२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशगेटाको निःशुल्क आँखा शिविरमार्फत १८८ जनाको फर्कियो आँखाको ज्योति

गेटाको निःशुल्क आँखा शिविरमार्फत १८८ जनाको फर्कियो आँखाको ज्योति


धनगढी—नेपाल नेत्रज्योति संघ, गेटा आँखा अस्पतालले सुदूरपश्चिका विभिन्न स्थानीय तहहरुसँगको सहकार्यमा निःशुल्क आँखा शिविर सम्पन्न गरेको छ । नेत्रज्योति संघ, गेटा आँखा अस्पताल र स्थानीय तहहरुको संयुक्त आयोजनामा डोटीका दुई र अछामका एक स्थानीय तहमा आँखा शिविर सम्पन्न भएको हो ।

तीन वटा आँखा शिविरमार्फत १ हजार १ सय ४१ जना बिरामीको निःशुल्क आँखा परीक्षण गरिएको थियो भने १८८ जनाको मोतियाबिन्दुको निःशुल्क शल्यक्रियासमेत गरिएको छ । पहुुँच र पैसाको अभावमा कोही पनि नागरिक दृष्टिविहिन भएर बस्न नपरोस भन्ने हेतुले संघले देशका विभिन्न क्षेत्रहरुमा निःशुल्क आँखा शिविरहरु संचालन गर्दैै आइरहेको छ ।

१५ र १५ जेठमा डोटीको सायल गाँउपालिकामा सम्पन्न आँखा शिविरमा ३५१ जनाको निःशुल्क आँखा परीक्षण गराएका थिए । जसमा मोतियाविन्दु देखिएका ७३ जना बिरामीहरुको निःशुल्क शल्यक्रिया गरिएको थियो । त्यस्तै, डोटीकै बोगटान फुटसिल गाँउपालिकामा २१ र २२ जेठमा सम्पन्न शिविरमा ३९३ जनाको आँखा परीक्षण भएको थियो भने ६० जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको गेटा आँखा अस्पतालका नेत्र अधिकृत नरेन्द्रराज विष्टले जानकारी दिए ।

त्यसैगरी १८ र १९ जेठमा अछामको मेल्लेख गाँउपालिकामा सम्पन्न शिविरमा ३९७ जनाको निःशुल्क आँखा जाँच गरिएको थियो । जसमध्ये मोतियाविन्दु देखिएका ५५ जना बिरामीहरुको निःशुल्क शल्यक्रिया समेत गरिएको थियो ।

तीन वटै आँखा शिविरमा न्यूनदृष्टि देखिएका ४५२ बिरामीहरुलाई निःशुल्क चश्मासमेत वितरण गरिएको अस्पतालका बाह्य कार्यक्रम व्यवस्थापक रमेशचन्द्र भट्टले बताए ।

अस्पतालका चिफ मेडिकल डाइरेक्टर एवं वरिष्ठ नेत्र विशेषज्ञ डा. सुरेशराज पन्त, डा. लिनु रायमाझीलगायत १४ जना प्राविधिकहरुको टोलीले शिविरहरुमा स्वास्थ्य सेवा प्रदान गरेका थिए ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ