२०८१ वैशाख ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशडडेल्धुरा अस्पतालका चिकित्सक धनगढीमा, चिकित्सकमाथि आक्रमण गर्ने शंकास्पद एक पक्राउ

डडेल्धुरा अस्पतालका चिकित्सक धनगढीमा, चिकित्सकमाथि आक्रमण गर्ने शंकास्पद एक पक्राउ


धनगढी– डडेल्धुरा अस्पतालको विवाद बल्झिदैं गएको छ । अस्पतालमा कार्यरत चिकित्सकहरु जिल्ला छाडेर धनगढी आइपुगेका छन् । धनगढीमा आइपुगेका चिकित्सकहरुले आइतबार पत्रकारसँग भेटघाट गर्दै काम गर्ने वातावरण नभएको गुनासो गरे ।

‘अस्पतालमा पटक–पटक बिना कारण चिकित्सकमाथि आक्रमण हुन थाल्यो’, डा. नवराज जोशीले भने, ‘कसरी काममा फर्किने ?’ असार २५ गते मृतक शव पोस्टमार्टमको विषयलाई लिएर चिकित्समाथि आक्रमण भएको थियो ।

अमरगढी नगरपालिका–११ का वडाध्यक्ष सूर्यप्रकाश खड्काको नेतृत्वमा आएको भीडले शव परीक्षण गरिरहेका चिकित्सकमाथि आक्रमण गरेको अस्पतालमा कार्यरत चिकित्सकको आरोप छ ।

‘प्रहरीको रिपोर्ट आएपछि चिकित्सकहरुले पोस्टमार्टम गर्ने हो’, डा. जोशीले भने, ‘पोस्टमार्टम गर्ने क्रममा बाहिरबाट हुलदंगा गरेर भित्र आए । त्यसपछि पोस्टमार्टमा संलग्न चिकित्सक काम छोडेर बाहिर लागेका हुन् ।’

आक्रमण गर्नेलाई कारवाही नहुञ्जेल नियमित काममा नफर्कने पोस्टमार्टमा संलग्न डा. दिनेश उपाध्यायले बताए । ‘असार २५ गते चिकित्सकमाथि आक्रमण भयो । डाक्टरहरुले आक्रमण गर्नेमाथि कारबाहीको माग गर्दा पनि कुनै कतैबाट सुनुवाई भएन’, उनले भने ।
त्यस्तै नेपाल चिकित्सक संघ सुदूरपश्चिम संयोजक प्रमोद जोशीले कार्यकक्षमै चिकित्सकमाथि आक्रमण हुँदा पनि स्थानीय प्रशासन कुनै पनि कदम नचाल्नु आपतिजनक भएको बताए ।

‘४ दिन बितिसक्दा पनि चिकित्सकलाई आक्रमण गर्नेको सुनुवाई भएको छैन’, उनले भने, ‘दोषीलाई २४ घण्टाभित्र कानूनी दायरा भित्र नल्याए आन्दोलनमा जान बाध्य हुनेछौं ।’

अस्पतालमा उपचार सेवा बन्द हुँदा विरामीहरुलाई सास्ती भएको छ । डडेल्धुरामा उपचार बन्द भएपछि धनगढीका अस्पतालमा भने विरामीको चाप बढेको छ ।

चिकित्सकमाथि हातपात गर्नेमध्ये एक जना पक्राउ
डडेल्धुरा अस्पतालमा ड्युटीमा खटिएका चिकित्सकमाथि आक्रमण गर्नेमध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले चिकित्सकको उजुरीका आधारमा आइतबार दिउँसो शंकास्पद एकजनालाई नियन्त्रणमा लिएको डडेल्धुराका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले जानकारी दिए ।

नियन्त्रणमा रहेका व्यक्तिका विषयमा आवश्यक अनुसन्धान भइरहेकाले उनको परिचय भने गोप्य राखिएको छ । गत बुधबार दिउँसो शव परीक्षण गरिरहेका चिकित्सकलाई ढिलो गरेको भन्दै हातपात गरिएको थियो ।

आक्रमणपछि चिकित्सकले एक विज्ञप्ति जारी गर्दै सुरक्षाका कारण देखाउँदै दोषीमाथि कारबाही नहुँदासम्म नियमित सेवामा फर्कन नसक्ने जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराएर बुधबारबाट आकस्मिक बाहेकका सेवा बन्द गरेका छन् ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ