२०८१ असार ११, सोमबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १आगलागीमा घरबार गुमाएका ७६ वर्षीय वृद्धको पीडा : ‘अब औषधि कसरी किनेर खानु ?’

आगलागीमा घरबार गुमाएका ७६ वर्षीय वृद्धको पीडा : ‘अब औषधि कसरी किनेर खानु ?’


विराटनगर—मोरङको रंगेली नगरपालिका–३ बावुसाहेब टोलका ७६ वर्षीय जंगली मुर्मु आइतबार दिउँसो एक्लै टोलाएर बसेका थिए । उनी दीर्घ रोगका बिरामी हुन् । टिबी नियमित औषधी सेवन गरेपछि ठिक भएका छन् । तर, मधुमेहले उनलाई च्यापिरहेकाले नियमित औषधी सेवन गर्दै आएका छन् ।

हावाहुरीसँगै विद्युत सर्ट भएर शनिबार दिउँसो २० घर जलेर खरानी भए । जसमध्ये एक घर उनको पनि हो । घर जलेर खरानी भएपछि दक्षिणपट्टी त्रिपाल टागेर बस्ने गरेका छन् । अहिले मुर्म टोलाएर बस्ने गरेका छन् ।

मुर्मले औषधि किन्नका लागि राखेको १७ हजार रुपैयाँ थियो । त्यो पनि दुई दिन अगाडि वृद्धा भत्ता बापत आएको रकम भएको उनले सुनाए । ‘अन्नपात आगोले जलाएर खरानी बनायो । जीवनभर खानुपर्ने औषधि पनि यो विपत्तिले लिएर गयो,’ गहभरी आँसु पारेका उनले खरानी भएको घर देखाउँदै हेल्थआवाजसँग भने, ‘अब औषधि कसरी किनेर खानु ?’

उनको घरमा रहेका चामल, तोरी, धानजस्ता अन्नपात पनि आगोले खरानी बनाएको छ । ‘छिमेकीसँग पैचो मागेर एक दुई छाक खाना खाउँला । तर, नियमित खानुपर्ने औषधि कहाँबाट ल्याएर खानु,’ उनी बर्वराउन थाले । मुर्मुको सात जनाको परिवार छ । आगलागीले घर खरानी भएपछि उनी बाटोदेखि दक्षिणमा त्रिपाल टागेर अहिले रात कटाउँदैछन् ।

रंगेली—३ का आगलागी पीडित जलेर खरानी भएको अन्नपात देखाउँदै ।

‘आगजनी भएपछि निद्रा पनि लाग्दैन् । दुःख गरेर आर्जेको सानो टहरा थियो । त्यो पनि हेर्दाहेर्दै आफ्नै आँखा अगाडि क्षणभरमा खरानी भयो । विपत्त पनि हामी जस्तो दुःखीहरूलाई पर्दो रहेछ,’ निराश मुद्रामा उनले थपे, ‘अब घर कसरी बनाउने भन्ने पीडाले सताएको छ ।’ उनी परिवारसहित अहिले त्रिपालमा कष्टकर तरिकाले जीवनयापन गर्न बाध्य भएका छन् ।

रंगेली नगरपालिका—३ मा २० घर जलेर खरानी भएपछि २८ परिवारका ११८ जना पीडितहरूको दिनचर्या कष्टकर बनेको छ । मुर्मु समुदाय आगलागीपछि घर उभ्याउन नसक्ने अवस्था छ । आगजनीबाट बिचल्ली परेका २८ घर परिवारलाई खानका लागि राहत मिले पनि बस्ने राम्रो व्यवस्था नभएको पीडितहरुले बताएका छन् । बालबालिका र महिलाहरू त्रिपालमुनी बस्नुपर्दा दिनचर्या कष्टकर बनेको छ । सबै गरी ११८ जना पीडित अहिले त्रिपालमुनी बसेका छन् ।

रंगेली—३ का ७० वर्षीय दुगड मुर्मुले आफूहरूको मुख्य चाहना घर उभ्याउने रहेको बताए । ‘त्रिपालमा बास बस्दा कष्टकर भइरहेको छ । हामीले दुःख सहन बाध्य भएका छौं । तर, साना नानीहरुलाई लामखुट्टेले टोकेर डाबर बनाएको छ,’ उनले भने, ‘केही दिनमा रोगले च्याप्न थाल्नेछ ।’ गाउँ नै दनदनी जलेपछि बालबालिकाहरु पनि डराएको दुगडले बताए । उनकाअनुसार निन्द्राबाट ब्यूझ्नासाथ केटाकेटीहरू आत्तिन्छन् ।

रंगेली—३ का २८ घरपरिवारको घर जलेर खरानी भएपछि त्रिपाल टागेर कष्टकर तरिकाले बसोवास गर्दै ।

आगो लागेपछि हुरी चलेर दुई घण्टामै सबै घर खरानी भएको अर्का पीडित सुकले किस्कुले बताए । ‘केही बचेन । हेर्दाहेदै सबै अन्नपात र लत्ताकपडा खरानी भयो,’ उनले भने, ‘भएको सम्पत्ति सबै स्वाहा भएपछि आश गर्नुको विकल्प हुँदो रहेनछ ।’

आगलागी पीडित रंगेली—३ मा सबैभन्दा बढी समस्यामा बालबालिका रहेका छन् । यहाँ २७ बालिका र २१ बालक रहेका छन् । सुकले किस्कुको हातमुख जोर्ने केही छैन । गाउँमै बनिबुतो गरेर उनले परिवार पाल्दै आएका छन् । तीन महिना पनि खान नपुग्ने पाखो बारी जेथा रहेको उनीहरूलाई हात–मुख जोर्ने समस्या छ । उनका दुई वर्षका नाति छन् ।

‘यस्ता साना केटाकेटीलाई त्रिपालमुनी रात कटाउन गाह्रो भइरहेको छ । सबै लत्ता कपडा पनि जलेर खरानी भयो,’ काखमा रहेको दुई वर्षीय नातिलाई देखाउँदै किस्कुले भने, ‘स्थानीय सरकार र विभिन्न संघसंस्थाहरुले राहतमा त्रिपाल दिएको छ । तर, झुल छैन । झुल नहुँदा मछडले टोकेर हैरान बनाइसक्यो ।’ त्रिपालको बास बालबालिकाहरुलाई साह्रै गाह्रो भएको उनले सुनाए । ‘रातभरी साना केटाकेटी सुत्न सक्दैनन्,’ उनले थपे, ‘छालामा समस्या देखिन थालेको छ । शरीरभरी डाबर छन् ।’


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ