२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशकार्यालय समयमै सरकारी गाडी चढेर निजी अस्पताल धाउँछन् प्रादेशिक आयुर्वेद अस्पतालका प्रमुख

कार्यालय समयमै सरकारी गाडी चढेर निजी अस्पताल धाउँछन् प्रादेशिक आयुर्वेद अस्पतालका प्रमुख


काठमाडौं—सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा कार्यालय समयमा नै सरकारी गाडी चढेर आयुर्वेद चिकित्सक बिरामी जाँच्न निजी अस्पताल पुग्ने गरेको पाइएको छ । सुदूरपश्चिम प्रदेशको प्रादेशिक आयुर्वेद चिकित्सालयका निमित्त प्रमुख डा. खगेन्द्रबहादुर बम कार्यालय समयमै क्याम्पस रोडस्थित ओम आशा अस्पतालमा जाने गरेको तथ्य हेल्थआवाजले फेला पारेको छ ।

मंगलबार दिउँसो १२ बजे सरकारी गाडी चढेर ओम आशा अस्पतालबाट करिब ५० मिटर दूरीमा गाडी पार्किङ गरी अस्पतालभित्र प्रवेश गरेका थिए । हेल्थ आवाजकर्मी अस्पतालभित्र प्रवेश गर्दा उनी एकजना महिला बिरामीको अल्ट्रासाउण्ड गरिरहेका थिए । केही समयमै डाक्टरको क्याबिनबाट बाहिरिने क्रममा ती बिरामीले आफूलाई पेट दुख्ने समस्या रहेकाले भिडियो एक्सरे गराएको बताइन् ।

उक्त ओम आशा अस्पतालमा डा. बस्ने क्याबिनको बाहिर डा. खगेन्द्र बहादुर बम सिनियर आयुर्वेद फिजिसियन (टीयु ) १५६ अल्ट्रासोनोलोजिष्ट लेखिएको बोर्ड नै राखिएको छ ।

यसअघि सोमबार पनि प्रादेशिक आयुर्वेद चिकित्सालयका निमित्त प्रमुख डा. बमले प्रयोग गर्दै आएको से १ झ २६१ नम्बरको सरकारी गाडी २ बजेको समयमा अस्पताल अगाडि भेटिएको थियो । भाद्र २ गते दिउँसो अस्पतालमा एक बिरामीले फोन गरेर अल्ट्रासाउण्ड गर्नुपरेमा कुन चिकित्सकले गर्छन भनेर सोध्दा डा. खगेन्द्र गर्ने गरेको जानकारी त्यहाँकी कर्मचारीले दिएकी थिइन् । उनले अहिले डा. खगेन्द्रले नै अल्ट्रासाउड गरिरहेको र चेकअप गर्न आउँदा हुने जवाफ दिएकी थिइन् ।

यस विषयमा हेल्थआवाजले डा. खगेन्द्रलाई सम्पर्क गर्दा उनले भने आफू कार्यलय समयमा निजीमा बिरामी हेर्न नगएको प्रष्टीकरण दिए । ‘हिजो आमा बिरामी हुनुहुन्थ्यो,’ उनले भने, ‘त्यही भएर उहाँलाई चेकअप गराउन गएको थिए । आज उहाँको थप फ्लोअप भएकाले गएको हुँ ।’ तर, क्लिनिकका कर्मचारीले भने डा. बमकी आमा सोमबारै उपचार गरेर फर्किएको जानकारी हेल्थआवाजलाई दिए ।

कोभिड—१९ संक्रमण बढेपछि सरकारले कार्यलय प्रमुखहरुलाई निजी अस्पतालमा प्रायक्टिस गर्न रोक लगाएको छ । सरकारसँग अनुमति लिएर प्रायक्टिस गरिरहेकाहरुको पनि एक वर्ष अगाडि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खारेज गरिसकेको छ । तथापि, अधिकांश अस्पतालका अस्पताल प्रमुखहरु अहिले पनि निजीमा जान छोडेका छैनन् ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ