२०८१ वैशाख २६, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्यको एकीकृत स्वास्थ्य सूचना रिपोर्टिङ सुध्रियो

स्वास्थ्यको एकीकृत स्वास्थ्य सूचना रिपोर्टिङ सुध्रियो


काठमाडौ–देश संघीय संरचनामा गएपछि खस्किएको स्वास्थ्यसँग सम्बन्धित एकीकृत सूचना रिपोर्टिङ प्रणालीमा यस वर्षका पछिल्ला ५ महिनामा सुधार देखिन थालेको छ ।

संघीय संरचना कार्यन्वयन भएको तीन वर्षको अवधीमा गत मंसिर महिनाकोे रिपोर्टिङ सबैभन्दा राम्रो देखिएको छ । मंसिर महिनाको ६३ प्रतिशत स्वास्थ्य संस्थाले समयमानै एकीकृत स्वास्थ्य सूचना व्यवस्थापन शाखा (एचएमआइएस)मा रिपोर्टिङ गरेका छन् । गत वर्ष मंसिर महिनामा जम्मा २२ प्रतिशत स्वास्थ्य संस्थाले मात्र रिपोर्टिङ गरेका थिए ।

अघिल्लो वर्ष अधिकांश प्रदेश सरकार र स्वथानीय तहले स्वास्थ्यसँग सम्बन्धित सूचना एकीकृत रुपमा केन्द्रमा नपठाउँदा स्वास्थ्य सूचना प्रणाली नै कमजोर भएको थियो । सूचना प्रणाली नै कमजोर भएपछि गत २४ असारमा बसेको संघीय मन्त्रिपरिषद बैठकले प्रदेश सरकार र स्थानीय तहलाई स्वास्थ्यलगायत स्वास्थ्य संस्थासँग सम्बन्धित सम्पूर्ण सूचनाहरु एकीकृत रुपमा स्वास्थ्य संस्था हुँदै केन्द्रमा अनिवार्य रिपोर्टिङ गर्न निर्देशनात्मक निर्णय गरेको थियो ।

मन्त्रिपरिषदको सो निर्णयसँगै प्रदेश, स्थानीय तह र स्वास्थ्य संस्थाको रिपोर्टिङमा सुधार भएको पाइएको छ । यस वर्षको पछिल्ला ५ महिनाको रिपोर्टिङ अवस्था अघिल्लो वर्षको भन्दा धेरै राम्रो भएको एचएमआइएस शाखाका प्रमुख बद्रीप्रसाद ज्ञवालीले बताए । अघिल्लो वर्ष साउनदेखि मंसिर महिनासम्म जम्मा १९ प्रतिशत स्थानीय तह र स्वास्थ्य संस्थाले मात्र समयमा नै रिपोर्टिङ गरेका थिए । यस वर्ष यो ५ महिनाको अवधीमा ४८ प्रतिशतले समयमा नै रिपोर्टिङ गरेको उनले बताए । ‘समयमा नै रिपोर्टिङ गर्ने स्थानीय तह र स्वास्थ्य संस्थाको संख्यामा उल्लेख्य वृद्धि भएको छ,’ उनले भने, ‘अघिल्लो वर्ष २० प्रतिशतले पनि गरेका थिएनन्, अहिले ४८ प्रतिशतले गरे । यो प्रत्येक महिना बढ्दो क्रममा छ ।’

गत वर्ष साउनमा जम्मा १९ प्रतिशत स्थानीय तह र स्वास्थ्य संस्थाले समयमा रिपोर्टिङ गरेका थिए । यस वर्ष साउनमा ५० प्रतिशतले रिपोर्टिङ गरेका छन् । त्यसैगरी गत वर्ष भदौमा २०, असोजमा १५, कार्तिकमा १९ र मंसिरमा २२ प्रतिशत स्थानीय तह र स्वास्थ्य संस्थाले मात्र समयमै रिपोर्टिङ गरेका थिए । अघिल्लो वर्षको तुलनामा चालु आवमा समयमै रिपोर्टिङ गर्ने स्थानीय तह र स्वास्थ्य संस्थाको संख्यामा उल्लेख्य सुधार भएको पाइएको छ । यस वर्ष साउनमा ५० प्रतिशत, भदौमा ४२ प्रतिशत, असोजमा ३० प्रतिशत, कार्तिकमा ५२ प्रतिशत र मंसिरमा ६३ प्रतिशत स्थानीय तह र स्वास्थ्य संस्थाले समयमा नै स्वास्थ्यसँग सम्बन्धित सूचना केन्द्रिय सरकारलाई रिपोर्टिङ गरेका छन् ।

तुलनात्मक आधार अघिल्लो वर्ष भन्दा यस वर्ष स्थानीय तह र स्वास्थ्य संस्थाहरुले केन्द्रिय सरकारलाई रिपोर्टिङ गर्ने क्रम बढेको छ । अघिल्ला वर्षमा तथ्यांक भने कम्प्युटर अघिकृतहरुको समायोजनले सरुवा हुनु, देश संघीयतामा जाँदा स्वास्थ्य रिपोर्टिङ सिस्टमलाई नबुझ्नु र तालिम प्राप्त कर्मचारी नहुँदा समस्या भएको थियो ।

स्वास्थ्य मन्त्रालयअन्तर्गत रहेको एचएमआइएस प्रणालीमा अहिलेसम्म देशभरबाट ७ हजार २ सय २८ स्वास्थ्य संस्था आवद्ध रहेका छन् । जसमध्ये १ हजार ४ सयले आफै सिधै सो प्रणालीमा आफूले प्रदान गरेको सेवाको सूचना भर्ने गरेका छन् । बाँकी अन्य संस्थाले भने सम्बन्धित स्थानीय पालिकामार्फत भर्ने गरेका छन् ।

सुदूरपश्चिम प्रदेश सबैभन्दा राम्रो
प्रमुख ज्ञावलीका अनुसार पछिल्लो समय सुदूरपश्चिम प्रदेशको स्वास्थ्य सूचना समयमा नै रिपोर्टिङ गर्नेमा अगाडि छ । सो प्रदेशबाट साउनमा ५२, भदौ ५९, असोज ४४, कार्तिक ८० र मंसिरमा ८८ प्रतिशत स्थानीय तह र स्वास्थ्य संस्थाले रिपोर्टिङ गरेका छन् । जबकी अघिल्लो वर्ष सो प्रदेशबाट साउनमा १४, भदौमा २५, असोजमा १३, कार्तिकमा १६ र मंसिरमा २२ प्रतिशत स्वास्थ्य संस्थाले एचएमआइएसमा रिपोर्टिङ गरेका छन् ।

कर्णालीमा ११ गुणा बढ्यो
त्यसैगरी कणाली प्रदेशबाट यस वर्ष साउनमा ४७, भदौ ३९, असोज २९, कार्तिक ५५ र मंसिरमा ६० प्रतिशत स्वास्थ्य संस्थाले समयमानै रिपोर्टिङ गरेका छन् । जबकी अघिल्लो वर्ष साउन १४, भदौ, २५, असोज, ५ कार्तिक ५ र मंसिर महिनामा ८ प्रतिशत स्वास्थ्य संस्थाले मात्र समयमा रिपोर्टिङ गरेका थिए ।

प्रदेश नम्बर ५ का स्वास्थ्य संस्थाले यस वर्ष साउनमा ४२, भदौमा ४०, असोज ३४ कार्तिक ५७ र मंसिर ५७ प्रतिशतले समयमानै एचएमआइएसमा रिपोर्टिङ गरेका छन् । सो प्रदेशमा अघिल्लो वर्षको साउन २२, भदौ २३, असोज १८, कार्तिक २३ र मंसिर २९ प्रतिशत स्थानीय तह र स्वास्थ्य संस्थाले मात्र समयमा रिपोर्टिङ गरेका थिए ।

एचएमआइएसमा रिपोटिङ्ग गर्नेमा यस वर्ष गण्डकीबाट साउनमा ५९, भदौ ४८, असोज ३७, कार्तिक ६० र मंसिर ७० प्रतिशत पुगेको छ । अघिल्लो वर्ष गण्डकी प्रदेशबाट साउनमा २४, भदौमा १९, असोजमा २७, कार्तिकमा ३१, मंसिरमा २८ प्रतिशत स्थानीय तह र स्वास्थ्य संस्थाले समयमा रिपोर्टिङ गरेको तथ्यांक अघिकृत वीरबहादुर रावल बताउँछन् ।

तीन नम्बर प्रदेशका स्वास्थ्य संस्थामध्ये यस वर्षको साउनमा ५८, भदौमा ४४, असोजमा ३३, कार्तिकमा ४८ र मंसिरमा ५७ प्रतिशतले रिपोर्टिङ गरेका छन् । अघिल्लो वर्ष यही महिनामा क्रमस ३१, ३१, २३, २८ र ३५ प्रतिशतले समयमानै रिपोर्टिङ गरेका थिए ।

सुधारियो प्रदेश २
अघिल्लो वर्ष रिपोर्टिङ मा अति कमजोर देखिएको प्रदेश दुई यस वर्ष आश्चर्यजनक रुपमा सुधार आएको छ । अघिल्लो वर्ष यस प्रदेशबाट साउनमा ३, भदौमा २, असोजमा ३, कार्तिकमा ८ र मंसिरमा ११ स्थानीय तह र स्वास्थ्य संस्थाले मात्र रिपोर्टिङ गरेको एचएमआइएस तथ्यांकमा उल्लेख छ । तर यस वर्षको सोही अवधीको रिपोर्टिङ भने धेरै सुधार भएको देखाएको छ । यस वर्ष साउनमा ५१, भदौमा ४२, असोजमा २२ कार्तिकमा ३७ र मंसिरमा ६४ प्रतिशत स्वास्थ्य संस्थाले समयमानै रिपोर्टिङ गरेका छन् ।

कमजोर प्रदेश १
अन्य प्रदेशको तुलनामा प्रदेश १ का कम स्थानीय तह र स्वास्थ्य संस्थाले समयमा रिपोर्टिङ गरेको पाइएको छ । तथापी अघिल्लो वर्ष भन्दा उल्लेख्य वृद्धि भएको ज्ञावली बताउँछन् । सो प्रदेशबाट अघिल्लो वर्ष साउनमा २०, भदौमा २५, असोजमा ११ कार्तिकमा १४ र मंसिरमा १५ प्रतिशतले समयमा रिपोर्टिङ गरेका थिए । यस वर्ष क्रमस साउन ३८, भदौ ३०, असोज १९, कार्तिक ४३ र मंसिर ५४ प्रतिशत स्थानीय तह र स्वास्थ्य संस्थाले समयमा रिपोर्टिङ गरेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ