२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशसुदूरपश्चिममा कोरोना परीक्षण किटको चरम अभाव, शंकास्पदको नमूना संकलन प्रभावित

सुदूरपश्चिममा कोरोना परीक्षण किटको चरम अभाव, शंकास्पदको नमूना संकलन प्रभावित


धनगढी –  किटको मौज्दात सकिएपछि धनगढी प्रयोगशालामा कोरोना परीक्षण बन्द भएको छ । धनगढीको पशु अन्वेषण प्रयोगशालामा स्थापना गरिएको आरटी–पीसीआर मेसिन मार्फत हुने कोरोना परीक्षण बन्द भएको हो ।

गयराती चार जनाको परीक्षण भएकोमा किटको मौज्दात सकिएपछि आज परीक्षण बन्द गर्नुपरेको प्रयोगशालाले जनाएको छ । पीसीआर बिधीबाट कोरोना परीक्षण गर्दा पीसीआर किट र आरएनए एक्पेक्सन किट आवश्यक हुने गरेको छ ।

पीसीआर किटको मौज्दात भएपनि आरएनए एक्पेक्सन किट सकिएपछि परीक्षण बन्द भएको प्रयोगशालाले जनाएको छ । अत्यावश्यक परीक्षणका लागि १० वटा किट भने राखिएको छ ।

किट नभएपछि थ्रोट स्वाब संकलन गरिएका ५० बढिको अहिले सम्म नमूना परीक्षण गर्न सकिएको छैन्। धनगढीमा प्रयोगशाला स्थापना भएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमूना पठाउन बन्द गरिएको थियो। सरकारले समयमै आपूर्ति गर्न नसक्दा किटको चरम अभाव सिर्जना भएको हो । पीसीआर किटसँगै आरडीटीको समेत अभाव भएको छ ।

किटको अभाव भएपछि सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारपछि निको भएर घर फर्केका बिरामीको पुनः परीक्षण समेत गर्न सकिएको छैन । काठमाडौं र वीरगञ्जमा निको भएका संक्रमितको पुनः परीक्षण गर्दा कोरोना ‘पोजेटिभ’ देखिएको अवस्थामा धनगढीमा निको भएका संक्रमितको पुनः परीक्षण हुन सकेको छैन । सेती प्रादेशिक अस्पतालमा रहेका ५ जना कोरोनाका बिरामीमध्ये हालसम्म ४ जना उपचारपछि घर फर्केका छन् ।

सुदूरपश्चिमका विभिन्न जिल्लामा क्वारेन्टाइनमा राखिएका व्यक्तिको समेत कोरोना परीक्षण रोकिएको छ । संक्रमितको लगातार २ पटक कोरोना रिपोर्ट नेगेटिभ आएपछि १ हप्तासम्म होम क्वारेन्टाईनमा बस्नुपर्ने र ७ देखि १० दिनको अवधिमा पुनः परीक्षण गर्नुपर्ने मापदण्ड भएपनि पुनः परीक्षण हुन नसकेको हो ।

सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थीले सुदूरपश्चिममा मात्रै नभई देशभर किटको अभाव भएको बताए । आपूर्तिको लागि पहल जारी रहेको बताउँदै उनले केहीदिनमै आपूर्ति सहज हुने उनको भनाइ छ ।

नेपालमा आरडीटीबाट प्रारम्भिक परीण गरिँदै आएको छ भने कोरोना भएरनभएको यकिन गर्न पीसीआर मेशिनबाट परीक्षण हुँदै आएको छ । मोलेकुलर माइक्रोबायोलोजिस्ट सुनिल लेखकका अनुसार पीसीआर अन्तर्गत पीसीआर किट र आरएनए एक्पेक्सन किट प्रयोग हुँदै आएको छ । पीसीआर किटको उपलब्धता भएपनि एक्पेक्सन किटको अभाव भएपछि परीक्षण कार्य प्रभावित भएको छ ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ