२०८१ वैशाख २९, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकर्णालीका स्वास्थ्य संस्थाहरुमा ७१ प्रतिशत दरबन्दी खाली, कहाँ कति ?

कर्णालीका स्वास्थ्य संस्थाहरुमा ७१ प्रतिशत दरबन्दी खाली, कहाँ कति ?


वीरेन्द्रनगर—प्रदेश सरकार मातहतमा रहेका कर्णालीका स्वास्थ्य संस्थाहरुमा ७१ प्रतिशत दरबन्दी रिक्त रहेको पाइएको छ । प्रदेश सरकार सामाजिक विकास मन्त्रालय मातहतमा रहेका विभिन्न १६ वटा कार्यालयमा कर्मचारीको अभाव देखिएको हो ।

स्वास्थ्य निर्देशनालय कर्णाली प्रदेशले दिएको जानकारीअनुसार कुल दरबन्दी ८ सय ९७ मध्ये ६ सय ३६ जना अर्थात दरबन्दीको ७१ प्रतिशत कर्मचारीको दरबन्दी रिक्त छ । हाल दुई सय ६१ जना अर्थात २९ प्रतिशत मात्रै दरबन्दीका कर्मचारी कार्यरत रहेका छन् ।

तथ्यांकअनुसार कर्णाली प्रदेशको प्रदेश अस्पताल, जिल्ला अस्पताल, स्वास्थ्य सेवा कार्यालयमा कर्मचारी दरबन्दीअनुसारका कर्मचारीको अभाव रहेको छ । कर्णाली प्रदेश अस्पतालमा २ सय ४५ जनाको दरबन्दी रिक्त रहेको छ । कुल दरबन्दी ३ सय २५ भएकोमा हाल ८० जना मात्र दरबन्दीका कर्मचारी कार्यरत रहेका छन् । स्वास्थ्य सेवा निर्देशनालयका नायब सुब्बा गणेश शर्माले दिएको जानकारीअनुसार पूर्वी सुर्खेतको मेहेलकुना अस्पतालमा ५३ जनाको दरबन्दी भएकोमा ३० जनाको दरबन्दी खाली छ भने हाल २३ जना कर्मचारी मात्रै कार्यरत रहेका छन् । स्वास्थ्य सेवा निर्देशनालयमा ३७ जनाको दरबन्दी रहेकामा १३ जना कर्मचारीको दरबन्दी खाली छ ।

यस्तै, स्वास्थ्य सेवा कार्यालयहरु डोल्पामा ४७ जनाको दरबन्दी रहेकोमा ३९ जनाको दरबन्दी रिक्त छ । मुगुमा ४८ जनाको दरबन्दी रहेकोमा ३६ जनाको दरबन्दी रिक्त, कालिकोटमा ४७ दरबन्दीमा ३१ जनाको दरबन्दी रिक्त छ, हुम्लामा ४८ जनाको दरबन्दी रहेकोमा ३७ जनाको दरबन्दी रिक्त छ, जाजरकोटमा ६५ जनाको दरबन्दी भएकोमा ५५ जनाको दरबन्दी रिक्त रहेका छ ।

दैलेखमा ६५ दरबन्दीमा ४१ जनाको दरबन्दी रिक्त, सल्यानमा ६५ दरबन्दीमा ५५ जना रिक्त, रुकुम पश्चिममा ४८ जनाको दरबन्दी भएकोमा ३३ जनाको दरबन्दी रिक्त रहेको रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । जनस्वास्थ्य कार्यालयहरु सुर्खेतमा १५ जनाको दरबन्दी रहेकोमा ३ जनाको दरबन्दी रिक्त छ । जुम्लामा १६ जनाको दरबन्दी भएकोमा ४ जनाको दरबन्दी रिक्त रहेको तथ्याङ्क उल्लेख गरिएको छ । यस्तै सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य महाशाखामा ६ जनाको दरबन्दी भएकोमा २ जनाको दरबन्दी रिक्त रहेका छ ।

प्रदेश आयुर्वेदिन औषधालयमा आठ जनाको दरबन्दी रहेको सात जना कार्यरत रहेका छन् भने एक जना अध्ययन बिदामा रहेका छन् । मानव संसाधन विकास केन्द्रमा चार जनाको दरबन्दी भएकोमा दशौं तहका कर्मचारीको दरबन्दी रिक्त रहेको पाइएको हो । प्रदेश सरकार गठन भय यतादेखि नै कर्मचारीको चरम समस्या झेल्दै आएपनि हालसम्म पनि त्यो समस्या समाधान हुन सकेको छैन । हाल प्रदेशका स्वास्थ्य क्षेत्रमा मात्रै नभएर अन्य क्षेत्रमा पनि कर्मचारीको चरम अभाव छ । यस अघि २०७६ भदौंमा कर्णाली प्रदेश सरकारले प्रदेश मातहतअन्तर्गत पर्ने कार्यालयहरुमा २ हजार ५ सय ५५ कर्मचारीको दरबन्दी स्वीकृत गर्ने गरी ओएनएम स्वीकृत गरेको थियो । तर, हालसम्म पनि अधिकांश क्षेत्रमा कर्मचारीको व्यवस्थापन हुन सकेको छैन ।

प्रदेश आयुर्वेद औषधालयका प्रमुख डा. शंकर रिजालले कार्यालयलले ४३ जनाको दरबन्दी मागे पनि पहिलाभन्दा दुई जना मात्रै थप गरेर आठ जनाको मात्रै दरबन्दी स्वीकृत गरेको बताए । औषधालयलाई अस्पताल बनाउनका लागि हालको दरबन्दीले काम गर्न एकदमै समस्या हुने भएकाले दरबन्दी बढाउनुपर्ने उनको माग छ । यता सामाजिक विकास मन्त्रालयका सचिव मानबहादुर विकेले समायोजन पनि कर्मचारीले कर्णाली नरोज्दा कर्मचारीको अभाव भएको बताए । ‘समायोजनमा परेका कर्मचारी सबै आएको भए यो समस्या हुँदैन थियो, तर आएनन्,’ उनले भने, ‘सबै कर्मचारी नआउदा ठूलो मात्रामा कर्मचारीको अभाव देखिएको हो ।’

प्रदेश सरकारले अब करारमा कर्मचारी भर्ना गरेर समस्याको समाधान गर्ने उनको भनाइ छ । ‘मन्त्रालयले करारमा कर्मचारी भर्नाको काम सुरु गरेको छ,’ उनले भने, ‘आउने १५ गते ४२ वटा विशेषज्ञ डाक्टर अधिकृत आठौं तह र नवौं तहका कर्मचारी भर्नाको लागि अन्तर्वार्ता हुँदैछ । अन्य क्षेत्रहरु, छैटौं, सातौं तहको लागि पनि खुल्दैंछ ।’ करारमा कर्मचारी भर्ना गरिसकेपछि कर्मचारीको समस्या केही मात्रामा हल हुने उनको भनाइ छ ।


कर्णालीमा प्रदेशका स्वास्थ्य संस्थामा कुल दरबन्दी र रिक्त दरबन्दी

नाम कुल दरबन्दी  रिक्त दरबन्दी
कर्णाली प्रदेश अस्पताल  ३२५ जना २४५ जना
सुर्खेत मेहलकुना अस्पताल  ५३ जना  ३० जना
स्वास्थ्य सेवा निर्देशनालय  २७ जना १३ जना
डोल्पा  ४७ जना ३९ जना
मुगु ४८ जना ३६ जना
कालिकोट ४७ जना ३१ जना
हुम्ला ४८ जना ३७ जना
जाजरकोट ६५ जना ५५ जना
दैलेख ६५ जना ४१ जना
सल्यान ६५ जना ५५ जना
रुकुम पश्चिम ४८ जना ३३ जना
जुम्ला १६ जना  ४ जना
जनस्वास्थ्य कार्यलय  १५ जना  ३ जना
सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा ६ जना  २ जना

स्रोतः स्वास्थ्य निर्देशनालय, कर्णाली प्रदेश


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ