२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशकोभिड–१९ : खोप कार्यक्रम प्रभावित, सुदूरपश्चिममा हजारौँ बालबालिका ११ वटा खोपबाट बञ्चित

कोभिड–१९ : खोप कार्यक्रम प्रभावित, सुदूरपश्चिममा हजारौँ बालबालिका ११ वटा खोपबाट बञ्चित


कैलाली – यतिबेला विश्व कोभिड-१९ को संक्रमणबाट कसरी बच्ने र बचाउने भन्ने विषयमा केन्द्रित छ । विश्वका शक्तिशाली राष्ट्रहरु यो रोगको उपचारका लागि लागि परेका छन् । नेपालमा पनि यसको नियन्त्रण र रोकथामका लागि सरकारले ‘लकडाउन’ गरेको छ ।

कोभिड–१९को संक्रमण रोक्न सरकारले लागु गरेको ‘लकडाउन’ का कारण सुदूरपश्चिममा पनि खोप कार्यक्रम प्रभावित भएका छन् । सरकारले खोप कार्यक्रम स्थगीत गरेसंगै सुदूरपश्चिम प्रदेशका हजारौँ बालबालिकाहरु नियमित खोपबाट बंचित भएका हुन् ।

खोपबाट बञ्चित भएसंगै भाइरल रोगहरुसँग लड्ने क्षमता समेत बालबालिकाहरुमा कम हुने स्वास्थ्यकर्मीहरुले बताएका छन् । गर्भवती आमालाई समेत खोप लगाइँदै आएकोमा अहिले उक्त खोप पनि बन्द गरिएको छ । भर्खरै जन्मिभएको शिशुलाई खोप लगाउन पटक–पटक अस्पताल पुगेका धनगढीका शतिस पाण्डेले भने, ‘जन्मिने वित्तिकै लगाउन पर्ने खोप पनि लगाईएको छैन् । पटक–पटक अस्पताल पुग्दा अहिले खोप स्थगीत गरिएको छ भन्दै फकाईन्छ ।’

जन्मिएको १५ महिना सम्म बालबालिकाहरुलाई ११ खोप लगाउने गरिएको छ । विसिजी खोप जन्मनसाथ लगाइन्छ । यसलाई एक डोज लगाए पुग्छ । यसले क्षयरोग विरुद्ध काम गर्छ । यस्तै डिपीटी खोप ६, १० र १४ हप्ताको उमेरमा लगाइन्छ । यसले भ्यागुते रोग, लहरे खोकी, धनुष्टांकार, हेपाटाइटिस बि, हेमाफिलस बिबाट हुने मेनिन्जाइटिस र निमोनियाबाट जोगाउँछ।

पोलियोको खोप ६, १० र १४ हप्ताको उमेरमा लगाइन्छ । एफआइपीभी खोप ६ हप्ता र १४ हप्ताको उमेरमा दिइन्छ। सले रोटा भाइरसद्वारा हुने पखला बिरुद्ध काम गर्छ । पिसीभी खोप ६ हप्ता, १० हप्ता र ९ महिनाको उमेरमा दिइन्छ। यस्तै दादुरारुबेला, जेई, टीडी लगायतका खोप पनि लगाईन्छ । तर अहिले खोप बन्द छ । सेती प्रादेशीक अस्पतालका सुचना अधिकारी दिलीप कुमार श्रेष्ठले पनि अहिले सबै खोप बन्द गरिएको बताए ।

उनले संघीय सरकारको निर्णय अनुसार नै खोप बन्द गरिएको बताए । महाकाली अस्पतालका मेसु हरीकुमार श्रेष्ठले पनि अहिले सबै खोप प्रभावित भएको बताए । जिल्ला स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लाल बहादुर धामीले पनि कोरोना जोखिम न्यूनीकरणकै लागि खोप सञ्चालन गर्न नसकिएको बताए । ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्रदेश हुँदै जिल्ला र पालिकासम्म खोपको वितरण गर्नुपर्ने भएकाले लकडाउनमा सम्भव छैन । खोप लगाउन खोप केन्द्रमा बालबालिका जम्मा गर्नु पर्ने र सामाजिक दुरी समेत कायम राख्नु पर्ने भएकाले अप्ठेरो भएको हो ।’ धामीले भने ।

‘लकडाउन’का कारण सुदुरपश्चिम प्रदेश सहित देशै भरीकै खोप सेवा प्रभावित भएको स्वास्थ्य निर्देशक गुणराज अबस्थीले बताए ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ