२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसरकार भन्छ-प्लाज्माको पैसा नलिनु तर त्रिवि शिक्षण अस्पताल लिन्छ ८ हजार ४ सय रूपैयाँ

सरकार भन्छ-प्लाज्माको पैसा नलिनु तर त्रिवि शिक्षण अस्पताल लिन्छ ८ हजार ४ सय रूपैयाँ


काठमाडौं– त्रिवि शिक्षण अस्पताल महाराजगञ्जले कन्भासेलेन्ट प्लाज्माको नाममा बिरामीबाट पैसा असुल्ने गरेको पाइएको छ । कोरोनाबाट गम्भीर अवस्थामा पुगेका बिरामीलाई दिइने प्लाज्माको एकजना बिरामीबाट ८ हजार ४ सय रुपैयाँ लिने गरेको हो । तर कन्भासेलेन्ट प्लाज्मा हाल ट्रायलमा रहेको हुँदा त्यसको खर्च सकारले व्यहोर्ने भन्दै आएको छ ।

अस्पतालले भने प्लाज्मा छुट्याउने किटको बिरामीसँग पैसा लिने गरेको जनाएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्सँग पटक–पटक किट उपलब्ध गराइदिन अनुरोध गर्दा पनि उपलब्ध नभएका कारण बिरामीबाट पैसा लिन बाध्य भएको अस्पतालका कोभिड–१९ व्यवस्थापन संयोजक डा. सन्तकुमार दास बताउँछन् ।

‘प्लाज्मा छुट्याउने किट उपलब्ध गराइदिन एनएचआरसीलाई धेरैपटक अनुरोध गर्दा पनि सुनुवाइ नभएपछि बिरामीसँग पैसा लिइएको हो,’ उनले भने, ‘एफेरिस मेसिनबाट प्लाज्मा छुट्याउनका लागि प्रयोग गरिने किटको करिव १६ हजार रुपैयाँ पर्छ, एउटा किटबाट ३ वटासम्म प्लाज्मा निकाल्न मिल्छ, त्यही किटका लागि ८ हजार ४ सय रुपैयाँ लिने गरिएको हो ।’

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा. प्रदिप ज्ञवाली किट ल्याउने प्रक्रिया केही ढिलो हुन गएको तर अस्पतालले प्लाज्माका नाममा बिरामीसँग पैसा लिन नपाउने बताउँछन् । ‘हामीले प्लाज्माको कुनैपनि नाममा बिरामीसँग पैसा लिनुस् भन्ने अनुमति दिएका छैनौं,’ उनले भने, ‘यदि कुनै अस्पतालले प्लाज्माका नाममा बिरामीबाट पैसा असुलेकोे छ भने बिरामीलाई फिर्ता गर्नुपर्छ बिरामीसँग प्लाज्माका नाममा पैसा लिन पाइदैनं ।’

प्लाज्माको अनुसन्धानको पाटो नेपाल स्वास्थ्य अनुसन्धान परिषद्लाई जिम्मा दिइएको हुनाले त्यसको खर्च परिषद्मार्फत सरकारले गर्ने मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारी बताउँछन् । ‘प्लाज्मा यतिबेला क्लिनिकल ट्रायल प्रक्रियामा रहेको हुनाले यसको जिम्मा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्लाई दिइएको छ,’ उनी भन्छन्, ‘त्यसैले प्लाज्माका नाममा बिरामीबाट पैसा लिन पाइदैन ।’

कोेरोना संक्रमणबाट निको भएका व्यक्तिहरुको रगतबाट प्लाज्मा छुट्याएर कोरोनाका कारण गम्भीर बिरामी भएकाहरुलाई दिइन्छ । उक्त प्लाज्मामा रोग प्रतिरोधात्मक क्षमता विकास भैसकेको हुँदा संक्रमितमा भएको भाइरसलाई न्युट्रलाइज अर्थात कन्ट्रोल गर्न सक्छ । यो उपचार पद्धति विश्वका विभिन्न देशहरुमा परीक्षणका रुपमा रहेको छ । नेपालमा पनि यो उपचार पद्धतिलाई धेरै बिरामीहरुलाई प्रयोग गरिएको छ ।

नेपालमा त्रिवि शिक्षण अस्पतालका कोरोना संक्रमितलाई पहिलोपटक प्लाज्मा दिइएको थियो । गम्भीर अवस्थामा पुगेका ती संक्रमितलाई प्लाज्मा दिइसकेपछि उनको स्वास्थ्यमा चामत्कारिक परिवर्तन आएको थियो । त्यसपछि अन्य कोरोना संक्रमितलाई पनि प्लाज्मा दिन थालिएको हो । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को तथ्यांकअनुसार नेपालमा हालसम्म ९६ जनालाई प्लाज्मा दिइएको छ । १ सय २० जनाले प्लाज्मा दान गरेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ