२०८० चैत्र ६, मंगलबार
Health Aawaj logo
गृहपृष्ठमेरो स्टार्टअप१२ वर्षपछि अर्किडकी यमुनाको उद्यममा ट्रान्सफर्मेसन, भन्छिन्, ‘अनुहारमा मुस्कान ल्याउने लत लाग्यो’

१२ वर्षपछि अर्किडकी यमुनाको उद्यममा ट्रान्सफर्मेसन, भन्छिन्, ‘अनुहारमा मुस्कान ल्याउने लत लाग्यो’


काठमाडौं—बसुन्धराको भित्रपट्टी तीन रोपनी जग्गामा फैलिएको एक शान्त ठाउँ छ । त्यसमा बुटिक शैलीमा बनाइएका स—साना घर छन् । गेटबाट भित्र पस्दैं गर्दा आँगनमा फूलेका रंगीचंगी फूलहरुले मुस्कुराएर स्वागत गर्छन् । वरीपरी हरियाली बगैचा छ । सिरीरी चल्ने हावाले आँतलाई चिसो बनाउँछ । लाग्छ, यो कुनै बुटिक होटल हो ।

५४ जनाको टिम सक्रिय रहेको यो ठाउँमा न होहल्ला छ, न त भिडभाड नै । मात्रै कान्ति छाएको छ । यही कान्तिमय ठाउँमा छ—‘अर्किड फिजियो थेरापी एण्ड रिह्याबिलिटेसन सेन्टर’ । १८ वर्षमै जागिर छोडेर व्यवसायमा होमिएकी ग्रामीण युवती यमुना कटुवालको सिर्जनशीलताले अर्किडलाई बेजोड वातावरणसहितको फिजियो एण्ड रिह्याब सेन्टर बनाएको छ ।

कुनै समय दिन गनिरहेका आमा बुवाको सहारा बनेको ‘अर्किड होम’की संस्थापक र सञ्चालक थिइन्, यमुना । भनिन्छ, १२ वर्षमा खोलो पनि फर्किन्छ । यमुनाको जीवनमा पनि त्यो भनाइ लागु भएको छ । त्यही कारण उनले हालसालै वृद्धआमाबुवाको केयरभन्दा केही फरक व्यवसायिक ट्रयाक पनि समात्न खोजेकी छन् । नयाँ जीवन दिने उद्देश्यसहित फिजियो थेरापीसँगै पुनःस्थापना सेवालाई उनले नयाँ व्यवसायिक गन्तव्य बनाएकी छन् ।

२० वर्षअघि १६ वर्षकै उमेरमा जनकपुरबाट काठमाडौं पसेकी यी युवा उद्यमी अहिले ३६ वर्षको उकालोमा हिडिरहेकी छन् । पछिल्ला १२ वर्षका दृढ इच्छाशक्तिकै बलमा उनले ९ हजारबाट अर्किडको ब्राण्ड मात्रै बनाइनन्, करोडौं विजनेश साम्राज्य पनि खडा गरिन् । वृद्ध बुवाआमाको सेवामा तल्लीन रहँदारहँदै उनी अब नयाँ जीवन फुलाउने र ओइलिएका अनुहारमा उर्जा भर्ने अभियानमा आफूलाई ‘ट्रान्सफर’ गर्न चाहिरहेकी छिन् । त्यही कारण उनले केही महिनाअघिदेखि अर्किड फिजियो थेरापी एण्ड रिह्याबिलिटेसन सेन्टर सञ्चालनमा ल्याएकी छन् ।

अर्किडले ट्रमा, इन्जुरी, पीडा, प्यारालाइसिसजस्ता समस्याबाट मुक्त गराउनका लागि फिजियोसँगै रिह्याब सेवा पनि उपलब्ध गराइरहेको छ । जसबाट केही बिरामीहरु निको भएर समाजमा पुनःस्थापन पनि भइसकेका छन् । ‘मलाई कोही हिड्न नसकेको मान्छे यहाँ आएर ठीक भएर हिड्यो भने एकदमै उर्जा आउँछ,’ हालैको एक मध्यान्ह यमुनाले हेल्थआवाजसँग अनुभव साटिन्, ‘म त्यो कुरा एक्सप्रेस गर्नै सक्दिनँ । त्यही कुराले मलाई जब्बर र उर्जाशील बनाउँछ ।’

यमुना थकाइ र तनावबाट जब ग्रुजिन्छन्, उनलाई लाग्छ यो काम अब नगरौं । तर, जब एउटा बिरामीको हात चल्न थाल्छ, बोली फुट्छ वा उसको खुट्टा चलेको दृश्य उनको अगाडि देखिन्छ, उनलाई लाग्छ म यसैका लागि जन्मिएकी हुँ । ‘निको बनाउने काम गर्ने मलाई लत लागिसक्यो,’ उनले भनिन्, ‘अझ राम्रो झन राम्रो । झन धेरै मानिसहरुको अनुहारमा मुस्कान ल्याउने लत लागिसक्यो, त्यसको प्रमाण यो अर्किड फिजियो थेरापी एण्ड रिह्याब सेन्टर हो ।’

अर्किड फिजियो थेरापी एण्ड रिह्याबिलिटेसन सेन्टरको पहिलो प्राथमिकता नै फिजियो थेरापी सेवा चाहिएका व्यक्तिहरुले इफोर्ट गर्न सक्ने शुल्कमा उपलब्ध गराउनु हो । दोस्रो, प्राथमिकता सेवाग्राहीको आवश्यकताअनुसार फिजियो थेरापी सेवालाई कस्टमाइज गरेर लिन सक्छन् । थेरापीलाई विशेष महत्व दिएको अर्किडले ट्रमा, इन्जुरीपछि आवश्यक पर्ने फिजियो सेवालाई प्रभावकारी रुपमा उपलब्ध गराउने लक्ष्य लिएको छ । ‘इन्जुरी, प्यारालाइसिस, पेनलगायतका समस्याबाट हामीले ठीक गरेका केसहरु धेरै छन्,’ अर्किडकी संस्थापक एवं अध्यक्ष यमुना भन्छिन्, ‘कुर्नुपर्ने, रुक्नुपर्ने, अस्पतालबाट डिस्चार्ज भएपछि त्यो वातावरण जान मन नभएका बिरामीहरुलाई हामी सुन्दर वातावरणमा उत्कृष्ट सेवा उपलब्ध गराउँछौं । उहाँहरुको स्टेलाई काउन्सिलिङ, नर्सिङ सेवा, रिह्याबिलेट गर्नका लागि आवश्यकताअनुसार सेवा दिन्छौं ।’

नेपालमा रिह्याबलाई लतसँगै मात्रै जोड्ने गरिन्छ । तर, ट्रमा, इन्जुरी, प्याारालाइसिसजस्ता समस्या निको पार्नका लागि फिजियो थेरापीसँगै रिह्याब पनि उत्तिकै जरुरी छ । काउन्सिलिङ, व्यवहार, हस्पिटालिटीलाई जोडेर मेडिकल रिह्याबिलिटेसन सेन्टरका रुपमा अर्किड स्थापना गरिएको हो । रिह्याबअन्तर्गत अर्किडले डे केयर सेवा पनि उपलब्ध गराइरहेको छ । ‘घरको मानिसको जीवनसँग ठूलो सम्बन्ध हुन्छ, घर एकदिन पनि छोडेर बस्न सक्दैन्,’ उनले भनिन्, ‘१२ वर्ष मैले बुढा आमाबुवाको स्याहार गर्दा धेरैको चाहना घरमै गएर आफ्नै बेडमा सुत्ने थियो । रिकभरको कुरा गर्दा एउटा मान्छेलाई ठीक हुन घरको ठूलो रोल हुन्छ । त्यही कारण हामीले डे केयर सेवा पनि दिएका हौं ।’

डे केयरलाई जोड्नुका पछाडि रिकभर हुँदैं गरेका बिरामीहरु एकछिन भएपनि आमाबुवा, दाजुभाइ, श्रीमती, छोराछोरीसँग जोडिउन भन्ने चाहना अर्किडको हो । त्यसले उनीहरुमा फरक खालको उर्जा दिने यमुना बताउँछिन् । ‘१० बजे आएपछि ५ बजे घर जानुहुन्छ,’ उनी प्रष्ट पार्छिन् ‘भोलि फिजियो थेरापी र डे केयरमा आउँदा कति इनर्जीका साथ आउनुहुन्छ । यसले बिरामीको निको हुने अवधि छोट्याउछ ।’

अहिलेको समयमा प्रायः सबै मानिसहरु कामकाजी छन् । ‘घरमा बसेर बिरामीको स्याहार गर्ने समय छैन्, कि त जागिरै वा काम नै छाडेर इन्गेज हुनुप¥यो’ उनले थपिन्, ‘तर, त्यो इन्गेज नहुनुपर्ने वातावरण हामीले बनाइदिन्छौं । त्यसका लागि अर्किड कन्फर्ट जोन हो । हामी ५ घण्टाको सुरक्षित वातावरणसहितको पूर्ण केयरयुक्त घर हामीले दिन्छौं ।’ यही नै अर्किडको डे केयरको कन्सेप्ट हो । त्यसका लागि अर्किडले भौतिक पूर्वाधार, समय, वातावरण, फिजियोथेरापी सेन्टर, आधुनिक उपकरणलगायतका सुविधा प्रशस्त लगानी गरेको छ । तर, सस्तो शुल्कमै आफूले त्यो सेवा दिइरहेको उनको भनाइ छ ।

अर्किडको माहोल नै स्टार होटलजस्तो छ । ‘बाआमाको स्याहार गर्दा सिकेको कुरा मैले सबै उमेर समूहमा अप्लाई गरेकी हुँ,’ यमुना भन्छिन्, ‘यो सबै बाआमाकै उपहार र आर्शिवाद हो ।’ अहिले अर्किडले ४० जनालाई डे केयर सुविधा दिन सक्छ । क्वालिटी सर्विस र स्टे राम्रो बनाउनका लागि २० जनालाई रेजिडेन्ट सेवा दिने क्षमता अर्किडको छ । फिजियो थेरापी र रिह्याबको ओपीडी सेवा भने १ सय बढीलाई दिन सक्छ । १ सय रुपैयाँमै अर्किडले फिजियो थेरापीको ओपीडी सेवा उपलब्ध गराइरहेको छ । त्यसका लागि भौतिक पूर्वाधार र जनशक्ति अर्किडमा छ । ‘फिजियो थेरापी मात्रै रिह्याबको भाग होइन्, हात खुट्टा चलाउनका लागि के के कुरा आवश्यक पर्छ ? भनेर हामीले सबै कुरामा मन र आत्मादेखि काम गरेका छौं,’ उनले थपिन् ।

अर्किडमा १२ जनाको फिजियो टिम, २ जना स्पीच थेरापी, १२ जनाको नर्सिङ टिम छ । त्यसैगरी, हाउसकिपिङ, सेक्युरिटी, किचनलगायतका गरी व्यवस्थापनबाहेक ५४ जनाको टिम छ । ‘केयर भनेको मनबाट निस्कने कुरा हो । मलाई लाग्छ यहाँ पाउने आत्मीयता धेरै कम ठाउँमा पाउँछ,’ यमुना दावी गर्छिन्, ‘हामीसँग पाउने आत्मीयता धेरै कम ठाउँमा छ ।’ अर्किडले तिर्न सक्ने मूल्यमा स्टार होटलजस्तो एक्सपिरियन्स बिरामीलाई उपलब्ध गराउँछ । ‘पैसा के मा क्यालकुलेट गर्ने २० रुपैयाँको पनि चिया खाने ठाउँ छ, हजार रुपैयाँको पनि चिया खाने ठाउँ छ ?,’ उनले थपिन्, ‘हामीले २० रुपैयाँकै चिया खाएपनि हजारको चिया खाएको फिलिङ्स दिइरहेका छौं ।’

रेजिडेन्सीयल केयरका लागि अर्किड किन छान्ने ? ‘रिकभर हुनका लागि आवश्यक पर्ने हरेक कुरा हामीसँग छ, ह्युमन रिसोर्स, केयर, माया, वातावरणजस्ता सबै कुरा छन्,’ यमुना कारण खोलिन्, ‘यी कुराहरु पैसामा क्यालकुलेट हुन सक्दैनन् । एकजना बिरामी ठिक भएर जानु मेरो लागि करोडको कुरा हो ।’ मृत्यु र जीवनको दोसाँधमा पुगेर नयाँ जीवनका आशामा अर्किडको हातामा छिरेका बिरामी नयाँ जीवनको मुस्कान लिएर फर्किएको सुन्दर दृश्य क्रियट गर्न अर्किडले व्यवस्थित टिम, संरचना, भौतिक पूर्वाधार र वातावरण विकास रहेको उनले बताइन् । ‘तपाईंले के ले हाँस्ने भन्ने कुरा पनि हामीसँग छ,’ यी जुझारु उद्यमी सुनिइन्, ‘काबिल फिजियो, मेडिकल, नर्सिङ टिम छ ।’ अर्किडले स्पीच र अकुंपञ्चर थेरापी सेवा पनि सुरु गर्दैछ । पेडियाट्रिकका लागि छुट्टै संरचना बनाउँदैंछ ।

अर्किड फिजियो थेरापी र रिह्याबिलिटेसन सेन्टरलाई यमुना भविष्यमा धेरै ट्रमाका बिरामीहरु हेर्न सक्ने गरी विकास गर्न चाहन्छिन् । अफोर्टेबल शुल्कमा देश विदेशका ट्रमाका धेरै बिरामीहरुको हेरचाह गर्ने र निको पार्ने आफ्नो रहर रहेको उनले सुनाइन् । ‘मैले आगामी योजना त्यहीअनुसार बनाइरहेकी छु,’ उनले भनिन्, ‘फिजिथो थेरापी एण्ड रिह्याब चलाउँला भन्ने सोच आउलाजस्तो लागेको थिएन । तर, मान्छेलाई निको पार्नु लत हुँदोरहेछ ।’ यमुनालाई नहिडेको मान्छेको हिडेको देख्दा रक्सी खाएपछि आउने इनर्जीझै इनर्जी प्राप्त हुन्छ । त्यही इनर्जीकै बलमा उनले अर्किड फिजियो थेरापी र रिह्याबिलिटेसन सेन्टर स्थापना गरेकी हुन् । मुस्कान हराएको अनुहारमा मुस्कार फर्काउने र नयाँ जीवन दिने उनको सपना पूरा होस्, शुभकामना ।

अर्किडकी यमुनाः जसले ९ हजारबाट १२ करोडको साम्राज्य बनाइन्




क्याटेगोरी : मेरो स्टार्टअप
ट्याग : #अर्किड फिजियो थेरापी एण्ड रिह्याबिलिटेसन सेन्टर, #यमुना कटुवाल


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ