२०८१ वैशाख १७, सोमबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशतिला गाउँपालिका—६ मा विवाह गर्न वडाको सिफारिस अनिवार्य

तिला गाउँपालिका—६ मा विवाह गर्न वडाको सिफारिस अनिवार्य


जुम्ला—तिला गाउँपालिकाकाको ६ नम्बर वडाले विवाह गर्दा वडाको सिफारिस अनिवार्य गरेको छ । कम उमेरमै विवाह हुँदा प्रजनन स्वास्थ्यमा समस्या देखिने, आमा र बच्चाको ज्यान जोखिममा पर्न थालेपछि वडाले विवाह गर्न वडाको सिफारिस अनिवार्य गरेको हो ।

तिला गाउँपालिका–६ का वडाध्यक्ष जंग रोकायाले विवाह गर्दा वडाको सिफारिस अनिवार्य लागु नै गरेका छन् । ‘२६ वैशाख २०८० देखि विवाह गर्दा नागरिकले अनिवार्य वडाबाट सिफारिस लिनुपर्ने नियम बनाएको छौं । सोही बमोजिम कार्यन्वयन गर्दै आएका छौं । कानुनी रुपमा विवाह गर्न २० वर्ष उमेर पुगेको हुनु पर्ने व्यवस्था छ । सोही बमोजिम सिफारिस दिने गरिएको छ,’ वडाध्यक्ष रोकायले भने ।

तिला गाउँपालिका–६ मा पर्ने घोडे गाउँमा ६८, रिपी गाउँमा ३५ र सुडी गाउँमा ११० गरी जम्मा २१३ घरधुरी रहेका छन् । बैशाखदेखि यता पाँच जना उमेर पुगेका विवाह गर्ने जोडीलाई सिफारिस लिएका छन् ।

विवाहका लागि सिफारिस लिन आउने व्यक्ति तथा सेवाग्राहीले जन्म दर्ता अनिवार्य वडामा निवेदनसहित पेस गर्नुपर्ने हुन्छ । सोही जन्म दर्ताको आधारमा विवाह गर्ने उमेर पुगे नपुगेको हेरेर सिफारिस पत्रमा केटाकेटी दुवै जनाको जन्म मितिसहित तीन पुस्ते खुलाएर दिने गरेको वडाध्यक्ष रोकायाले बताए ।

‘गएको बैशाखमा बालविवाह मुक्त वडा घोषणा पनि ग¥यौं । त्यसयता यो विवाह सिफारिसको नियम लागु गरेका छौं,’ उनले भने, ‘अझै पनि चुनौती धेरै छ । वडामा लुकिछिपी बालविवाह गर्न थालेको तीन वटा रोक्यौ ।’ यो वडाको सुडीगाउँमा दुई वटा र घोडेगाउँमा एक वटा बालविवाह रोक्ने काम भएको उनले जानकारी दिए । उनीहरुको अभिभावकसहित राखेर उमेर पुगेपछि विवाह गर्ने गरी सम्झाई बुझाई गरेर बालविवाह रोकिएको वडाध्यक्ष रोकायाले बताए ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. राजीव शाह प्रजनन स्वास्थ्य राम्रो हुनका लागि कलिलै उमेरमा विवाह गर्न नहुने बताउँछन् । ‘प्रजनन अंग परिपक्व नहुँदै बच्चा जन्माउनु पनि हुँदैन् । यसको मुख्य जड बालविवाह हो,’ डा. शाह भन्छन्, ‘बालविवाह निरुत्साहित गर्नका लागि सबै लागि पर्न आवश्यक छ ।’

बालविवाहले प्रजनन स्वास्थ्यलाई मात्रै नभएर बालबालिकाको शिक्षामा पनि ठूलो असर पारेको छ । बालविवाहले उज्जल भविष्यलाई अन्धकार धकेलेको शिक्षा समन्वय इकाई जुम्लाका प्रमुख मक्कर भण्डारी बताउँछन् ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ