२०८१ साउन ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशसुदूरपश्चिमका दादुरा प्रभावित जिल्लामा दादुरा रुबेलाको खोप अभियान सञ्चालन हुने

सुदूरपश्चिमका दादुरा प्रभावित जिल्लामा दादुरा रुबेलाको खोप अभियान सञ्चालन हुने


धनगढी—सुदूरपश्चिमका दादुरा प्रभावित तीन जिल्लामा दादुरा रुबेलाको खोप अभियान सञ्चालन हुने भएको छ । कैलाली कंञ्चनपुर र बाजुरा जिल्लामा दादुराको प्रकोप देखिएकाले खोप अभियान सञ्चालन हुने भएको हो ।

स्वास्थ्य कार्यालय कैलालीको आयोजनामा जिल्लाभर खोप अभियान चलाउन गोष्ठी आयोजना गरिएको छ । बिहिबार जिल्लाका सबै पालिकाका स्वास्थ्य प्रमुखसहित सरोकारवालाहरूको उपस्थितिमा अभियान चलाउने विषयमा योजना तर्जुमा गोष्ठी आयोजना भएको हो ।

कार्यक्रममा स्वास्थ्य कार्यालय कैलालीका निमित्त प्रमुख लालबहादुर धामीले कैलालीमा पनि दादुराको प्रकोप देखिएकाले खोप अभियान चलाउन अभिमुखीकरण गोष्ठी गरिएको बताए ।

सुदूरपश्चिममा ६ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई दादुरा रुबेला विरुद्धको खोप लगाउने योजना छ । धामीले ९५ प्रतिशतभन्दा बढी कभरेज गर्ने हिसाबले खोप अभियान चलाउने तयारी गर्न गोष्ठी आयोजना गरिएको बताए । गोष्ठीमा खोपबाट बचाउन सकिने रोगहरूको सर्भिलेन्स, निगरानी तथा महामारी नियन्त्रणको प्रक्रिया र तहगत भूमिकाबारे जानकारी एवं छलफल गरिनेछ ।

दादुरा र रुबेलाको खोप नियमित खोप कार्यक्रमबाट भारत गएका परिवारका बालबालिका बञ्चित हुने गरेको बताइएको छ । यस्तै, भारतीय मजदुरका सन्तानले पनि खोप लगाउन नमान्ने गरेको स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ ।

स्वास्थ्य तालिम केन्द्र प्रमुख नरेन्द्रसिंह कार्कीले ४ प्रतिशत बालबालिकाले कुनै पनि खोप पाउन छुटेको अवस्थालाई सुधार गर्नुपर्ने बताए । उनले कभरेजमा फोकस गर्ने, गुणस्तरमा सम्झौता नगर्ने, कोल्डचेन व्यवस्थापनमा ध्यान दिनुपर्ने बताए । खोप अभियान सफल पार्न स्वास्थ्यकर्मी, अभिभावक, प्रहरी प्रशासन, विद्यालय र समुदायको समन्वय र सहकार्य हुनु आवश्यक रहेको कार्कीले बताए ।

संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय परिवार कल्याण महाशाखा प्रमुख भरत भण्डारीले राष्ट्रिय खोप कार्यक्रमका उद्देश्य, लक्ष्य र दादुरा रोग निवारणको रणनीति एवं आवस्थाको बारेमा चर्चा गरेका थिए । उनले ९० प्रतिशत बालबालिका खोप लगाउन आफैं आउने र १० प्रतिशत अहिलेसम्म छुटेको अवस्था रहेको बताए ।

सरकारले दिगो विकास लक्ष्य प्राप्तिका लागि खोप कार्यक्रम ल्याइएको बताउँदै सरुवा रोग उन्मुलन गर्नका लागि खोप कार्यक्रम चलाइने गरिएको उनले बताए । ‘सबै वडाको खोप कभरेज ९५ प्रतिशत अनिवार्य हो,’ उनले भने, ‘खोप गुणस्तरीय हुनुपर्छ । अझै २० प्रतिशत बालबालिका ड्रपआउट छ। ४ प्रतिशत मिसिङ छ। यसमा सुधार हुनैपर्छ ।’ भण्डारीले दादुराका लागि खोप मात्रै एक विकल्प रहेको बताउँदैं अहिले दादुरा खोपको अभाव नरहेको उल्लेख गरे । ‘तर, बिरामी देखा पर्न थाले । यो वर्ष मात्रै ९४७ बिरामी फेला परे,’ उनले भने । नेपालमा सन् २०२६ मा दादुरा निवारण गर्ने लक्ष्य राखिएको छ । वि.स. २०३५ देखि दादुराको खोप दिन थालिएको हो । तर, दादुरा निवारण गर्न अपेक्षित प्रगतिमा कमी आएकाले दादुरा निवारण गर्न सबै तहमा एकरुपता हुनुपर्नेमा जोड दिइएको छ ।

गोष्ठीमा कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले खोप कार्यक्रमको लक्ष्य प्राप्ति नहुँदा राज्यको ठूलो लगानी गुम्ने गरेको बताए । उनले राज्यको लगानी खेर जान नदिन सबैले आ–आफ्नो जिम्मेवारी बहन गर्नुपर्ने बताए । स्थानीय तह, विद्यालय, शिक्षक, समाजसेवी र समुदायले खोप अभियानलाई सहयोग पु¥याउनुपर्ने र स्थानीय प्रशासनले सहयोग गर्ने सहायक प्रमुख जिल्ला अधिकारी जोशीले बताए ।

जिल्ला समन्वय समितिका कार्यबाहक प्रमुख खगराज भुसालले गोष्ठीले कैलालीमा दादुरा निवारण गर्न सहयोग पुग्ने बताए । उनले सरकारका कार्यक्रम राम्रा हुने तर काम गर्दा परिणाम नमिल्ने समस्याको समाधान पनि हुनुपर्ने बताए ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ