२०८१ साउन ७, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारधर्नापछि स्वास्थ्यकर्मीलाई तलब भत्ता उपलब्ध गराउन राजी भयो बेनी अस्पतालको लेखा

धर्नापछि स्वास्थ्यकर्मीलाई तलब भत्ता उपलब्ध गराउन राजी भयो बेनी अस्पतालको लेखा


पोखरा—म्याग्दीको बेनी अस्पतालमा बुधबार डेढ घन्टा इमर्जेन्सीबाहेक सबै सेवा अवरुद्ध भए । नियमित काम छोडेर आकस्मिक कक्ष अगाडि स्वास्थ्यकर्मी तथा कर्मचारी धर्ना बसे । स्वास्थ्यकर्मीहरु नै अस्पतालमा इमर्जेन्सीबाहेकका सबै सेवा ठप्प पार्ने गरी धर्नामा उत्रिएपछि बेनी अस्पतालमा आएका बिरामीहरु थप समस्यामा परे । अस्पतालमा आएका बिरामीको उपचार गर्न बसेका स्वास्थ्यकर्मी भने आफ्नै मन बिरामी पारेर प्रशासनसँग त्यसको उपचार खोजिरहेका थिए ।

सेवा नै ठप्प पार्ने गरी गरिएको धर्ना अचानक भएको निर्णय भने होइन । तर, अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीले सेवा रोकेको अचानकजस्तो देखिएको छ । साउनदेखिको तलब सुविधा नपाएपछि सेवा ठप्प पारेर आन्दोलनमा उत्रिनुपरेको उनीहरुको भनाइ थियो । अस्पतालका सुपरिटेन्डेन्ट डा. जितेन्द्र कँडेलले अस्पतालमा स्वास्थ्यकर्मी तथा कर्मचारीले सेवा ठप्प पार्ने गरी आन्दोलित भएको बताए । ‘१ महिना अघिदेखि नै उहाँहरुले हामी आन्दोलन गर्छौं भन्नुभएको थियो । तर, मैले पख्नुहोस् । समाधान गर्छु भनेको थिए,’ उनले भने, ‘त्यो पहल लामो समयसम्म सफल नभएपछि उहाँहरुले धर्ना गर्नुभएको हो । लेखाको जिम्मेवारी पाएका कर्मचारीले त्यसअघिका मिटिङमा छिट्टै गर्छु भन्नुभएको पनि हो ।’

सुपरिटेन्डेन्ट डा. कँडेलका अनुसार वनका कर्मचारी नारायणप्रसाद सुवेदीलाई अस्पतालको लेखाको जिम्मेवारीसमेत हेर्ने गरी मन्त्रालयले तोकेको थियो । वैशाखबाट जिम्मेवारी पाएका सुवेदीले अघिल्ला महिनामा पनि सहज भुक्तानीमा सहयोग गरेनन् । अस्पताल फार्मेसीमा औषधी उपलब्ध गराउने पार्टीले समेत भुक्तानी पाउन सकेका छैनन् । टेन्डरमार्फत औषधी उपलब्ध गराएका औषधी आपूर्तिकर्ता १/२ पार्टीले भुक्तानी नपाएपछि प्रशासनमा उजुरी गर्ने चेतावनी समेत दिएका छन् । ‘१/२ पार्टीले उजुरी गर्छाैं पनि भनेका छन् । मैले उजुरी गरे गर । लेखाको नाममा गर, मेरा नाममा नगर, मैले भुक्तानीमा कुनै काम नगरेको अवस्था छैन भन्ने गरेको छु,’ डा. कँडेल भन्छन् ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवाल लेखाले राम्ररी काम नगरीदिँदा स्वास्थ्यकर्मी तथा कर्मचारी आन्दोलित भएको बताए । तलब भत्ता सुविधा पाउनुपर्ने आधारभूत माग सम्बोधनमा प्रशासनले चासो नदेखाएपछि आन्दोलनमा उत्रिनुपरेको स्वास्थ्यकर्मीको गुनासो छ । सुपरिटेन्डन्ट डा. कँडेलका अनुसार अस्पतालका स्थायी र करारका कसैले पनि साउनदेखिको तलब पाएका छैनन् । अस्पतालमा स्वास्थ्यकर्मी तथा कर्मचारी गरी १ सय २४ कार्यरत छन् । यसअघि पनि स्वास्थ्यकर्मी र कर्माचारीले तलब तथा भत्ता माग गरी दबाब र चेतावनी दिइरहेका थिए ।

स्वास्थ्यकर्मीले बिहीबार ११ बजेदेखि थालेको धर्ना डेढ घन्टापछि फिर्ता लिएका छन् । उनीहरुलाई लेखाको जिम्मेवारी पाएका सुवेदीले २२ असोजसम्म तलब भुक्तानीको व्यवस्था मिलाउने प्रतिबद्धता जनाएपछि उनीहरुले सेवा ठप्प पार्ने गरी थालिएको आन्दोलन फिर्ता लिएका हुन् । बुधबार मिटिङपछि प्रशासन र कोष तथा लेखा नियन्त्रण कार्यलयलाई पत्राचार गरिसकिएको छ भने बिहीबार आवश्यक प्रक्रिया पूरा गरी शुक्रबार तलब भुक्तानी गर्ने प्रतिबद्धतापछि अस्पतालका सेवा सुचारु भएका छन् ।

अस्पतालमा तलब भत्ता पाउने मात्रै समस्या होइन, भौतिक संरचना निर्माणमा पनि समस्या छ । निर्माण कम्पनीका ठकेदार काम गर्छु भन्ने तर नगर्ने गरेपछि भवन निर्माण अलपत्र छ । अस्पतालको आफ्नै ट्रान्सफर्मर नहुँदा र भोल्टेज अनियमित हुँदा विद्युतीय उपकरण जल्ने समस्या झन् जटिल बनेको अस्पतालले जनाएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ