२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकालीकोटका गाउँ–गाउँमा औषधी पसल, बिरामीलाई खुवाउँछन् कडा खालका औषधी

कालीकोटका गाउँ–गाउँमा औषधी पसल, बिरामीलाई खुवाउँछन् कडा खालका औषधी


वीरेन्द्रनगर—कालीकोट जिल्लाका गाउँ–गाउँमा निजी औषधी पसल छ्याप छ्याप्ती छन् । नियम विपरित खोलिएका यी औषधी पसलहरुले अवैध रुपमा कडा खालका औषधी बिक्री गर्ने गरेको पाइएको छ ।

औषधी पसल राख्नका लागि फार्मेसी अध्ययन गरी औषधी व्यवस्था विभागबाट स्वीकृती लिनुपर्ने प्रावधान भएपनि जिल्लाका अधिकांश फार्मेसी पसल नियम विपरीत सञ्चालन भइरहेका छन् ।

सरकारी स्वास्थ्य संस्थाको औषधी र निजी मेडिकलको औषधीको गुणस्तरमा खासै फरक नपर्ने तर निजी मेडिकलले सुरुमै कडा खालका औषधि चलाउँदा निजी मेडिकलमा गएर उपचार गर्ने प्रवृत्ति बढेको जिल्ला स्वास्थ्य सेवा कार्यालय कालीकोटका जनस्वास्थ्य अधिकृत कटक महतले बताए ।

‘कालीकोटमा अहिले कति वटा मेडिकल सञ्चालन छन् एकिन भने छैन,’ उनले भने, ‘हामीले औषधी पसल र मेडिकलको अनुगमन गर्न पाउँदैनौ । औषधी व्यवस्था विभागले हेर्छ । यसको कार्यालय नेपालगञ्जमा मात्र रहेको छ ।’

बिरामीको अवस्था हेरेर सकेसम्म सामान्य औषधी प्रयोग गर्ने गरेको तर निजीले मानिसको स्वास्थ्यको ख्यालै नगरी एकै पटक कडा खालका औषधी बिरामीमा प्रयोग गर्ने गरेको जिल्ला अस्पतालका कालीकोटका स्वास्थ्य सेवा व्यवस्थापक डा. संकेत विश्वकर्माले बताए ।

‘चिकित्सकको प्रेस्क्रीप्सन बिना कडा खालका एन्टिबायोटिक औषधी बिक्री गर्नै मिल्दैन्,’ उनले भने, ‘गाउँमा खुलेका औषधी पसलले जथाभावी तरिकाले औषधी दिने गरेका छन् ।’

धेरैजसो मेडिकलका सञ्चालक अहेब रहेका छन् ।

कालीकोट जिल्लामा एउटा जिल्ला अस्पताल, एक प्रदेश अस्पताल, ६ आधारभूत अस्पताल, २७ स्वास्थ्य चौकी, ५० आधारभूत स्वास्थ्य केन्द्र र १५ सामुदायिक स्वास्थ्य एकाई रहेका छन् ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ