२०८१ वैशाख ३०, आईतबार
Health Aawaj logo
गृहपृष्ठप्रोफाइलसेती अस्पतालका फ्रन्टलाइनर डा. जगदीश

सेती अस्पतालका फ्रन्टलाइनर डा. जगदीश


कोरोना भाइरस (कोभिड—१९) संक्रमणको उच्च जोखिम क्षेत्रमा सुदूरपश्चिम प्रदेश पर्छ । सुदूरपश्चिमको मुख्य केन्द्र धनगढी र त्यहाँको प्रमुख कोभिड—१९ अस्पताल हो—सेती प्रादेशिक अस्पताल । यही अस्पतालको आइसोलेसनमा उपचारपछि निको भएर ५ जना कोरोना संक्रमित घर फर्किसकेका छन् ।

थप ५ जना कोरोना संक्रमितको उपचार अहिले आइसोलेसनमा चलिरहेको छ । उच्च मनोबलका साथ कोभिड—१९ संक्रमितको उपचारमा चिकित्सक, नर्स, पारामेडिक्स र सहयोगी स्टाफहरु फ्रन्टलाइनमा खटिएका छन् । अस्पतालमा कोभिड—१९ संक्रमित बिरामीको व्यवस्थापन र उपचारको नेतृत्व १४ वर्षदेखि चिकित्सा पेशामा क्रियाशील अस्पतालका इमर्जेन्सी विभाग प्रमुख डा. जगदीश जोशीको हातमा छ ।

सुदूरपश्चिमको पहाडी जिल्ला डोटीमा बुवा टेकराज जोशी र आमा चित्रादेवी जोशीको कोखबाट वि.संं. २०३६ साल असोजमा उनको जन्म भएको हो । जोशीको बाल्यकालको अधिकांश समय जन्मभूमी सिलगढी—१३ उडीतोलामा बितेको हो । ७–८ वर्षको उमेरमा धनगढी झरेपछि उनले बल्ल प्रारम्भिक चरणका पढाइको सुरुवात गरेका हुन् । एभरेष्ट बोर्डिङ स्कुल र ज्योति बोर्डिङ स्कुलबाट चार कक्षासम्मको अध्ययन पूरा गरेपछि उनी धनगढीमै रहेको ऐश्वर्या विद्या निकेतनमा पढ्न गए । त्यहीबाट उनले विं.सं. २०५३ सालमा प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरेका हुन् । डा. जोशी पढाइमा अब्बल भएकाले कक्षामा जहिले प्रथम नै हुन्थे ।

बाल्यकालमा जोशी फुटबलप्रेमी थिएँ । १४ वर्षको उमेरमा फुटबल खेल्दै गर्दा हात फ्याक्चर भएर उनी सेती अस्पताल पुगेका थिए । सेती अस्पतालमा चिकित्सक नभएकै कारणले सीमावर्ती भारतीय सहरमा उपचार गराउन जानुपर्ने बाध्यता उनले झेल्नुपरेको थियो । त्यहीबेलादेखि उनको मनमा डाक्टर बन्ने सपना हुर्किन थालेको हो । ‘पहिल्यैबाट डाक्टर बन्ने इच्छा थियो,’ उनी भन्छन्, ‘उपचारका लागि सीमावर्ती भारतीय सहर जानु परेको दिनबाटै पढिसकेपछि आफ्नै ठाउँमा गएर सेवा गर्नुपर्छ भावना जाग्यो ।’

धनगढीबाट एसएलसी उत्तीर्ण गरेपछि उनी उच्च शिक्षा अध्ययनका लागि काठमाडौं आए । ललितपुरको कुमारीपाटीस्थित क्याम्पियन एकेडेमीबाट प्लस टु उत्तीर्ण गरे । चिकित्सा पढ्ने लक्ष्य बनाएका उनी त्यसपछि एमबीबीएसको तयारीमा लागे । चीनको सिनच्याङ मेडिकल युनिभर्सिटीमा एमबीबीएस अध्ययनका लागि पुगे । वि.सं. २०६३ मा एमबीबीएस उत्तीर्ण गरेपछि उनी काठमाडौं फर्किए ।

त्यसपछि उपत्यका तथा बाहिरी जिल्लाहरुमा निजी तथा सरकारी अस्पतालमा काम गरेर अनुभव हासिल गरे । विशेषज्ञता हासिल गर्ने हुटहुटीले उनलाई एमबीबीएसमात्रैमा रोकिन दिएन । उनी विशेषज्ञताका लागि तयारी गर्न थाले । यही क्रममा एमडी अध्ययनका लागि धरानस्थित विपी कोराइला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सरकारी छात्रवृति पाए । विपीबाट उनले सन् २०१४ मा इमर्जेन्सी मेडिसिन र जनरल प्राक्टिसमा एमडी गरे ।

एमडी सकेपछि उनी धनगढी फर्किए । अत्तरियास्थित पदमा अस्पतालमा ५ वर्ष काम गरे । उनले अन्य विभिन्न निजी संस्थामा काम गरे । सुदूरपश्चिम जहिल्यै चिकित्सक अभाव हुने भएकाले यहाँ आएर सेवा गरेको उनले बताए ।

वि.सं.२०७५ सालमा खुला प्रतिस्पर्धामार्फत नवौं तहमा नाम निकालेपछि उनको सरकारी सेवाको यात्रा सुरु भएको हो । सरकारी सेवा प्रवेश गरिसकेपछि इमर्जेन्सी मेडिसिन र जनरल प्राक्टिस अध्ययन गरेकाले सेती अस्पतालको इमर्जेन्सी विभाग प्रमुखको जिम्मेवारी पाएर दुई वर्षदेखि उनी क्रियाशील छन् ।

डा. जोशीको जिम्मेवारी इमर्जेन्सी विभागका अलावा सेती अस्पतालको प्रवक्ता र कोभिड—१९ का बिरामीको उपचारको संयोजकका रुपमा पनि छ । उनी अस्पतालले बनाएको कोभिड—१९ व्यवस्थापन समितिको संयोजक हुन् । ‘मेरो अध्ययन नै इमर्जेन्सी मेडिसिन र जनरल प्राक्टिस भएकाले विपत तथा महामारीका बेलामा अग्रपंक्तिमा रहेर काम गर्नु कर्तव्य पनि हुन आउँछ,’ उनी भन्छन् । डा. जोशी सुदूरपश्चिमको एक मात्र रेफरल अस्पताल सेती प्रादेशिक अस्पताललाई नमुना अस्पतालको रुपमा विकास भएको हेर्न चाहन्छन् ।

कोरोना संक्रमित व्यवस्थापन

कोरोना महामारी फैलिन थालेपछि स्वास्थ्यकर्मीहरुमा पनि एक किसिमको मनोवैज्ञानिक त्रास थियो । तर, फ्रन्टलाइनमा रहेर मुख्य भूमिका निर्वाह गर्ने दायित्व पनि चिकित्सक, नर्सलगायतका स्वास्थ्यकर्मीहरुकै थियो ।

लकडाउन सुरु नहुँदै सेती अस्पतालले पनि कोरोना विरुद्धको तयारी थाल्यो । आइसोलेसन वार्डको स्थापना भएको थिएन । जोखिम मोलेर काम गर्नुपर्ने अवस्थामा पर्याप्त व्यक्तिगत सुरक्षा सामाग्री (पीपीई) अभाव थियो । अस्पताल प्रशासन, प्रदेश सरकार शंकास्पद बिरामी पोजेटिभ आयो भने कसरी व्यबस्थापन गर्ने, कसले के जिम्मेवारी निर्वाह गर्ने भन्ने तयारीमा थिए ।

विविध चुनौतीकाबीच ११ चैतमा सेती अस्पतालमा भर्ना भएका बिरामीमा कोरोना रहेछ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको स्वाब परीक्षण भएपछि १४ चैतमा मात्रै उनमा कोरोना पोजेटिभ पुष्टि भयो । डा. जोशीले साँझमात्रैं थाहा पाए । ‘हामी आन्तरिक व्यवस्थापनमै थियौ । चैत्र १४ बेलुकातिर मैले अस्पतालमा रहेको एक बिरामीमा कोरोना पोजेटिभ पुष्टि भएको खबर पाए,’ उनी भन्छन्, ‘मभन्दा पहिले अस्पतालका मेसुलाई जानकारी आइसकेको रहेछ ।’ यतिन्जेल चिकित्सकलाई थाहा भएपनि नर्सिङ कर्मचारीलाई थाहा थिएन । बिरामीलाई वार्डमा स्थानान्तरण गर्दैगर्दा थाहा पाभएपछि सबै नर्सिङ कर्मचारी डराए । बिरामीका आफन्त, सञ्चारमाध्यमलगायतका विभिन्न ठाउँबाट डा. जोशीलाई फोन आइरहेको थियो ।

सिमित साधन स्रोत, अपर्याप्त पीपीई, स्वास्थ्यकर्मी रहेको त्रासका बाबजुद पनि बिरामी आइसोलेट गरियो । उनलाई हेर्ने टिम खडा गरियो र सिसी क्यामेरा, फोनलगायतबाट निगरानी थालियो । ‘टिम वर्कमा उच्च मनोबलका उच्च सतर्कतापूर्वक काम ग¥यौ र चुनौतीलाई सिक्ने अवसरमा बदल्यौं,’ डा. जोशी भन्छन् ।

देशमा लकडाउन भइसकेको थियो । अस्पतालमा बिरामीको चाप थिएन । पीपीई तथा अन्य स्वास्थ्य समाग्री जुट्दैं गएपछि चिकित्सक, नर्स र सहयोगी कर्मचारीको मनोबल पनि बढ्दै गयो । लकडाउनका कारण स्वाब परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउनुपर्ने बाध्यताले अर्को समस्या सिर्जना गरेको थियो । एक जनामा कोभिड—१९ संक्रमण पुष्टि भएपछि केही दिनमा बढ्दैं त्यो संख्या ५ पुग्यो । कोभिड–१९ संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई १ हप्ता काम गरेर २ हप्ता क्वारेन्टाइनमा बस्ने व्यवस्था गरियो । ‘कसरी बस्ने, कहाँ बस्ने, अस्पतालमा आएका अरु बिरामीलाई पनि हेर्नुपर्ने भएकाले उद्योग वाणिज्य संघ, रोटरी क्लबको सहयोगमा होटलमा बस्ने व्यवस्था गरियो,’ डा. जोशी भन्छन् ।

सेती प्रादेशिक अस्पतालले ५ जना संक्रमितको सकुशल व्यवस्थापन गर्दै सबैलाई निको पारेर घर फर्काउन सफल भयो । पाँच जना संक्रमित नै निको भएर घर फर्किएपछि केही दिन सुदूरपश्चिम कोभिड—१९ संक्रमित फ्री रहन गयो । तर, गत हप्तादेखि पुनः सुदूरपश्चिममा कोरोना संक्रमणका बिरामी थपिएका छन् । अहिले पनि सेती अस्पतालको आइसोलेसनमा ५ जना संक्रमितको उपचार भैरहेको छ । यसको कमाण्ड पनि डा. जोशीकै हातमा छन् ।

कोभिड—१९ विरुद्धको लडाइमा सेती अस्पतालमा कार्यरत चिकित्सक, नर्सिङ स्टाफ, पारामेडिक्स र सहयोगी कर्मचारी, प्रयोगशालाका कर्मचारी, अस्पताल प्रशासनलगायतले ‘टिम वर्क’मा लय मिलाएर काम गरिरहेका छन् । जसमा सुरक्षाकर्मी, संचारकर्मीको भूमिका पनि उतिकै रहेको डा. जोशी बताउँछन् । स्वास्थ्य मन्त्रालयले सुदूरपश्चिममा पठाएका न्याम्सका ३३ जना रेजिडेन्ट चिकित्सकमध्ये १० जनाले पनि महत्वपूर्ण भूमिका निभाए । उनकाअनुसार प्रदेश सरकार र स्थानीय तहले पनि अस्पताललाई सहयोग गरिरहेका छन् । अहिले पनि सुदूरपश्चिममा कोरोना परीक्षणको दायरा पर्याप्त नबढाइएका कारण चुनौती पनि उत्तिकै छ ।


क्याटेगोरी : प्रोफाइल



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ