२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशसुदूरपश्चिममा अस्पताल स्तरोन्नती र सेवा सुधारका लागि दुई अर्ब

सुदूरपश्चिममा अस्पताल स्तरोन्नती र सेवा सुधारका लागि दुई अर्ब

प्रदेश मातहतका स्वास्थ्यकर्मीको प्रोत्साहनको लागि ४ करोड २० लाख


धनगढी–सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७८/०७९ को बजेटमा स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएको छ । केभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रणका लागि खोप सहज आपूर्तिका लागि नेपाल सरकारसँग समन्वय गरी प्रदेशका सबै नागरिकमा खोपको पहुँच प¥याइने प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालय मन्त्री प्रकाशबहादुर शाहले बताए ।

उनले कोभिड–१९ लगायत महामारी नियन्त्रण, उपचार र रोकथामको लागि अस्पताल तथा जनस्वास्थ्य प्रयोगशालाको सुदृढीकरण तथा मोलिकुलर सेटअपका लगि आवश्यक बजेट बिनियोजन गरिएको बताए ।

त्यस्तै, मुख्य सीमा नाकामा हेल्थ डेस्क, स्वास्थ्य सेवा केन्द्र, होल्डिङ सेन्टरलाई थप व्यवस्थित बनाइने प्रदेश सरकारले जनाएको छ ।

सुदूरपश्चिम प्रदेशका नागरिकको स्वास्थ्य सेवामा सहज पहुँच अभिवृद्धि गर्न र स्वास्थ्य संस्थाबाट प्रवाह हुने सेवालाई थप सहज गुणस्तरीय र व्यवस्थित बनाएर महामारीलगायत अन्य रोग विरुद्ध तत्काल प्रतिरोध गर्न सक्ने क्षमता विस्तार गर्न आगामी आर्थिक वर्षलाई ‘अस्पताल स्तरोन्नती तथा सेवा सुधार वर्ष’को रुपमा मनाउन २ अर्ब ४२ करोड ५८ लाख ९० हजार रुपैयाँ बिनियोजन गरिएको छ ।

महामारी तथा अन्य रोग बिरुद्ध तत्काल प्रतिरोध गर्ने क्षमता विस्तार गर्ने कार्यलाई उच्च प्राथमिकता दिएर महामारी ब्यवस्थापनमा ९७ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ । ‘आगामी आर्थिक वर्षमा स्थानीय तहको लागत साझेदारी सहकार्यमा स्वास्थ्य संस्थाको पहुँच भन्दा टाढा रहेका नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले आधारभूत स्वास्थ्य केन्द्र भवन निर्माणका लागि १ करोड बजेट बिनियोजन गरेको छु,’ शाहले भने ।

प्रदेश सरकारले ‘हाम्रो प्रदेश स्वास्थ्य अभियान’अन्तर्गत क्षयरोग, मलेरिया, कुष्ठरोग निवारण तथा शून्य कुपोषणका कार्यक्रमहरु सञ्चालनका लागि प्राथमिकता दिएको छ ।

त्यस्तै, कोभिड–१९ लगायतका महामारी संक्रमणको रोकथाम उपचार ब्यवस्थापन कार्यलाई उच्च प्राथमिकतामा राखेर स्रोत साधनको अभाव हुन नदिन ९० करोड छुट्याइएको छ ।

सवारी दुर्घटनाबाट हुने घाइतेको उपचारका लागि सेती प्रादेशिक अस्पतालमा ट्रमा सेन्टर स्थापना तथा संचालन र टिकापुर अस्पतालमा सरुवा रोग तथा अनुसन्धान केन्द्र स्थापनाको लागि ५ करोड रुपैयाँ बिनियोजन गरिएको छ ।

न्याय अस्पताल बलयपाटा अछामलाई सृदुढीकरण तथा पूर्वाधार विकासका लागि ८ करोड रुपैयाँ र स्थानीय तह अन्तर्गतका अस्पतालहरुको सुधारका लागि पुजीगत अनुदानको ब्यवस्था प्रदेश सरकारले गरेको छ ।

सुदूरपश्चिम प्रदेशमा रहेका ६ हजार ३७ स्वास्थ्य स्वयंसेविकालाई स्वास्थ्य क्षेत्रमा गरेको योगदानको कदर गर्दै स्वास्थ्य बिमा कार्यक्रमलाई निरन्तरता दिन १ करोड ५ लाख ६५ हजार बिनियोजन गरिएको छ ।

कैलाली र कंचनपुरका थारु समुदायमा रहेको सिकलसेल एनिमिया, थालेसेमिया र हेमोफिलिया रोगको रोकथामको लागि आवश्यक बजेट बिनियोजनका साथै कडा रोग लागेका आर्थिक रुपले बिपन्न नागरिकको औषधि उपचारमा आर्थिक सहायताको लागि १ करोड २१ लाख बजेट विनियोजन गरेको छ ।

प्रदेश मातहतका स्वास्थ्यकर्मीहरुको प्रोत्साहनको लागि ४ करोड २० लाख रुपैयाँ र स्वास्थ्यकर्मीको बिमाको लागि पनि बजेट छुट्याइएको छ । प्रदेश मातहतका स्वास्थ्य संस्थामा स्वास्थ्य सेवा विस्तार एवं औजार उपकरणतर्फ १० करोड ४९ लाख ७० हजार रुपैयाँ र औषधि खरिदको लागि ३ करोड ७८ लाख रुपैयाँ बिनियोजन गरिएको छ ।

कैलालीको धनगढीस्थित भौतिक पूर्वाधार निर्माणको क्रममा रहेको प्रादेशिक आयुर्वेदिक चिकित्सालयको लागि ४ करोड ५२ लाख रुपैयाँ र प्रदेश मातहतका आयुर्वेद स्वास्थ्य संस्था तथा वैकल्पिक चिकित्सा सेवा विस्तारका लागि स्वास्थ्य जीवन÷नागरिक आरोग्य कार्यक्रमको लागि २ करोड रुपैयाँ छुट्याइएको छ ।

महाकाली आयुर्वेदिक अस्पताल कंचनपुरमा प्रादेशिक स्वास्थ्य प्रर्बद्धन केन्द्र स्थापना तथा संचालनको लागि ९० लाख रुपैयाँ छुट्याइएको छ ।
प्रदेशका प्रयोगशालाहरुको सुदृढीकरण लागि रु १ करोड रुपैयाँ र आकस्मिक सेवा सुदृढीरकणका लागि ५० लाख रुपैयाँ विनियोजन गरिएको छ भने जटिल अवस्थाका प्रसुती र कडा रोगको आकस्मिक हवाई उद्धार कार्यक्रमलाई निरन्तरता दिदै ५३ लाख ३५ रुपैयाँ बिनियोजन गरेको छ ।

जेष्ठ नागरिकलाई घरमै आधारभूत स्वास्थ्य सेवा प्रवाह गर्न ९ वटै जिल्लामा मुख्यमन्त्री ज्येष्ठ नागरिक स्वास्थ्य कार्यक्रमलाई निरन्तरता दिदै १ करोड ६० लाख बजेट रुपैयाँ बजेट छुट्याइएको छ । आगामी आर्थिक वर्षमा सर्पदंश उपचार सेवालाई विस्तार प्रभावकारी बनाइने भएको छ ।

सुदूरपश्चिम प्रदेशमा देखिएका १० मुख्य रोगमध्ये खानेपानीसँग सम्बन्धित ४ वटा रोगहरु नियन्त्रणका लागि सबै जिल्ला स्वास्थ्य कार्यलयहरुमा खानेपानी नमुना परीक्षणको लागि प्रयोगशाला विस्तार एवं परीक्षण कार्यक्रमको निरन्तरताका लागि ४८ लाख रुपैयाँ बजेट बिनियोजन भएको छ ।

त्यस्तै, सुदूरपश्चिम प्रदेशमा आमा तथा शिशुको मृत्युदर घटाउन स्वास्थ्य संरक्षण र दिगो विकासका लक्ष्यहरु हासिल गर्न विगत वर्षदेखि संचालनमा रहेको ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रमलाई निरन्तरता दिदै आर्थिक वर्षमा ८८ वटै पालिकाबाट थप १/१ जना नर्सिङ कर्मचारीलाई २१ दिने तालिम प्रदान गरी प्रदेशको सुरक्षित मातृत्व अभियानलनाई प्राथमिकताका साथ संचालन गर्न १ करोड ११ लाख रुपैयाँ बजेट बिनियोजन गरिएको छ ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्यका भौतिक पूर्वाधार निर्माणको लागि पनि बजेट बिनियोजन गरेको छ । डोटी जिल्ला अस्पतालको भवन निर्माणको लागि ५ करोड ३५ लाख रुपैयाँ, बेदकोट सामुदयिक अस्पतालको लागि ५ करोड ३५ लाख रुपैयाँ, लम्कीचुहा सामुदायिक अस्पतालको लागि ८ करोड ८२ लाख रुपैयाँ, महाकाली अस्पतालको स्टाफ क्वार्टर र अस्पतालको इमर्जेन्सी भवन निर्माणको लागि ५ करोड ७५ लाख रुपैयाँ, स्वास्थ्य कार्यालय बाजुराको भवन निर्माणको लागि २ करोड रुपैयाँ तथा जिल्ला अस्पताल मार्तडीको भवन निर्माण तथा स्तरोन्नतीको लागि ३ करोड रुपैयाँ र जिल्ला अस्पताल अछामको भवन निर्माणको लागि १ करोड ५० लाख बिनियोजन भएको छ ।

‘मेरो विशेषज्ञता, मेरै प्रदेशका लागि’ भन्ने मर्मसहित पिछडिएका वर्गका जेहेन्दार विद्यार्थीलाई एमडी÷एमबीबीएस चिकित्सा शिक्षा छात्रवृतिका लागि समेत बजेट बिनियोजन गरिएको छ ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ