२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशगेटामा राखियो ‘शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय’ लेखिएको बोर्ड

गेटामा राखियो ‘शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय’ लेखिएको बोर्ड


धनगढी—कैलालीको गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय लेखिएको बोर्ड राखिएको छ । बिहीबार साँझ शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले बोर्ड विश्वविद्यालयको लेखिएको बोर्ड राखेको हो ।

गोदावरी नगरपालिकाको अत्तरियादेखि बाजागाजासहित आएका उनीहरुले साँझ गेटामा ‘शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय’को बोर्ड राखेका थिए । २९ माघ २०७९ मा संघीय मन्त्रिपरिषद् र ५ जेठ २०८० मा नीति तथा कार्यक्रममा गेटालाई स्वास्थ्य विज्ञान विश्वविद्यालयका रुपमा अगाडि बढाउने व्यवस्था भएपनि बजेटमा प्रतिष्ठानका रुपमा समेटिएपछि संघर्ष समितिले विरोधका कार्यक्रमहरु सुरु गरेको छ ।

उसले गेटालाई राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयका रुपमा सञ्चालन गर्नुपर्ने माग गर्दै आइरहेको छ । सरकारले १५ जेठमा संसदमा पेश गरको आगामी आर्थिक वर्षको बजेटमा गेटामा प्रतिष्ठान निर्माण गरेर एक सय शैय्याको अस्पताल सञ्चालन गर्ने घोषणा गरेपछि संघर्ष समितिले आन्दोलन कार्यक्रम गर्दै आएको छ ।

यसअघि ४ असार २०७९ मा धनगढी उपमहानगरपालिकाको भवन उद्घाटन गर्न आएका तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले त्यही बेला एक महिनाभित्र प्रतिष्ठानका रूपमा यसलाई चलाउन क्याबिनेटबाट निर्णय गराउने आश्वासन दिएका थिए । तर, उनको यो कुरा लामो समय बितिसक्दा पनि सत्य सावित भएन । त्यसपछि तत्कालीन प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले गेटामा निर्माण भएका संरचनाको अध्ययन गरेको थियो ।

सो समितिले गेटामा मेडिकल विश्वविद्यालय बनाउन सरकारलाई सुझाव दिएको थियो । त्यसको आधारमा यसलाई मेडिकल विश्वविद्यालय नै बनाउनुपर्ने आवाज उठिरहेको थियो । प्रदेशका विभिन्न राजनीतिक दलका नेताहरुले पनि गेटालाई स्वास्थ्य विज्ञान विश्वविद्यालयका रुपमा संचालन गर्न माग गरिरहेका छन् ।

नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले विज्ञप्ति नै निकालेर गेटालाई स्वास्थ्य विज्ञान विश्वविद्यालयका रुपमा संचालन गर्न माग गरेको छ भने शुक्रबार दिउँसो एमाले काठमाडौं सुदूरपश्चिम सम्पर्क कमिटीले माइतीघरमा विरोध प्रदर्शनको आयोजना गरेको छ ।

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल सुदूरपश्चिम प्रदेशले पनि गेटालाई स्वास्थ्य विज्ञान विश्वविद्यालयकै रुपमा अगाडि बढाउन माग गरेको थियो । महासंघ नेपालको केन्द्रीय कमिटि सचिव एवं सुदूरपश्चिम प्रदेश इन्चार्ज सिद्धप्रसाद ढुंगानाले गेटालाई विश्वविद्यालयका रुपमा विकास गरेमा सुदूरपश्चिम प्रदेशको विकासमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गरे ।

‘सरकारले आफ्नो निर्णयअनुसार गेटालाई विश्वविद्यालयका रुपमा विकास गर्नुपर्छ,’ ढुंगानाले भने, ‘यसले सुदूरपश्चिमको स्वास्थ्य सेवा र स्वास्थ्य शिक्षामा मात्रै दूरगामी महत्व राख्दैंन सुदूरपश्चिम क्षेत्रको पहिचान स्थापित गर्ने र विदेशी विद्यार्थीहरुका लागि चिकित्सा शिक्षाको हब बन्न सक्छ ।’


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ