२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअन्यकिन र कसरी जोडिन्छन् ‘माया र मुटु’ ?

किन र कसरी जोडिन्छन् ‘माया र मुटु’ ?


प्रेम एक सुन्दर अनुभूति हो, जसले दुई मनलाई नजिक ल्याउँछ । प्रेमको त्यो सुन्दर अनुभूतिलाई अधिकांशले मुटुसँग जोडछन् । ‘मुटु र माया’लाई लिएर कयौं फिल्मी संवाद, कथा, कविता र गीतहरु बनेका छन् । आत्मीय झल्काउँन मानिसहरु ‘मुटुको टुक्रा’ भन्ने गरेको सुन्न र देख्न पाइन्छ । खासमा के हो त मुटु र मायाको सम्बन्ध ? अझ प्रेमिल जोडीहरुको प्रेम प्रस्तुती हेर्दा त लाग्छ मुटुको ढुकढुकीमै प्रेम छ ? किन ?

वरिष्ठ मुटु रोग विशेषज्ञ डा. अनिल भट्टराई प्रेम व्यक्तिको भावनात्मक पाटो भएको र यसको प्रत्यक्ष—अप्रत्यक्ष सम्बन्ध मुटुसँग हुने बताउँछन् । ‘प्रेम भनेको व्यक्तिको भावनात्मक सम्बन्धको पाटो हो । यसलाई मानसिक स्वास्थ्यसँग पनि जोड्न सकिन्छ । र, स्वस्थ मानसिक स्वास्थ्यको सम्बन्ध प्रत्यक्ष र अप्रत्यक्ष रुपमा मुटुको स्वास्थ्यसँग जोडिएको हुन्छ । यसैकारणले पनि मानिसहरुले मायालाई मुटुसँग जोडेको हुनुपर्छ ।’

व्यक्तिको जीवनकालमा आइपर्ने खुसी र दुःख मुटुले अनुभव गरेर प्रतिक्रिया दिन्छ । दुःख, पीडा, भय, त्रास लामो समयसम्म भैरख्दा मुटुलाई असर त गर्छ नै त्यससँगसँगै मस्तिष्कलाई पनि असर गर्ने डा. भट्टराईको भनाइ छ । नकारात्मक भावनाकै कारण कतिपयले आत्महत्याको बाटोसमेत रोज्ने गरेका उदाहरण प्रशस्तै पाइन्छन् । त्यसकारण प्रेम सम्बन्धलाई उचित व्यवस्थापन गर्नुपर्ने उनी बताउँछन् । यसको उचित व्यवस्थापनको अभावले स्वास्थ्यलाई हानी पु¥याउने उनको भनाइ छ ।

प्रेमका कुरा परापूर्वकालदेखि नै चल्दै आएको विषय हो । विज्ञानले पनि प्रेम र मुटुको सम्बन्धको बारेमा व्याख्या गरेको बताउँदै डा. भट्टराई थप्छन्, ‘संसारको कुनै पनि इतिहासलाई हेर्दा माया र मुटुको चिन्ह एकै हो भनिएको छ । मायाका कुरा परापूर्वकाल १४ औं शताब्दीदेखि चल्दै आएको हो । जहाँ, रोमियो, जुलियट, लैलामजुनकाजस्ता प्रेमका प्रसंगहरु जोडिएको हाम्रो इतिहास छ ।’ उनकाअनुसार माया सबै मुटुबाट हुन्छ भन्ने कुरा ऐतिहासिकसँगै वैज्ञानिक रुपमा पनि पुष्टि भएको कुरा हो । ‘शरीरमा कुनै कुरा सबैभन्दा पहिला महसुस मुटुले नै गर्दछ,’ उनले भने ।

यस्तै, एक प्रेमी मुटुले आफ्नो प्रेमी-प्रेमिकाको भावनालाई स्वतः बुझ्न वा महसुस पनि गर्न सक्छन् भन्ने गरेको पनि सुनिन्छ । सुन्दा अपत्यार र कुनै जादुई चमत्कार जस्तै लाग्ने यस कुरामा वैज्ञनिकता चै कति छ त? यद्यपि डा भट्टराई भने यो कुनै चमत्कार नभै शरीरले उत्पादन गर्ने रसायनको प्रतिक्रिया रहेको बताउँछन् । ‘लामो समयसँगै व्यतीत गरिसकेको वा आकर्षणकै कारण जोडिएको दुई व्यक्तिबीच भावनात्मक सम्बन्ध अन्य व्यक्तिको तुलनामा अगाध हुन्छ । र, ती व्यक्तिबीच हुने सेन्सेसनले पनि उनीहरुलाई सो कुराको प्रत्याभूति दिन्छ,’ उनले भने ।

माया भनेको एकअर्कालाई जोड्ने आयाम हो भन्नेमा कुनै दुई मत नरहेको उनको भनाइ छ । अर्थात् प्रेमी–प्रेमिकाबीच मात्रै नभ साथीभाई, बाबुआमा, सन्तानबीचको हुने सम्बन्धलाई पनि मायाले जोडेको हुन्छ भन्ने उनको विश्वास छ । र, यो शारीरिक संरचनाअनुसार शरीरले उत्पादन गर्ने रसायनको प्रतिक्रिया पनि हो ।

सिएनएनमा प्रकाशित एक लेखअनुसार माया मुटुसँग मात्र नभएर मस्तिष्कसँग पनि जोडिएको हुन्छ । किनभने, भावना भनेको मानसिक स्वास्थ्य पनि हो । भावानात्मक सम्बन्धले सिंगो शरीरमा प्रभाव पारेको हुन्छ । मायामा हुँदा शरीरमा ‘डोपामाइन’ रसायन उत्पन्न हुन्छ । शरीरमा उत्पन्न हुने रसायनले गर्दा मानिसहरु एकअर्काप्रति आकर्षित हुने, मन पराउने, उत्साह हुने गराउँछ । जब हामी खुसी र आनन्द महसुस गर्छौं तब ‘डोपामाइन’ रसायन उत्पन्न हुन्छ ।

यो दिमागमा बन्ने एक रसायन हो, जुन हाम्रो शरीरमा भावनात्मक हर्मोन रिलिज हुन्छ । दुःखी हुँदा, पीडामा हुँदा जुन खुसी र आनन्दको भावनालाई उत्पन्न गराउँछ । यी सबैभन्दा पनि उक्त रसायन ‘लत’ र ‘रोमान्स’को लागि महत्वपूर्ण मानिन्छ । एक न्यूरोनबाट अन्य न्युरोन हुँदै उक्त डोपामिन रसायन मेसोलिम्बिक मार्ग नामक पूरानो एभिन्यूमा पुगेर दिमागलाई खाना, लत, अंकमाल र यौनजस्ता शरीरलाई आनन्द प्रदान गर्ने गतिविधिप्रति सजग गराउँदछ ।

डोपामाइनको वृद्धि कुन तहसम्म हुन्छ भन्ने अड्कल लगाउन सकिदैन् । यस रसायनले उत्सुकता गराउने, सपना देख्न मन लाग्ने, तपाईंले चाहेको व्यक्तिप्रति उच्च आकर्षण पैदा गर्छ । कुलतमा फस्नेलाई ‘कोकिनको लत’ लागे जस्तै व्यक्तिलाई ‘मायाको लत’ त्यति नै लाग्छ । र, चाहना माथि चाहना बढ्दै जान्छ । लगाव बढ्ने दौरानमा मस्तिष्कले तपाईंको एड्रेनल गन्थ्रीमा संकेत पठाउँदछ, जसले ‘एड्रेनालाईन’ र ‘नोरेपिनफ्रीन’ रसायन उत्पादन गर्दछ । उक्त रसायनहरूले शरीरलाई ‘झगडा’ गर्न वा ‘उडान’ लिन तयार गराउँछ ।

यस अर्थमा पनि भन्ने हो भने सबैभन्दा संवेदनशिल अंगमध्ये एक मानिने मुटुको सम्बन्ध मानसिक स्वास्थ्य अर्थात भावनात्मक पक्षसँग पनि रहन्छ । जसकारण हामीले कुनै पनि कुरा गर्दा कुनैपनि अंगले महसुस गर्छ भने त्यसको अनुभूति सिधा मुटुसँग जोडिएको भावना हो । जसमा दुःख, माया, स्पर्श, बिछोड सबै मुटुले महसुस गर्ने गर्दछ । त्यसबाहेक विज्ञानले पनि के भन्छ भने कसैसँग माया पाएर खुसी हुँदा, बिछोड हुँदा मुटुले नै अनुभव गर्दछ ।

माया भन्ने कुरा निश्चित समय र व्यक्ति विशेष न भै जुनसुकै उमेर, परिवेश र जोकोहीप्रति पनि हुनसक्छ । यद्यपि, व्यक्तिअनुरुप भने यसको प्रसुतिकरण फरक–फरक रहन्छ । र, यसरी आत्मीयता र लगावसमेत भन्न सकिने यस भावानाले सम्पूर्ण शरीरमा फाइदा पु¥याउने तथ्य विभिन्न अध्ययन अनुसन्धानले समेत पुष्टि गरिसकेको छ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ