेवा, तीन जनाको शल्यक्रिया

दुर्गम भेरीखोलामा विशेषज्ञ सेवा, तीन जनाको शल्यक्रिया


जुम्ला—जुम्लाको दुर्गम भेगमा पर्ने तातोपानी गाउँपालिका–७ र ८ भेरीखोलामा धेरै गाउँ वस्ती छन् । जुम्लाको सदरमुकाम खलंगादेखि निकै टाढा पर्ने भेरीखोलामा धेरैजसो पशु चौपाया पालन गर्दछन् । कच्ची बाटो खनिएपनि नियमित रुपमा सवारी साधन चल्दैनन् । बिजुली नहुँदा रात अध्यारोमै बित्छ ।

भेरीखोलामा सामान्य उपचारका लागि स्वास्थ्य चौकी भएपनि विशेषज्ञ चिकित्सक सेवा पाउँदैनन् । यही समस्यालाई मध्यनजर गर्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको सहकार्यमा तातोपानी गाउँपालिकाले चैत १० र ११ गते दुई दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका हो ।

निःशुल्क स्वास्थ्य शिविरमार्फत भेरीखोलाका ४०५ जना स्थानीय लाभान्वित भएका छन् । आर्थिक अभावले स्वास्थ्य सेवा र उपचारबाट बन्चित विपन्न नागरिकको राहतका लागि ‘जनतासँग अध्यक्ष कार्यक्रम’अन्तर्गत स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।

दुई दिने स्वास्थ्य शिविरको पहिलो दिन शुक्रबार २५० जना र दोस्रो दिन शनिबार १५५ जना गरी ४ सय ५ जनाले विभिन्न समस्याको जाँचसँगै स्वास्थ्य सेवा लिएका हुन् । जसमा महिला २५१ जना र पुरुष १५४ जनाले परीक्षण गरिएको गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईले बताए । १२ जना गर्भवती महिलाले अल्ट्रासाउण्ड भिडियो एक्सरे सेवा लिएका छन् ।

तातोपानी गाउँपालिका–७ की ८० वर्षीया रामकली रावतले गाउँमै उपचार पाएकोमा खुसी व्यक्त गरिन् । ‘शरीर दुख्ने, ओठमुख सुक्ने, ज्वरो आउने, पेट दुख्ने समस्याबाट लामो समयदेखि पीडामा परेकी थिए,’ उनले भनिन् ‘खलंगाको ठूलो अस्पताल गएर उपचार गर्ने खर्च थिएन् । तर, गाउँमै डाक्टर आउँदा खुशी लाग्यो । हामी बुढाबुढी टाढा अस्पताल पुगेर उपचार गर्न सकिएको थिएन । घरमै आएर उपचार पाउन सहज भयो ।’

दुर्गम भेरीखोला क्षेत्रका नागरिकका लागि आयोजित स्वास्थ्य शिविरका लागि जनतासँग अध्यक्ष कार्यक्रमको ५ लाख बजेट खर्च भएको छ । भेरीखोला क्षेत्रमा अहिलेसम्मकै ठूलो र सबै रोगको परीक्षण गर्ने शिविरको आयोजना गरेपछि नागरिकको उत्साहजनक सहभागिता रहेको थियो ।

शिविरमा अधिकांश महिलाको पाठेघरको समस्या, सेतो पानी बग्ने लगायतका स्त्रीरोग देखिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका हाडजोर्नी विशषज्ञ डा. पुजन रोकायाले बताए । उनका अनुसार शिविरमै तीन जनाको शल्यक्रियासमेत गरिएको छ । लामो समयदेखि हड्डीको समस्या झेलिरहेका तथा खुट्टामा काँडा बिझेर इन्फेक्सन भएका कारण जटिल स्वास्थ्य समस्या रहेका तीन जना बिरामीको शल्यक्रिया गरिएको हो ।

तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईले दुर्गम भेरीखोला क्षेत्रका नागरिकको माग र समस्यालाई मध्यनजर गरी निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको बताए । ‘शिविरको पहिलो दिनमै नागरिकको उत्साहजनक सहभागिताले स्वास्थ्य शिविरको औचित्य पृष्टि भयो,’ उनले भने । उपचारबाट वन्चित विपन्न नागरिकले शिविरबाट राहत पाएको अध्यक्ष चौलागाईको विश्वास छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ