२०८१ वैशाख १७, सोमबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशमुगु अस्पतालमा एक्स–रे मेसिन बिग्रेपछि जुम्ला आउनुपर्ने बाध्यतामा बिरामी

मुगु अस्पतालमा एक्स–रे मेसिन बिग्रेपछि जुम्ला आउनुपर्ने बाध्यतामा बिरामी


जुम्ला— विकट हिमाली जिल्ला मुगु अस्पतालमा एक्स–रे मेसिन बिग्रिएर मर्मतको काम नहुँदा बिरामीलाई समस्या भएको छ । जिल्लाकै एकमात्र अस्पतालमा रहेको एक्स–रे मेसिनको इमेज क्यासेट बिग्रिएपछि बिरामीलाई एक्स–रे गर्न कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाउने गरिएको जिल्ला अस्पताल मुगुले जनाएको छ ।

उक्त एक्स–रे मेसिनको इमेज क्यासेट विद्युतीय भोल्टेज अनियमित भई बिग्रेको थियो । करिब २ लाख ५० हजार रुपैयाँ मर्मत खर्च लाग्ने र अस्पतालले रकम व्यवस्थापन गर्न सक्ने भएपनि विद्युतीय भोल्टेजका कारण पुनः एक्स–रे मेसिन बिग्रने डरले मर्मत कार्य हुन नसक्दा सामान्य चोट पटकलगायत अन्य बिरामीलाई एक्स–रे गर्न जुम्ला पुग्नुपर्ने बाध्यता रहेको छ ।

जिल्लाका दूरदराजबाट उपचारका लागि जिल्ला अस्पताल आउने बिरामी एक्स–रे मेसिन अभावले अन्योलमा पर्ने गरेका छन् । अस्पतालमा एक महिनादेखि बिग्रिएको एक्स–रे मेसिन मर्मत कार्यका लागि पहल भइरहेको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक डा. कमल ढुंगानाले जानकारी दिए । उनका अनुसार मुगुको विद्युतको भोल्टेज स्थिर नहुँदा अस्पतालका धेरै मेसिन उपकरण बिग्रिएर थन्क्याइएको छ । ‘एक्स–रे मेसिन पनि विद्युत भोल्टेज स्थिर नभएर नै बिग्रिएको हो,’ उनले भने, ‘लाखौं रूपैयाँ खर्च गरेर एक्स–रे मेसिन बनायो फेरि विद्युतका कारणले बिग्रिने गरेको छ ।’

केही दिनपछि अस्पताल हाताभित्र विद्युतीय ट्रान्सफर्मर जडान गरिने र मेसिन चलाउन सक्ने विद्युतको भोल्टेज पुगेपछि एक्स–रे मेसिन मर्मत गरी सञ्चालन गरिने डा. ढुंगानाले बताए । मेसिन चलाउन २ सय २० भोल्ट विद्युत्को आवश्यकता पर्ने गरेको र हालको विद्युतको भोल्टेज अपुग छ । विद्युतको भोल्टेज बढाउन ट्रान्सफर्मर खरिदको प्रक्रिया पूरा भएपछि एक्स–रे सेवा सञ्चालन हुने स्वास्थ्य व्यवस्थापक डा. ढुंगानाले बताए ।

जिल्ला अस्पतालबाहेक एक्स–रेको कुनै विकल्प मुगुमा नभएपछि यहाँका बिरामीलाई जुम्ला जान आउन सवारी साधनको भाडा र होटल खर्च गरी न्यूनतम सात हजारभन्दा बढी रकम खर्च हुने गरेको छ । वि.सं. २०६३ मा जिल्लाका साविकका गम, सोरू, खतेड र करान भेगका जनतालाई स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले १५ शैय्याको अस्पताल सञ्चालनमा आएको थियो ।

जिल्ला अस्पताल बिरामीका लागि अझै व्यवस्थित र भरपर्दो हुन सकेको छैन । कोरियन सरकारले अस्पतालका आवश्यक उपकरणसहित भौतिक पूर्वाधार निर्माण गरिदिएपनि आन्तरिक रुपमा जनशक्ति अभाव, फार्मेसी सेवा सञ्चालन र रक्त सञ्चार केन्द्र नहुँदा बिरामी मर्कामा पर्दै आएका छन् ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ