२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशमालाखेती अस्पतालमा उपचारका क्रममा २८ वर्षीया सुत्केरी र बच्चाको मृत्यु

मालाखेती अस्पतालमा उपचारका क्रममा २८ वर्षीया सुत्केरी र बच्चाको मृत्यु

आफन्तद्वारा उपचारमा चिकित्सकले लापरवाही गरेको आरोप, अस्पतालको सेवा ठप्प


धनगढी–कैलालीको गोदावरी नगरपालिका-३ मा रहेको मालाखेती अस्पतालमा शिशुसहित एक जना सुत्केरी महिलाको मृत्यु भएको छ । सोमबार विहान गोदावरी नगरपालिका-२ कडायत टोलकी २८ वर्षीया लक्ष्मी भट्टराईको उपचारमा क्रममा मृत्यु भएको हो ।

उनी आइतबार सुत्केरीका लागि अस्पताल भर्ना भएकी थिइन् । अस्पतालमा डाक्टरहरुको लापरवाहीका कारण सुत्केरी र बच्चाको मृत्यु भएको भन्दै स्थानीयहरुले विरोध गरेका छन् । स्थानीयहरुले सोमबार विहानदेखि अस्पतालको सेवा प्रवाह ठप्प पारेका छन् । स्थानीयहरुले लापरबाही गर्ने डाक्टर र प्रशासनलाई कारवाहीको माग गरेका छन् ।

१८ चैतमा सुत्केरी मिति भएपनि २६ गते अस्पताल गएकी भट्टराईलाई सुत्केरी व्यथा नलागेको उनकी बहिनी धर्मा भट्टराईले बताइन् । उनले ‘नर्मल छ’ भन्दैं उपचारमा डाक्टरहरुले चासो नदिएको आरोप लगाइन् । ‘सुत्केरी व्यथा नलागेकाले डाक्टरहरुले दुई तीन चोटी व्यथा लाग्ने औषधि दिए । तर, पनि व्यथा लागेन,’ उनले भनिन्, ‘हिजो साँझसम्म पनि केही भएन् । डाक्टरहरुले समय—समयमा आएर औषधि राख्ने जाने गर्नुभयो । त्यति मतलब गर्नुभएन ।’ धर्माले नर्स र चिकित्सकहरुले समेत राम्रोसँग उपचारमा नसघाएको आरोप लगाएकी छन् ।

उनकाअनुसार लक्ष्मीलाई विहानदेखि श्वास फेर्न गाह्रो भएको र ज्वरो आएको थियो । ‘ज्वरो आएपछि डाक्टरहरुले सिटामोल दिएका थिए । त्यसपछि अक्सिजन र स्लाइन पनि चढाए । नर्सहरुले अक्सिजन र स्लाइन लगातार दिइरहेका थिए’ उनले भनिन्, ‘तर, उहाँलाई गाह्रो हुँदैं गयो ।’ धर्माले विहान अर्को डाक्टर आएपछि मात्रै बिरामीलाई समस्या भएको जानकारी गराएको बताइन् । उनले बच्चा सामान्य छ भनेर जानकारी दिएपनि मृत बच्चा निकालिएको उल्लेख गरिन् ।

अस्पतालका प्रमुख डा. अन्वेश कोइरालाले भने बच्चा जन्मिने बेला पाठेघरमा हुने पानी फोक्सोमा जाँदा सुत्केरीको मृत्यु भएको बताए । उनले बिरामीको अन्य सबै कुरा नर्मल भएको र विहान अचानक समस्या आएको बताए । ‘त्यो समस्या विहान अचानक आएको समस्या हो,’ उनले भने, ‘उक्त समस्या पहिला पत्ता लगाउन सकिने समस्या होइन् । यो कुनै पनि अस्पतालले पहिले थाहा पाउँदैन ।’ उक्त समस्याकै कारण बिरामी अचानक मृत्यु हुन सक्ने उनले बताए ।

डा. कोइरालाले चिकित्सकहरुले आफूहरुले बिरामीलाई बचाउन सक्दो प्रयास गरेपनि अचानक आएको समस्याका कारण नै बिरामीको मृत्यु भएको बताए । अस्पतालमा सुत्केरी र बच्चाको मृत्यु भइसक्दासमेत अस्पताल प्रशासनले छलफल थालेको छैन । अस्पताल प्रशासनसँग छलफल थालेर निर्णय लिने पीडित पक्षले बताउँदैं आएको छ । तर, अस्पतालमा प्रशासनका कुनै पनि व्यक्तिहरुको उपस्थिति भएका छैनन् । अस्पतालले केही दिन अगाडी मात्रै एक जना सुत्केरीको सफल शल्यक्रिया गरेको थियो ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ