२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेश९ जिल्लामध्ये तीनमा मात्रै पोषण पुनर्स्थापना केन्द्र, दीर्घरोगी बन्दैं सुदूरपश्चिम

९ जिल्लामध्ये तीनमा मात्रै पोषण पुनर्स्थापना केन्द्र, दीर्घरोगी बन्दैं सुदूरपश्चिम


कैलाली–डडेल्धुरास्थित पोषण पुनर्स्थापना केन्द्रमा २० वर्षीया सुनिता जैरू १५ महिनाकी कुपोषित छोरीको उपचार गर्दै छन् । १४ वर्षमा बिहे गरेकी उनलाई कुपोषणबारे कुनै जानकारी छैन् । श्रीमानले छाडेको बताउने उनले ५ कक्षासम्म मात्रै अध्ययन गरेकी छन् । ‘दैनिक ज्यालामा मजदुरी गर्न जानुपथ्र्यो, छोरीलाई हेरचाह गर्न पाइनँ र उनी कुपोषणको सिकार भइछन्,’ उनले आफ्नो विवशता पोखिन्, ‘मैले त जानकारी नपाएर दुःख भोग्नुप¥यो । तर यसबारे सबैले शिक्षा पाए धेरै बच्चा कुपोषणबाट बच्थे ।’

जैरु मात्रै होइन्, अधिकांश आमाहरुलाई पोषणको वारेमा जानकारी नहुनु र भएपनि आर्थिक अवस्था कमजोर हुँदा बालवालिकाहरुमा कडा खालको कुपोषणको समस्या बढ्दै गएको छ । सुदूरपश्चिमका कतिपय आमालाई कुपोषणबारे चेतना नै नहुँदा थप समस्या हुने गरेको स्वास्थ्यकर्मीहरु बताउँछन् । दुर्गम पहाडी क्षेत्रमा पोषिला खानेकुरा नहुँदा कुषोषण भइरहेको छ भने तराई र सहरबजारमा जंकफुडको बढ्दो प्रयोगले कुपोषण दर बढिरहेको स्वास्थ्यकर्मीको दाबी छ ।

गरिबी, खाद्य असुरक्षा, चेतनाको कमीका साथै धेरैले ब्यक्तिगत सरसफाइमा पनि ध्यान दिन सक्दैनन् । स्वास्थ्य कार्यालय डडेल्धुराका पोषण स्रोतब्यक्ति प्रेम ऐर भन्छन्, ‘हरिया सागपात र पहेला फलफूल खान जान्दैनन् । माछामासु, अन्डा खान सक्ने अवस्था हुँदैन । यस्तै यावत कारणबाट कुपोषण हुने गरेको छ ।’

पहाडी जिल्लाहरुको डडेल्धुरामा मात्रै रहेको पोषण केन्द्रमा बैतडी, बझाङ, दार्चुला, डोटीबाट कुपोषित बालबालिका आउने गर्छन् । पुनर्स्थापना केन्द्रमा एक महिनाभन्दा बढी समय बस्नुपर्ने भएकाले टाढाका अभिभावक त्यति धेरै बस्न नमान्ने गरेको भट्टले बताए । केन्द्रमा कुपोषित बालवालिकालाई पोषणयुक्त खानाका साथै उपचार तथा उनका परिवारलाई पोषणबारे जानकारी गराइन्छ । केन्द्रमा जन्मेदेखि १४ वर्षका बालवालिकाको उपचार हुने गरेको छ । तर, पोषण पुनस्र्थापना केन्द्रमा पायक पर्ने स्थानका बालवालिका मात्रै उपचार गर्न जाने गरेको स्वास्थ्यकर्मीहरू बताउँछन् । बाँकी ६ जिल्लाका बालवालिकालाई त यो सुविधा समेत छैन । सबै जिल्लामा पोषण पुनर्स्थापना केन्द्र नभएका कारण कुषोषणका कारण ज्यानै गुमाइरहेको डोटीकी पार्वती साउदले बताइन् ।

पार्वती पनि कुपोषित छोरालाई उपचार गराउन डडेल्धुरास्थित पोषण पुनस्र्थापना केन्द्र पुगेकी थिइन् । डोटीको दिपायल–सिलगढी नगरपालिका–३ मा वसोवास गर्ने उनलाई त्यहाँको स्वास्थ्य संस्थाले डडेल्धुरा जान सुझाव दिएको थियो । पुनस्र्थापना गृहमा सित्तैमा उपचार हुने थाहा पाएपछि डडेल्धुरा आएको उनले बताइन् । ‘म घरायसी काममा व्यस्त हुने गर्थे, घरमा छोराको ख्याल भएन, कुपोषण भएछ,’ उनले भनिन्, ‘त्यति टाढाबाट यहाँ आएकी छु, ठीक त हुँदैछ, तर यस्तो स्वास्थ्य संस्था त्यतै भएको भए निकै सहज हुने थियो ।’

सुदूपश्चिम प्रदेशका ९ जिल्लामध्ये कैलाली, कञ्चनपुर र डडेल्धुरामा मात्रै पोषण पुनस्र्थापना केन्द्र रहेको छ । आर्थिक वर्ष ०७५/७६ को तथ्यांङक हेर्ने हो भने तीनवटै पुनर्स्थापना केन्द्रमा कडा खालको कुपोषणको उपचार गर्न आउनेको संख्या वर्षेनी बढिरहेको छ । आर्थिक वर्ष ०७५/७६ मा कैलालीको धनगढीस्थित पोषण पुनस्र्थापना केन्द्रमा १ सय ४७ जना कुपोषित बालबालिका भर्ना भएका थिए । यस्तै कञ्चनपुरको पोषण पुनर्स्थापना केन्द्रमा १ सय ४३ बालवालिका भर्ना भएका थिए । डडेल्धुराको पुनर्स्थापना केन्द्रमा १ सय १४ कुपोषित बालबालिका भर्ना भएका थिए । तीनै जिल्लामा गरेर सुदूरपश्चिममा गत आर्थिक वर्षमा चार सय चारजना कुपोषित बालबालिकाले उपचार पाएका छन् । तर अधिकांश बालवालिका उपचारसम्म पनि आउन सकेका छैनन् ।

सुदूरपश्चिम प्रदेशमा कुपोषण दिर्घरोगको रुपमा देखा परिरहेको छ । अधिकांश पहाडी जिल्लाहरुमा कुपोषणको अवस्था विकराल भएपनि तीन जिल्लामा मात्रै पोषण पुर्नस्थापना केन्द्र हुँदा थप चुनौती थपिएको छ । डडेल्धुराबाहेक पहाडी जिल्लामा पुर्नस्थापना केन्द्र नहुँदा यसको न्युनीकरण गर्न थप मुस्किल बन्दै गएको छ । अधिकांश उपचारमा आउन नसकेको अवस्थामा आएकाहरुमा पनि बढी कडा खालको कुपोषणको समस्या देखिएको छ । सुदूपश्चिमका कुपोषण भएका बालवालिका उपचार नपाउने मात्रै होइन, उपचार भइरहेको अवस्थाबाट फिर्तासमेत हुने गरेका छन् । अभिभावकले उनीहरूको पूरा उपचार नगर्ने गरेको पाइएको हो । पोषण पुनर्स्थापना केन्द्र डडेल्धुराका संयोजक कल्पना भट्टका अनुसार कुपोषित बालवालिकाको तौल सामान्य नहुँदै अभिभावकले घर लग्ने गरेका छन् ।

पुनर्स्थापना केन्द्रले बच्चाको तौल सामान्य नहुँदासम्म उपचार गर्छ । यो अवधिभर आमा पनि पोषण पुनस्र्थापना केन्द्रमा बस्नुपर्ने हुन्छ । ‘घरायसी काममा व्यस्त हुने हुँदा बच्चाको तौल सामान्य नहुँदै उनीहरू घर फर्कने गरेका छन्’, भट्टले भनिन्, ‘अहिले डडेल्धुराका विभिन्न ठाउँमा कुपोषित बालबालिकाको तथ्यांक हेरिरहेका छौं । उनीहरूको ट्रिटमेन्ट गर्न बच्चाको तौल जतिबेलासम्म नर्मल हुँदैन, त्यतिबेलासम्म आमा र बच्चालाई खान–बस्नका साथै उनीहरूको हरेक उपचारका व्यवस्था गरिरहेका छौं ।’ बालवालिकालाई पोषण पुनर्स्थापना केन्द्रमा ल्याउँदा आमाहरूले मात्रै सँगै बस्नुपर्ने हुन्छ, तर आमाहरू घरको अन्य काम गर्न बाध्य भएकाले काम छुट्छ भनेर केन्द्रमा नबसेर बच्चालाई घरमा लैजाने गरेका छन् ।

स्तनपान गराउने आमाहरु घट्दैं

सुदूरपश्चिम प्रदेशमा स्तनपान गराउने आमाको संख्या पनि घट्न थालेको छ । शिशुलाई ६ महिनासम्म स्तनपान गराउने आमा निकै कम भेटिन्छन् । कतिपय महिलाले सुत्केरी भएपछि नै बच्चालाई स्तनपान नगराउने गरेको पाइन्छ । तर, चिकित्सकले भने बच्चा जन्मेको ६ महिनासम्म आमाको दूधबाहेक अन्य पेय पदार्थ नपिलाउन अनुरोध गरिरहेका छन् । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका अनुसार सुदूरपश्चिम प्रदेशमा पूर्ण रूपमा ६ महिनासम्म स्तनपान गराउने ५.२ प्रतिशत आमा रहेका छन् । देशभरिका ग्रामीण क्षेत्रमा पूर्ण स्तनपान गराउने आमा ४.५ प्रतिशत र सहरी क्षेत्रमा पूर्ण स्तनपान गराउने आमाको संख्या ३.९ प्रतिशत रहेको छ ।

तीन महिनासम्म स्तनपान गराउने ७२.२ , पाँच महिनासम्म स्तनपान गराउने ४०.९ प्रतिशत रहेका छन् । सर्वेक्षणअनुसार सन् २०११ मा ५३ प्रतिशत र सन् २०१६ मा ६६ प्रतिशत आमाले मात्रै पूर्ण रूपमा स्तनपान गराएको पाइएको छ । त्यसपछिका वर्षमा पूर्ण रूपमा स्तनपान गराउने आमाको संख्या घट्दै जान थालेको छ । आमाको दूधको आवश्यकता पर्ने शिशुलाई आमा घरायसी काममा तथा रोजगारीका लागि कार्यालयमा गएपछि घरपरिवारले गाईभैंसी वा बट्टाको दूध खुवाउने गरेको छ । गाईभैसी र बट्टाको दूध शिशुको स्वास्थ्यका हिसाबले ठीक नभएको पोषण पुनर्स्थापना केन्द्र डडेल्धुराकी संयोजक भट्टले बताइन् । उनले भनिन्, ‘आमाले बच्चालाई राम्रोसँग स्तनपान गरायो भने मात्र कुपोषणलाई केही हदसम्म नियन्त्रण गर्न सकिन्छ ।’

नेपालमा कुपोषित बालबालिकामध्ये ५० प्रतिशत बालबालिकाको मृत्यु हुने गरेको एक अध्ययन प्रतिवेदनले देखाएको छ । साथै नेपालका ५३ प्रतिशत बालबालिका कुनै न कुनै प्रकारको कुपोषणबाट पीडित हुने गरेका छन् । त्यसमध्ये ५० प्रतिशतको ज्यान जाने गरेको स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाअन्तर्गतको पोषण शाखाको अध्ययनले जनाएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार संसारभर एकैसाथ जन्मने तीनजना बालबालिकामध्ये एकजनामा कुपोषण देखिने गरेको छ ।

पोषण अवस्था सन् २०१६ का अनुसार नेपालमा कुपोषण दर ३५.८ प्रतिशत छ । समग्रमा नेपालमा ३६ प्रतिशत बालिका र ३५.७ प्रतिशत बालक कुपोषित रहेको तथ्यांकले देखाएको छ । हुन त यो समस्या सुदूरपश्चिमसहित देशभर बढ्दै गएको तथ्यांकले देखाएको छ । एक तथ्यांकअनुसार कुपोषणका कारण सुदूरपश्चिमका ३५.९ प्रतिशत नागरिकमा पुड्कोपन छ भने ४९.८ प्रतिशत पाँच वर्षमुनिका बालबालिकामा रक्तअल्पताको समस्या छ । ३९.३ प्रतिशत महिलामा रक्तअल्पता, २८.१ प्रतिशत कम तौल, ७.७ प्रतिशत बढी तौलको समस्या छ । सुदूरपश्चिम प्रदेशका ९ जिल्लामा ९.३ प्रतिशत बालबालिकामा ख्याउटेपन छ भने १.२ प्रतिशतमा मोटोपन छ । नेपाल जीवनस्तर सर्वेक्षणका अनुसार २५ प्रतिशत नेपाली गरिबीको रेखामुनि रहेका र उनीहरू कुपोषणको शिकार भइरहेको पोषणका लागि नागरिक समाज सञ्जाल नेपाल (सिसान) ले जनाएको छ ।

सुदूरपश्चिम प्रदेशमा नेपाल सरकारका कुपोषणसम्बन्धी बहुक्षेत्रीय पोषण योजना कार्यक्रम, सहारा कार्यक्रम, मातृ शिशु पोषण कार्यक्रमलगायत अन्य कार्यक्रम सञ्चालन भइरहेको स्वास्थ्य निर्देशनालय डोटीका बाल स्वास्थ्य कार्यक्रमका फोकलपर्सन केशरबहादुर साउदले बताए । सामान्य कुपोषण भएका बालवालिकाका लागि स्वास्थ्य संस्थाले नियमित रूपमा अनुगमन तथा बच्चाहरूको पोषणको स्थिति जाँच गर्ने गरिरहेको उनले बताए । ‘स्वास्थ्य संस्थाले गाँउघरमै बच्चामा भएको कुपोषणको अवस्थाबारे जाँच गर्छन, परामर्श दिन्छन्,’ उनले भने, ‘हल्का खालको कुपोषणका लागि इमाम कार्यक्रमले समुदायस्तरमै पोषणयुक्त पौष्टिक खानेकुरा खुवाएर ठीक गर्छ, तर कडा खालको कुपोषण छ भने त्यस्ता बच्चालाई उपचारका लागि पोषण पुनस्र्थापना केन्द्रमा पठाउने गरिन्छ ।’ स्वास्थ्य चौकीहरूले पोषण कार्यक्रमअन्तर्गत भिटामिन, जुकाको औषधि खुवाउने कार्यक्रमसमेत गरिरहेको उनले बताए ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ