२०८१ वैशाख २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशकर्मचारी फिर्ता पठाउने धनगढीको निर्णय ‘आत्मघाती’, वडा स्वास्थ्य क्लिनिक स्वास्थ्यकर्मीबिहीन

कर्मचारी फिर्ता पठाउने धनगढीको निर्णय ‘आत्मघाती’, वडा स्वास्थ्य क्लिनिक स्वास्थ्यकर्मीबिहीन

मेयर भन्छन्, ‘तलबका लागि स्वास्थ्य मन्त्रालयले बजेट दिए हाजिर लगाउन दिइन्छ’


धनगढी— दरबन्दीबाहेकका कर्मचारी फिर्ता पठाउने निर्णयपछि धनगढीका वडा स्वास्थ्य क्लिनिक स्वास्थ्यकर्मीबिहीन बन्न थालेका छन् । यसअघि धनगढीका १९ वटै वडा स्वास्थ्य क्लिनिकमा कम्तिमा तीन जनासम्म स्वास्थ्य कर्मचारी कार्यरत रहेका थिए ।

तर, उपमहानगरले दरबन्दीबाहेकका कर्मचारी फिर्ता पठाउने निर्णय गरेपछि भने अधिकांश वडा क्लिनिकमा एक जना मात्रै कर्मचारी काम गरिरहेका छन् । जसका कारण वडा स्वास्थ्य क्लिनिकबाट दिइने सेवा प्रभावित भएको धनगढी उप महानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख योगेश अवस्थी बताउँछन् ।

‘एउटा वडामा कम्तिमा पनि तीन जनासम्म स्वास्थ्य कर्मचारी हुँदा वडावासीलाई आधारभूत स्वास्थ्य सेवा दिन सकिएको थियो,’ अवस्थीले भने, ‘तर अहिले वडा स्वास्थ्य सेवा लगभग बन्द जस्तै अवस्थामा पुगेको छ । धेरै वडामा एक जना मात्रै कर्मचारीले काम गरिरहेका छन् ।’ स्वास्थ्य मापदण्डअनुसार ५ हजार नागरिक बराबर एक जना स्वास्थयकर्मी उपलब्ध हुनुपर्ने व्यवस्था रहेको उनले बताए ।

सो मापदण्डअनुसार धनगढीका हरेक वडा स्वास्थ्य क्लिनिकमा ९–१० जनासम्म स्वास्थ्य कर्मचारी आवश्यक पर्ने देखिन्छ । ‘धनगढीका हरेक वडामा कम्तिमा ९ देखि १० जनासम्म स्वास्थ्यकर्मी आवश्यक पर्ने देखिएको छ,’ उनले भने, ‘तर अहिले धेरै वडा स्वास्थ्य क्लिनिकमा एक जना मात्रै स्वास्थ्य कर्मचारी कार्यरत रहेका छन् । एक जनामात्रै हुनु भनेको स्वास्थ्य सेवा बन्द हुनुजस्तै हो ।’

उपमहानगरपालिकाको वडा नम्बर १, ३, ४, ५, ६, १५ र १६ वडामा रहेको स्वास्थ्य चौकीमा दुई/दुई जना, वडा नम्बर ९ को स्वास्थ्य चौकीमा तीन जना स्वास्थ्यकर्मी छन् भने अन्य ११ वटा वडा एक जना स्वास्थ्यकर्मीको भरमा सञ्चालन भइरहेका छन् । त्यसकारण धनगढीको स्वास्थ्यका कर्मचारी फिर्ता पठाउने निर्णय आत्मघाती बन्न पुगेको छ ।

धनगढी उपमहानगरपालिकाले ३३ जना समायोजन तथा समायोजन मिलान भएर आएका स्वास्थ्य सेवाका कर्मचारीलाई हाजिर लगाउन दिएको छैन । नगर प्रमुख गोपाल हमालका अनुसार ५३ जना स्वास्थ्य सेवा कर्मचारीलाई तलब खुवाउन झण्डै साढे चार करोड बजेट आवश्यक पर्छ ।

उपमहानगरपालिकासँग आन्तरिक स्रोत नभएको र संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तलबका लागि बजेट विनियोजन नगरेकाले समस्या भएको तर्क नगर प्रमुख हमालको छ । उनले स्वास्थ्य मन्त्रालयले बजेट दिएमा कर्मचारी हाजिरी गराउने बताए । नगर प्रमुख हमालले कर्मचारीसँगको विवाद नभएर उपमहानगरपालिका र स्वास्थ्य मन्त्रालय बिचको विवाद रहेको तर्क गरेका छन ।

मंगलबार सामान्य प्रशासन मन्त्रालयले ७५३ वटै स्थानीय तहलाई पत्राचार गर्दै समायोजन र समायोजन मिलान भएका कर्मचारी फिर्ता नगर्न निर्देशन दिएको थियो । मन्त्रालयले कर्मचारी समायोजन ऐन, २०७५ अनुसार समायोजन र समायोजन मिलान भएका कर्मचारीलाई फिर्ता गर्न नमिल्ने जनाउँदैं उनीहरुलाई साविक बमोजिम हाजिरी गराएर व्यवस्थापन गर्न भनेको छ ।

तर, धनगढी उपमहानगरपालिकका नगर प्रमुख हमालले संघीय सरकारले स्वास्थ्य सेवाका कर्मचारीको तलबका लागि बजेट नदिएकाले समस्या भएको बताएका छन् । उनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलाको जस्तै बजेट विनियोजन नगरेपछि समस्या भएको बताएका हुन् ।

‘संघीय स्वास्थ्य मन्त्रालयले जो जताबाट आएको छ, उतै पठाउन पत्र पठाएको छ । स्वास्थ्य मन्त्रालयले बजेट पठाएको छैन । उहाँहरुको समस्या स्वास्थ्य मन्त्रालयसँग हो,’ उनले भने, ‘धनगढी उपमहानगरपालिकासँग मात्र होइन् । कैलाली र कञ्चनपुरका २२ वटा स्थानीय तहहरुले खर्च बेहोर्न नसक्ने भएपछि फिर्ता पठाउने निर्णय गरेका छौं ।’

कैलाली र कञ्चनपुरका २२ वटा स्थानीय तह प्रमुख र अध्यक्षहरूको बैठकले समायोजन तथा मिलान भएर आएका स्वास्थ्य सेवाका कर्मचारीहरुलाई तलबका लागि बजेटको अभाव रहेको भन्दै १ साउनदेखि हाजिर लगाउन नदिने निर्णय गरेका थिए ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ