२०८१ वैशाख १७, सोमबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशएक वर्षमा कास्कीमा १३ जना गर्भवतीको मृत्यु, पोखरा महानगरका मात्रै ७ जना

एक वर्षमा कास्कीमा १३ जना गर्भवतीको मृत्यु, पोखरा महानगरका मात्रै ७ जना


पोखरा—आर्थिक वर्ष २०७९/८० मा कास्कीमा १३ जना गर्भवतीको विभिन्न कारणले ज्यान गएको छ । सोही अवधिमा पोखरा महानगरपालिकाका मात्रै ७ जना गर्भवती महिलाको विभिन्न कारणले गर्भवती महिलाको मृत्यु हुने गरेको पोखरा महानगपालिका स्वास्थ्य महाशाखाका नर्सिङ निरीक्षक सविना श्रेष्ठले जानकारी दिइन् ।

उनका अनुुसार चालुु आर्थिक वर्ष २०८०/८१ को साउन यता २ जना गर्भवतीको मृत्यु भएको छ । नर्सिङ निरीक्षक श्रेष्ठकाअनुसार चालु आर्थिक वर्षमा भएको मृत्युको कारण प्रसुतिजन्य समस्याका कारण भएको होइन् ।

पोखरा–८ की गर्भवती रोशनी क्षेत्रीले आत्मदाह गरेकी हुन् भने पोखरा—२९ की गर्भवती सावित्री सुनारको कुलोमा माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।

पोखरा महानगरमा यस वर्ष ६ हजार महिला सुत्केरी हुने अनुमान महानगरले गरेको छ । गत आर्थिक वर्ष २०७९/८० मा पोखरासहित कास्की जिल्ला र अन्य जिल्लाका गरी १३ हजार महिला सुत्केरी भएको तथ्यांक रहेको महानगर नर्सिङ निरीक्षक श्रेष्ठले बताइन् ।

विभिन्न कारणले हुने मातृ मृत्युदर न्यूनीकरण गर्ने उद्देश्यले स्थानीय तहमा उपप्रमुखको संयोजकत्वमा मातृ तथा पेरिनेटल मृत्यु निगरानी र प्रतिकार्य समिति रहने प्रावधान छ । सोही प्रावधानअनुसार पोखराका उपमेयर मञ्जुदेवी गुरुङको संयोजकत्वमा गठित समितिले कार्ययोजना बनाउन थालेको छ ।

पोखरा महानगरपालिका उपप्रमुख गुरुङको अध्यक्षतामा मंगलबार बसेको समितिको बैठकमा समितिका सदस्यसचिव समेत रहेकी महानगर नर्सिङ निरीक्षक श्रेष्ठले मातृ मृत्युदर न्यूनीकरणका र २८ हप्ताको गर्भदेखि जन्मेको एक हप्तासम्मको नवजात शिशुको मृत्यु दर घटाउने र आमा तथा शिशुको मृत्यु हुन नदिनेबारे जनचेतनामूलक कार्यक्रम सञ्चालनका लागि बैठकले कार्ययोजना बनाउने निर्णय गरेको बताइन् ।

उनका अनुसार पहिलो प्राथमिकता गर्भवती आमाको सुरक्षामा ध्यान दिने गरी कार्यक्रम जनसमुदायमा पुु¥याउने गरी योजना बनाउने र त्यसको कार्यान्वयन स्वास्थ्य संस्थाहरुले गर्ने बताइन् । उनले मातृ मृत्युलाई कम गराउन स्वास्थ्यकर्मीलाई क्षमता अभिवृद्वि गर्ने र पूर्वाधार युक्त बनाउने कार्यमा समितिले पहल गर्छ ।

गर्भवती महिलाको मृत्यु हुने बित्तिकै त्यसका बारेमा अध्ययन गर्ने, चिकित्सकले के कारण मृत्यु भयो भन्ने बारेमा पत्ता लगाउने र समिति समक्ष प्रतिवेदन प्रस्तुत गरेपछि आगामी कार्ययोजना तयार बैठकले गर्ने नर्सिङ निरिक्षक श्रेष्ठले बताइन् । मातृ तथा पेरिनेटल मृत्यु निगरानी र प्रतिकार्य कार्यक्रमको संयोजकमा पोखरा महानरपालिका उपप्रमुख गुुरुङ संयोजक, सदस्यहरुमा पोखरा महानगरका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापा, स्वास्थ्य महाशाखा प्रमुख हेमप्रसाद आचार्य, सामाजिक महाशाखा प्रमुख निर्मला शर्मा, निजी अस्पतालहरुको प्रतिनिधिबाट चिकित्सक जुनु श्रेष्ठ, कजएसाइन्मेन्ट चिकित्सक डा. नवीन श्रेष्ठ सदस्य रहेका छन् भने सदस्यसचिमा पोखरा महानगरपालिका स्वास्थ्य महाशाखा नर्सिङ निरिक्षक सविना श्रेष्ठ छन् ।

बैठकमा गर्भवती महिलाहरुलाई जाँच गर्दा फरक—फरक कार्ड दिने गरिएको भन्दै त्यसलाई एउटै बनाउने बारेमा सुझाव समेत दिइएको छ । निजी स्वास्थ्य संस्थाको प्रतिनिधित्व गरेकी मणिपाल शिक्षण अस्पतालकी चिकित्सक जुनु श्रेष्ठले महिला गर्भवती हुन मानसिक र शारीरिक रुपमा तयार छ कि छैन भन्ने विषयमा ख्याल गर्नुपर्ने बताइन् । उनले महिलाको अवस्थाबारे नबुझी गर्भधारण गर्दा आमाको मृत्यु हुने गरेको बताइन् । ‘मृत्यु दर मानसिक स्वास्थ्य र विभिन्न रोगका कारण बढेको देखिन्छ,’ उनले भनिन्, ‘अझै पनि जनचेतनामूलक कार्यक्रमको खाँचो छ ।’

पोखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले पछिल्लो समय शिक्षित भनिएका गर्भवती महिलाहरुको मृत्यु हुने गरेकोमा चिन्ता व्यक्त गर्दै स्वास्थ्यका बारेमा सचेत बनाउनुपर्नेमा जोड दिइन् ।


क्याटेगोरी : गण्डकी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ