२०८१ वैशाख ३१, सोमबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशबालविवाहले प्रजनन स्वास्थ्यमा असर

बालविवाहले प्रजनन स्वास्थ्यमा असर


जुम्ला—दुई वर्षअघि चन्दननाथ नगरपालिका – ८ की १६ वर्षीया किशोरीले बच्चा जन्माएपछि शिशुको मृत्यु भयो । यही नगरपालिका ८ र ९ नम्बर वडाका गर्भवती तथा सुत्केरी आमा सहजताका लागि तलिउम स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर सञ्चालन गरिएको छ ।

सोही स्वास्थ्य चौकीमा ती किशोरी गर्भ चेकजाँच गर्न आउने गर्ने गरेका इन्चार्ज नरेन्द्र धरालाले बताए । ‘प्रजनन अंग परिपक्व नभएरै कलिलो उमेर गर्भवती भएकी ती किशोरीको तौल उचाइ पनि पुगेको थिएन । उनलाई वर्थिङ सेन्टरमा सुत्केरी गराउन नसकिने अवस्था भएपछि सुविधा सम्पन्न अस्पताल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा रेफर गरौं,’ उनले भने, ‘त्यतिबेला आमा र बच्चा दुवै जोखिम अवस्था थिए । पछि सुत्केरी भएपछि आमा बाच्न सफल भइन् । बच्चाको भने मृत्यु भयो ।’

आमा र बच्चाले मृत्युवरण गर्नुको मुख्य कारण प्रजनन अंग परिपक्व नभएर कलिलै उमेर विवाह गरेर सुत्केरी हुने रहेको तलिउम स्वास्थ्य चौकीका इन्चार्ज धरालाले बताए । उनले भने कलिलै उमेरमा विवाह गरेर गर्भवती हुने, पोषणमा ध्यान नदिने, धेरै गह्रौ काम गर्ने भएकोले यहाँका धेरैजसो महिलामा पाठेघरको संक्रमण पनि रहेको छ ।

कलिलै उमेरमा विवाह गर्नु हुदैन भनेर सचेतीकरण गर्दागर्दै अहिले पनि १६ वर्षकी किशोरी स्वास्थ्य चौकीमा गर्भ चेकजाँच गर्न आउने संख्या नघेटेको उनले बताए । अहिले पनि २० वर्षमुनिका ५० प्रतिशत किशोरी गर्भ चेकजाँच गर्न आउने गरेका छन् ।

वर्थिङ सेन्टरमा आर्थिक वर्ष ०७६/०७७ मा २६ जना मध्ये ९ जना २० वर्षमुनिका किशोरी सुत्केरी भएका छन् । त्यस्तै, आर्थिक वर्ष ०७७/०७८ मा ४३ जना मध्ये ९ जना २० वर्षमुनिका, आर्थिक वर्ष ०७८/०७९ मा ३७ जना मध्ये १४ जना २० वर्षमुनिका, आर्थिक वर्ष ०७९/०८० मा ३६ जना मध्ये १५ जना २० वर्षमुनिका र आर्थिक वर्ष ०८०/०८१ को मंसिर महिनासम्म २१ जना मध्ये ३ जना २० वर्षमुनिका किशोरी सुत्केरी भएका छ ।

राष्ट्रिय जनगणना, २०७८ अनुसार नगरपालिकाका ८ र ९ वडाको जम्मा ३ हजार ७ सय ६० जनाको जनसंख्या रहेको छ । तलिम स्वास्थ्य चौकीको बर्थिङ सेन्टरमा ८ नम्बर वडाकै बासिन्दाले सेवा लिने गरेको छन् । यो वडाको जनसंख्या २ हजार पाँच सय मात्रै रहेको छ । वर्थिङ सेन्टरमा सुत्केरी हुन आउने महिलाको पाँच वर्षको तथ्यांकअनुसार १ सय ६३ मध्ये ५० जना २० वर्षमुनिका किशोरीले कलिलै उमेरमा विवाह गरेर बच्चा जन्माएको देखिन्छ । यो तथ्यांकले समाजमा बालविवाह हुने गरेको देखिएको इन्चार्ज धरालाको भनाइ छ ।

बालविवाहबाट जन्मेका बच्चालाई सरकारी सेवासुविधा प्रदान गर्न कानुनी प्रक्रियामा नमिल्ने चन्दननाथ नगरपालिका–९ का वडा सचिव नन्दप्रसाद देवकोटाले बताए । ‘बालविवाहको असर जन्मिने बच्चाले भोग्ने गरेका छन् । सरकारले अहिले बालपोषण भत्ता र छोरी सुरक्षा खाता कार्यक्रम सञ्चालन गरेको छ,’ उनले भने, ‘यो सेवासुविधा लिनका लागि बाबुआमा नागरिकता विवाह दर्ता अनिवार्य भएको हुनु पर्दछ । तर, बालविवाह गरेका किशोर किशोरीको हुँदैन ।’ यसमा कर्मचारीले जनप्रतिनिधिदेखि नेताहरुको भनाइ खानुपर्ने अवस्था रहेको उनले बताए । अब जोसुकै व्यक्तिले विवाह गर्नुपूर्व वडाबाट सिफारिस लिनुपर्ने व्यवस्था गर्न आवश्यक छ । यो सिफारिस लिनुपर्ने व्यवस्था जनप्रतिनिधिले ऐनकानुन नै बनाएर कार्यपालिकाबाट पारित गर्न आवश्यक छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ