२०८१ वैशाख २६, बुधबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशलकडाउनमा दैनिक दुई जनाले गर्छन् सुरक्षित गर्भपतन

लकडाउनमा दैनिक दुई जनाले गर्छन् सुरक्षित गर्भपतन


बुटवल—नेपाल परिवार नियोजन संघ रुपन्देही शाखाबाट लकडाउनको समयमा दैनिक दुई जनाका दरले महिलाहरुले सुरक्षित गर्भपतन गराउने गरेको तथ्यांकले देखाएको छ ।

लकडाउनमा समेत सेवा दिइरहेको परिवार नियोजन संघ बुटवलमा लकडाउन अवधिमा १ सय ८० जना महिलाले संघबाट गर्भपतन सेवा लिएका नेपाल परिवार नियोजन शाखा बुटवलका प्रबन्धक मोहन बस्यालले बताए । ‘हाम्रो सेवा सुरक्षित छ । वैैधानिक रुपमा गर्भपतन हुन्छ । त्यस कारण पनि हामी कहाँ गर्भपतन गर्न आउनेको संख्या बढ्दो छ,’ उनले भने ।

संघको बुटवल कार्यालयबाट गर्भपतन गराउनेहरुको १८ महिनाको अवधिको डाटा हेर्ने हो भने एक महिनामा झण्डै ८५ जना महिलाले गर्भपतन गराएको देखिन्छ । अर्थात एक दिनमा औसतमा झन्डै ३ जना महिलाले गर्भपतन गर्ने गर्दछन् । डेढ वर्षको अवधिमा बुटवल कार्यालयबाट १५ सय ३४ जना महिलाले गर्भपतन गराए । सरकारबाट मान्यता प्राप्त परिवार नियोजन शाखाबाट इच्छुक महिलाहरुले निःशुल्क सुरक्षित गर्भपतन गराउने गरेका छन् ।

वैद्यानिक रुपमा गर्भपतन गर्नेहरुको तुलनामा अवैधानिक बाटो रोज्नेहरु धेरै रहेको अनुमान भइरहँदा गर्भपतनको अवस्था डरलाग्दो देखिएको स्वास्थ्य विज्ञहरुको बुझाइ छ । ‘सामाजिक अभियान नै संचालन गरेर जनचेतना फैलाउन आवश्यक भैसकेको छ,’ स्टाफ नर्स बविता शर्मा भन्छिन्, ‘गर्भपतनले महिलाको स्वास्थ्यमा गम्भीर असर गरिरहेको हुन्छ । त्यसतर्फ कसैको पनि ध्यान गएको देखिदैन्् ।’

बुटवलको परिवार नियोजन शाखाबाट बढी मात्रमा ३० देखि ४० वर्ष उमेर समूहका महिलाले गर्भपतन गराउने गरेका छन् । गत आर्थिक वर्ष २०७६/०७७ को १२ महिनामा १ हजार ३७ जना र सन् २०२० को ६ महिनाको अवधिमा ४ सय ९७ जना महिलाले सुरक्षित गर्भपतन गराएका छन् ।

२०७६/०७७ को १२ महिनामा ७ सय ६२ जना महिलाले औषधिको प्रयोगबाट र २ सय ७५ जना महिलाले औजारको प्रयोगबाट गर्भपतन गराएका छन् । त्यस्तै सन् २०२० को ६ महिनाको अवधिमा औषधिको प्रयोगबाट ३ सय ९९ र औजारको प्रयोगबाट ९८ जान महिलाले सुरक्षित गर्भपतन गराएका छन् । तथ्यांकअनुसार ८० प्रतिशत महिलाले औषधिको प्रयोगबाट गर्भपतन गराउने गरेका छन् । सुरक्षित गर्भपतन गराउनेमा अविवाहित महिलाको संख्या भने न्यून देखिएको छ । आफ्नो ठेगानासहित गोपनियता भंग हुने डरले अविवाहित किशोरीहरु निजी मेडिकलहरुमा जान सक्ने हुनाले पनि डाटा कम हुन सक्ने परिवार नियोजन शाखा बुटवलका प्रबन्धक मोहन बस्यालको बुझाइ छ । सरकारले मान्यता नदिएका निजी क्षेत्रका मेडिकलबाट असुरक्षित गर्भपतन गराउने महिलाहरुको कुनै तथ्यांक छैन ।

असुरक्षित गर्भपतनले महिलाको ज्यानसमेत जानसक्ने खतरा हुने चिकित्सकहरु बताउँछन् । ‘असुरक्षित गर्भपतन गराउँदा महिलाको स्वास्थ्यमा उच्च जोखिम हुन्छ । सरकारी कानुनी मान्यताअनुसार आधिकारिक स्वास्थ्य संस्थाबाट सुरक्षित गर्भपतन गराउनु सुरक्षित हुन्छ,’ डा. दिपेश माली भन्छन्, ‘महिलाको पूर्ण गोपनियता समेत हुन्छ ।’

गर्भपतन गराउनुभन्दा परिवार नियोजनका साधनको प्रयोग गर्नु स्वास्थ्यका लागि उचित हुने डा. मालीको भनाइ छ । अहिले परिवार नियोजनका साधन अविवाहितका लागि पनि तोकिएका स्वास्थ्य संस्थाहरुमा निःशुल्क उपलव्ध हुन्छ ।

महिलाको इच्छाअनुसार १२ हप्तासम्मको गर्भपतनका लागि कानुनले छुट दिएको छ । त्यस्तै, बलात्कार, हाडनाता करणीका कारण गर्भवती महिलाको ज्यान नै खतरामा पर्ने प्रमाणित भएमा १२ हप्तादेखि १८ हप्तासम्मको गर्भपतन गरिने नेपालमा कानुनी प्रावधान छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ