२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशकोभिड–१९ : गम्भीर प्रकृतिका बिरामीको उपचारका लागि आवश्यक पर्ने उपकरण खरिदका लागि बजेट माग

कोभिड–१९ : गम्भीर प्रकृतिका बिरामीको उपचारका लागि आवश्यक पर्ने उपकरण खरिदका लागि बजेट माग


धनगढी–कोरोना भाइरस (कोभिड–१९) संक्रमित बिरामी गम्भीर अवस्थामा पुगेमा उपचारका लागि भेन्टीलेटर र आईसीयु अनिवार्य चाहिने भएपनि सुदूरपश्चिममा पर्याप्तता नभएपछि चिन्ता सुरु भएको छ । प्रदेश सरकारले भने अहिलेसम्म आईसीयु र भेन्टीलेटरका खरिदका लागि आवश्यक पर्ने बजेटको व्यवस्थापन गर्न सकेको छैन ।

अहिले सेती प्रादेशिक अस्पताल दुई वटा भेन्टीलेटर र पाँच शैय्याको सघन उपचार कक्ष आईसीयु सञ्चालन तथा कञ्चनपुरको महाकाली अस्पतालले पनि एउटा भेन्टीलेटर खरिदको प्रक्रिया थालेका छन् ।

सुदूरपश्चिमको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले कोभिड–१९ का गम्भीर प्रकृतिका बिरामीको उपचारका लागि आवश्यक पर्ने उपकरण खरिदका लागि बजेट माग गरेको छ । आपूर्ति केन्द्रले प्रदेशमा कोभिड–१९ महामारीका रुपमा फैलिन सक्नेतर्फ सचेत रहँदै मातहतका अस्पतालका लागि १५ वटा भेन्टीलेटर र आईसीयु खरिदका लागि बजेट माग गरिएको जनाएको छ ।

प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रका सूचना अधिकारी समेत रहेको जनस्वास्थ्य निरीक्षक लक्ष्मी श्रेष्ठले कोभिड–१९ को संक्रमणबाट गम्भीर अवस्थामा पुग्ने विरामीको उपचारका लागि आवश्यक पर्ने उपकरण खरिद गर्न तयारी थालिएको जानकारी दिए । श्रेष्ठले १५ वटा भेन्टीलेटर, १५ शैय्याको सघन उपचार कक्ष (आईसीयु), १५ वटा अक्सिजन कन्सनट्रेटर र कार्डियाक मोनिटर खरिदका लागि प्रदेश सरकारसँग बजेट माग गरिएको बताए ।

सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रबाट माग भएको बजेटको प्रस्ताव आर्थिक मामिला तथा योजना मन्त्रालयमा पठाइएको जानकारी दिए । ‘आपूर्ति केन्द्रले थप उपकरण खरिदका लागि प्रस्ताव गरेको छ, हामीले सहमतीका लागि अर्थ मन्त्रालयमा पठाएका छौं,’ कार्कीले भने, ‘अन्य प्रक्रिया अगाडि बढाइसकेका छौंं । सहमति आएपछि चाडै खरिदमा जान्छौं ।’

सुदूरपश्चिममा अहिले धनगढीको सेती प्रादेशिक अस्पतालमा दुई वटा र महाकाली अस्पतालमा एउटा भेन्टीलेटर गरी तीनवटा सरकारी भेन्टीलेटर छन् भने निजी अस्पतालमा ७ वटा मात्र भेन्टीलेटर रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ