२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशमहामारीको समयमा प्रदेश स्वास्थ्य आपूर्ति प्रमुख बिहिन

महामारीको समयमा प्रदेश स्वास्थ्य आपूर्ति प्रमुख बिहिन


धनगढी—सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र कार्यालय प्रमुखबिहिन भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले २७ असोजमा मन्त्रीस्तरीयको निर्णय गर्दै सेती प्रादेशिक अस्पतालमा कार्यरत रेडियोलोजिष्ट डा. निरज अर्याललाई अर्को व्यवस्था नभएसम्म आर्थिक तथा प्रशासनिक अधिकारसहित निमित्त प्रमुखको जिम्मेवारी दिएको थियो ।

डा. अर्यालअघि सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा. गुणराज अवस्थीलाई निमित्त कार्यालय प्रमुखको जिम्मेवारी दिइएको थियो । आफूलाई हटाएर डा. अर्याललाई जिम्मेवारी दिएपछि डा. अवस्थीले १७ कात्तिकमा सामाजिक विकास मन्त्रालय, मन्त्री कृष्ण सुवेदी, सचिव रघुराम विष्ट, डा. निरज अर्याल र मुख्यमन्त्रीको कार्यालय विरुद्ध उच्च अदालत दिपायलमा उत्प्रेषणलगायत जो चाहिने आवश्यक आदेश आज्ञा जारी गरी पाऊ भनी मुद्धा दायर गरेका थिए ।

उच्च अदालत दिपायलले १८ मंसिरमा स्वास्थ्य सेवा ऐन तथा नियमावलीले तोकेको सेवा, समूह तह र योग्यता पुगेका व्यक्तिलाई प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको प्रमुखमा नियुक्त गर्नु गराउनु भनी परमादेश जारी गरेको छ । यससँगै डा. अर्यालको नियुक्तिमा कानुनी प्रश्न चिन्ह खडा भएपछि अहिले प्रदेश स्वास्थ्य आपूर्ति कार्यलय प्रमुख बिहीन बनेको छ ।

सुदूरपश्चिम प्रदेशमा स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको प्रमुखको सेवा, समूह, तह र योग्यता पुगेको कर्मचारी छैनन् ।

मन्त्रालय डा. अवस्थी खरिदमा विवादित बनेपछि हटाइएको दावी गर्दै आएको थियो । तर, डा. अवस्थीले भने आफूले अगाडि बढाएका खरिद प्रक्रिया विवादरहित रहेको दावी गर्दै आएका छन् ।

नैतिक संकटमा समाजिक विकास मन्त्रालय

सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय नैतिक संकटमा परेको छ । मन्त्रालय गरेको मन्त्रीस्तरीय निर्णय उच्च अदालतले बदर गरेपछि प्रदेशमा सेवा, समूह ,तह र योग्यता मिल्ने कर्मचारी प्रदेशमा नै नभएपछि नैतिक संकटमा परेको छ ।

सुदूरपश्चिम प्रदेशमा विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाहरु निमित्त कार्यालय प्रमुख वा अर्को समूहका कर्मचारीले संचालन गरिरहेका छन् ।

सुदूरपश्चिम प्रदेशमा सेवा, समूह, तह र योग्यता कर्मचारी नभएको भनी उच्च अदालतलाई पठाएको र जवाफको पर्खाइमा रहेको सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले बताए ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ