२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशस्वास्थ्य र पर्यावरणमा नेपाली सेनाको अग्रसरता, साइकल यात्राको उपाधि विष्टलाई

स्वास्थ्य र पर्यावरणमा नेपाली सेनाको अग्रसरता, साइकल यात्राको उपाधि विष्टलाई


धनगढी—नेपाली सेनाले ‘स्वास्थ्य र पर्यावरणप्रतिको हाम्रो दायित्व’ भन्ने मूल नाराका साथ ‘दोस्रो शुक्ला–दोधारा चादँनी साइकल यात्रा’ सम्पन्न गरेको छ । शनिबार कञ्चनपुरको महेन्द्रनगरमा आयोजित सो साइकल यात्राको उपाधि भीमदत्त नगरपालिका–३ का भुवन विष्टले जितेका छन् ।

नेपाली सेनाको श्री नं २५ बाहिनी अड्डा भगतपुर ब्यारेकको आयोजना र श्रीदल गुल्मको संयोजनमा भएको उक्त खुल्ला साइकल प्रतियोगितामा निर्धारित ४० किलोमिटर दूरी एक घण्टा ३५ मिनेट ३४ सेकेण्डमा पूरा गर्दै विष्टले उपाधि जितेका हुन् । उनी गत वर्ष आयोजित प्रतियोगिताको पहिलो संस्करणका समेत उपाधि विजेता हुन् ।

उपाधि विजेता विष्टलाई नेपाली सेनाको सुदूरपश्चिम पृतनाका पृतनापति उपरथी विजय थापाले साइकल, ट्रफी र प्रमाणपत्रबाट पुरस्कृत गरे । त्यस्तै, उक्त प्रतियोगितामा रण बम गण डडेल्धुराका सिपाही लालबहादुर गुरुङ दोस्रो तथा सोही गणका गणपति प्रमुख सेनानी बालमुकुन्द थापा तृतीय भएका हुन् । गुरुङले निर्धारित दूरी एक घण्टा ४० मिनेट तथा थापाले एक घण्टा ४५ मिनेटमा पूरा गरेको नेपाली सेनाले जनाएको छ ।

त्यसैगरी, प्रतियोगितामा रण बम गणकै सिपाही मदन विक चौथो र गुरु गोरख गुल्मका सागर चौधरी पाँचौ भए । प्रथम, द्धितीय र तृतीयलाई साइकलसहित पुरस्कृत गरिएको छ ।

प्रतियोगिता समापन समारोहमा सुदूरपश्चिम पृतनाका पृतनापति उपरथी थापाले सेनाद्वारा आयोजित साइकल प्रतियोगिताको दोस्रो संस्करणले नेपाली सेना र नागरिकबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन मद्दत पुगेको बताए ।

प्रतियोगिताले यहाँका धार्मिक तथा अन्य पर्यटकीय सम्भावना बोकेका क्षेत्रको धार्मिक, सांस्कृतिक, ऐतिहासिक र प्राकृतिक गन्तव्यको राष्ट्रियस्तरमा प्रचार–प्रसार गर्न सहयोग पुग्ने उनको भनाइ थियो । ‘पर्यटन प्रवर्द्धन मात्रै नभई प्रतियोगिताले युवा जनशक्तिमा स्वास्थ्य जागरणका साथै खेलाडी उत्पादनमा योगदान पुग्नेमा विश्वस्त छौं’, उपरथी थापाले भने, ‘अझै थप प्रभावकारी कार्यक्रम सञ्चालन गर्न सबैको सहकार्य आवश्यक छ ।’

रुद्रध्वज गण मझगाउँ व्यारेकमा भएको समापन समारोहमा उपरथी थापाका साथै भीमदत्त नगरपालिकाका नगरप्रमुख पदम बोगटी, बेदकोट नगरपालिकाका नगरप्रमुख भोजराज बोहरा, श्री नं २५ बाहिनी अड्डाका बाहिनीपति सहायकरथी पुरुषोत्तम ढकाल, स्थानीय प्रशासन, सुरक्षा निकायका प्रमुखलगायतको सहभागिता रहेको थियो । साइकल प्रतियोगितामा कञ्चनपुर, डडेल्धुरा, कैलालीलगायतबाट ७० जना सहभागी थिए ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ