२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशजसले हाँकिरहेका छन् सुदूरपश्चिमको कोरोना प्रयोगशाला

जसले हाँकिरहेका छन् सुदूरपश्चिमको कोरोना प्रयोगशाला


कोरोना भाइरस (कोभिड—१९)को विश्वव्यापी महामारीमा चिकित्सक, नर्स, स्वास्थ्यकर्मीसँगै प्रयोगाशालामा कोभिड—१९ परीक्षणमा संलग्नहरु पनि उत्तिकै जोखिम मोलेर कर्ममा डटिरहेका छन् । नेपालमा २० वटा प्रयोगशालाका कोभिड—१९ परीक्षण हुँदैं आएको छ । ती प्रयोगशालामा क्रियाशील जनशक्ति कोभिड—१९ को फ्रन्टलाइनरका रुपमा महामारी विरुद्ध दिनरात डटिरहेका छन् ।

कोरोना भाइरसको उच्च जोखिममा रहेको सुदूरपश्चिम प्रदेशमा रहेको एक मात्र रेफरल अस्पताल सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा नेतृत्व ३७ वर्षीय रमेश शाहीका काँधमा छ । प्रदेशभरबाट आएका स्वाबहरुको परीक्षण, प्रयोगशालाको जनशक्ति व्यवस्थापन जिम्मेवारी उनलै निभाइरहेका छन् । दैनिक २ सय ५० वटासम्म स्वाब परीक्षण हुँदैं आएको यो प्रयोगशालामा जनशक्ति ८ जनामात्रै छ । जसका कारण कहिलेकाही प्रयोगशालाको टिम रातिसम्म जाग्राम बसेर स्वाब परीक्षणका डटिरहेको हुन्छ । प्रयोगशालाको व्यवस्थापन गर्ने, सहकर्मी परिचालनदेखि रिपोर्टिङसम्मको काम शाहीले गरिरहेका छन् ।

कैलालीको गोदावरी–०६, हरैयामा हुन्, शाही । लोकबहादुर शाही र मायादेवी शाहीको सन्तानका रुपमा २०४० साल असारमा उनको जन्म भएको हो । उनको प्राथमिक तहको शिक्षादीक्षा धनगढीस्थित ऐश्वर्या विद्या निकेतनबाट अगाडि बढेको हो । त्यसपछि उनी अध्ययनका लागि टीकापुर पुगे । टीकापुरको खडक मेमोरियल स्कुलबाट २०५८ सालमा एसएलसी उत्तीर्ण गरेका हुन् ।

शाहीले कञ्चनपुरको सिद्धनाथ क्याम्पसबाट विज्ञान संकायमा प्लस टु उत्तीर्ण गरे । त्यसपछि थप उच्च शिक्षाका लागि उनी भारतको देहरादुन पुगे । देहरादूनको कम्बाइन इन्स्टिच्युट अफ मेडिकल साइन्सबाट ब्याचलर्स इन मेडिकल ल्याब्रोटोरी टेक्नोलोजी (बीएमएलटी) अध्ययन गर्न थाले । सन् २००७ मा उनले ब्याचलर उत्तीर्ण गरे । ‘मलाई कृषि पढ्ने रुची थियो,’ उनी भन्छन्, ‘तर, दाजुको सल्लाहमा स्वास्थ्य क्षेत्रमा आएको हुँ ।’

ब्याचलर सकेर उनी नेपाल फर्किए । नेपाल फर्किएपछि वि.सं. २०६५ सालदेखि सेती प्रादेशिक अस्पतालमा सेवा सुरु गरे । अहिले उनी त्यही अस्पतालको प्रयोगशाला प्रमुखका रुपमा कार्यरत छन् ।

अहिले सेती अस्पतालमा कोभिड–१९ नमुना परीक्षण गर्ने प्रयोगशालामा ८ जनाको टिम छ । जसमा एक जना महिला सदस्य पनि छन् । प्रयोगशालामा ३ जना सेती प्रादेशिक अस्पताल र ४ अन्य स्वास्थ्य संस्थामा कार्यरत जनशक्ति हुन् भने १ जना सेभ द चिल्ड्रेन संस्थाको सहयोगमा काम गरिरहेका छन् ।

धनगढीस्थित प्रयोगशालाको टिम

धनगढीको पशु अन्वेषण प्रयोगशालामा स्थापना भएको कोभिड–१९ परीक्षण गर्ने पीसीआर ल्याबमा सेती अस्पतालअन्तर्गत नै नमुना परीक्षण भइरहेको छ । प्रयोगशला स्थापना भएको दिनदेखि अहिलेसम्म ३३ सय नमुना परीक्षण भैसकेको छ । जसमध्ये १५ जनामा कोरोना पोजेटिभ देखिएको शाही बताउँछन् । ‘सुरुवाती चरणमा अरु प्रदेशमा प्रयोगशाला स्थापना नभएकाले १ सय ५० वटा जति नमुना सुर्खेतबाट ल्याएर पनि परीक्षण ग¥यौं,’ उनले भने ।

कोभिड—१९ शंकास्पद नमुनाहरु परीक्षणमा काम गर्दा कस्तो अनुभव हुँदोरहेछ ? भन्छन्, ‘सुरु–सुरुमा कोरोना नयाँ भाइरस भएकाले डर लाग्थ्यो । तर, अहिले त्यस्तो छैन । मज्जाले काम गर्न सकिन्छ ।’ जे भएपनि उच्च संक्रमण जोखिम भएकाले कोभिड—१९ को स्वाब परीक्षणमा अलिअलि डर हुने उनी बताउँछन् । ‘हामी पोजेटिभ नमुनासँग खेल्नुपर्ने भएकाले प्रत्यक्ष सम्पर्कमै हुन्छौं’ शाहीले भने, ‘त्यसैले उच्च सतर्कता अनपाएर काम गर्नुपर्छ ।’

कोरोना परीक्षणमा खटिएसँगै शंकास्पद नमुनासँग खेल्नुपर्ने दायित्व उनीमाथि आइपरेको छ । जसका कारण सम्भावित जोखिमलाई कम गर्न उनले परिवारसँगका पनि दूरी बनाएका छन् । ‘परिवारलाई भेट्न नपाएको २ महिना भयो,’ उनी सुनाउँछन् । उनका परिवारका सबै गाउँमा बस्छन् । उनी भने धनगढीस्थित घरमा एक्लै बसिरहेका छन् ।

जोखिम मोलेर भएपनि सहकर्मीको नेतृत्व र बिरामीको सेवा गर्न पाउँदा गौरव महसुस भएको उनले बताए । जोखिमका काम गर्दा सदैव हौसलाको विशेष स्थान हुने अनुभव पनि उनले गरेका छन् । ‘हामी कोरोना भाइरस परीक्षणको लागि संकलन गरिएका नमुनाहरुको सिधा सम्पर्कमा हुनुपर्छ,’ उनी भन्छन्, ‘त्यसैले हामीलाई पनि हौसल दिएमा काम गर्ने मनोबल उच्च हुन्छ ।’

नमुना संकलनदेखि परीक्षण र रिपोर्टिङ गर्ने जिम्मेवारी उनको काँधमा छ । अहिले प्रयोगशालामा दैनिक २ सयदेखि २ सय ५० सम्म नमुना परीक्षण भइरहेका छन् । कम जनशक्तिका कारण कामको चाप उतिकै छ । सरकारले परीक्षणको दायरा बढाउनुपर्ने भनेपनि जनशक्ति बढाउनमा ध्यान नदिएको गुनासो उनको छ । ‘अहिले प्रयोगशालामा कार्यरत सहकर्मीहरु दैनिक १२–१३ घण्टा काम गर्छौ । दबाब पनि धेरै छ,’ उनी सुनाउँछन्, ‘२ महिनामा एकदिन पनि कसैले बिदा नलिई काम गरिरहेका छौं ।’ कहिलेकाही राति २ बजेसम्म पनि काम गर्नुपरेको उनले सुनाए । ‘यो चुनौतीलाई सिक्ने अवसरका रुपमा लिएको छु,’ शाही कुराकानीको बिट मार्दै भने ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ