२०८१ वैशाख २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशलमजुङवासीको स्वास्थ्य पहुँच बढाउँदैं नमुना सामुदायिक अस्पताल

लमजुङवासीको स्वास्थ्य पहुँच बढाउँदैं नमुना सामुदायिक अस्पताल

२५ शैय्यामा स्तरोन्नती गरेर स्वास्थ्य बीमा सेवा दिने तयारी


पोखरा—लमजुङको सुन्दरबजारस्थित नमुना सामुदायिक अस्पताल (एचडिसिएस)ले जनताको पहुँचमा स्वास्थ्य सेवा पु¥याउने गरी सेवा विस्तार गरेको छ । १५ शैय्याको उक्त अस्पतालले २५ शैय्या सञ्चालनका लागि भौतिक संरचना तयार गरेको छ ।

सरकारी नियांमक निकायबाट अनुगमन भइरहेको र छिट्टै स्वीकृती पाउने अस्पताल प्रमुख हेमन्त श्रेष्ठ बताउँछन् । २५ शैय्या स्वीकृत पाए स्वास्थ्य बीमा सेवा पनि प्रदान गर्न सकिने उनको भनाइ छ ।

अस्पतालमा ४ जना विशेषज्ञ चिकित्सक र एक जना मेडिकल अफिसर रहेका छन् । ५ जना नर्सिङ स्टाफ, ८ जना प्यारामेडिक्सलगायत ४० जना जनशक्तिबाट अस्पतालले सेवा प्रदान गर्दै आएको छ । अस्पतालको ओपीडीमा दैनिक औसतमा ५० जना हाराहारीमा बिरामी आउने अस्पताल प्रमुख श्रेष्ठ बताउँछन् । हाडजोर्नीको जटिल शल्यक्रिया, सिटीस्क्यान, एमआरआई गर्नुपर्ने र मुटु सम्बन्धी समस्या भएका बिरामी रिफर गर्ने गरिएको छ । मुटु सम्बन्धी समस्या भएकालाई गंगालाल राष्ट्रिय मुटु केन्द्रमा नै रिफर गर्ने गरिएको उनले जानकारी दिए ।

अस्पतालले फिजियोथेरापी सेवा सुरु गरेको छ । अस्पतालमा लमजुङ, गोरखा, तनहुँ र कहिलेकाहीँ मनाङबाट पनि बिरामी आउने गर्छन् । अस्पतालले भोटेओढार सहरी स्वास्थ्य केन्द्रको सहयोगमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । एचडिसिएसले विपद् र स्वास्थ्य सरोकार रेडियो कार्यक्रमसमेत सञ्चालन गरेको छ ।

बिरामीका लागि एम्बुलेन्सले सेवा पनि अस्पतालले दिइरहेको छ । आँखा उपचार सेवा थप गर्ने, हाडजोर्नी, बालरोग सम्बन्धी सेवा थप गर्ने योजना रहेको श्रेष्ठले बताए ।

एलोप्याथिक उपचार पद्धतिअन्तर्गत हाडजोर्नीको समस्या समाधानमा फिजियोथेरापी प्रयोग हुन्छ । फिजियोथेरापी पद्धतिमा औषधिको प्रयोगभन्दा बढी शरीरका जोर्नीहरू, चिसो–तातोको प्रयोग, मांसपेशीका तन्तुलाई चलाएर उपचार गरिने श्रेष्ठ बताउँछन् ।

अस्पतालले सेवा विस्तारको क्रममा विशेषज्ञ सेवालाई जोड दिएको छ । अस्पतालमा स्त्रीरोग विशेषज्ञ, एमडिजिपी डाक्टर, मिर्गौला रोग विशेषज्ञ, इमर्जेन्सी मेडिसिन विशेषज्ञ चिकित्सक उपलब्ध छन् । एक जना मेडिकल अफिसर कार्यरत छन् । एपेन्डेक्टोमी, हर्निया र हाइड्रोसिलको शल्यक्रिया नमुना अस्पतालमै हुने गरेको छ ।

अस्पतालमा दन्त सेवा, प्रयोगशाला सेवा, भिडियो एक्सरे, एक्सरे, मनोविमर्श, फार्मेसीलगायत सेवा पनि उपलब्ध छन् । समुदाय स्वास्थ्य सचेतना, निःशुल्क स्वास्थ्य शिविर, आमा समूहमा सचेतना, विद्यालय स्वास्थ्य कार्यक्रम, इमर्जेन्सी मेडिसिन सेवासमेत अस्पतालले प्रदान गर्दै आएको छ ।

गरिब तथा असहायका लागि शल्यक्रिया र औषधिसमेत निःशुल्क प्रदान गरिने श्रेष्ठको भनाइ छ । ‘यहाँ जनचेतनाको अलि कमी नै रहेछ, पहिले फार्मेसीबाट सिधै औषधि खाने बानीले गर्दा इन्भेस्टिगेसन गर्न नचाहने समस्या छ । सिधंै हाइडोजको औषधी माग्ने कुरा च्यालेन्जिङ छ । बिरामी सिकिस्त नभई अस्पताल नै आउँदैनन्,’ श्रेष्ठ भन्छन्, ‘आइहाले पनि भर्ना भएर उपचार गर्न चाहँदैनन् । सकेसम्म हामी भर्ना गर्न त भन्दैनौं । मिसन अस्पताल भएकाले शुल्क महंगो पनि छैन । हामीले अन्य अस्पतालको तुलनमा सुलभ सेवा दिदैं आएका छौं ।’


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ