२०८१ जेठ ६, आईतबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशस्वास्थ्य आपत्तकालीन कार्य संचालन केन्द्रको भवन हस्तान्तरण

स्वास्थ्य आपत्तकालीन कार्य संचालन केन्द्रको भवन हस्तान्तरण


धनगढी—विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपत्तकालीन कार्य संचालन केन्द्रको भवन हस्तान्तण गरेको छ । सोमबार स्वास्थ्य तालिम केन्द्र धनगढीमा विश्व स्वास्थ्य संगठनको सहयोगमा निर्माण गरिएको भवन हस्तान्तरण गरिएको हो ।

डब्लूएचओका नेपाल प्रमुख प्रतिनिधि डा. राजेश सम्भाजीराव पाण्डवले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका स्वास्थ्य आपत्तकालीन कार्य संचालन केन्द्रका प्रमुख डा. समीर अधिकारीलाई भवन हस्तान्तरण गरेका थिए ।

हस्तान्तरण कार्यक्रममा बोल्दै डा. पाण्डवले नेपाल सरकारको आवश्यकता तथा प्राथमिकताअनुसार विश्व स्वास्थ्य संगठनले काम गर्दै आइरहेको बताए । आपत्तकालीन स्वास्थ्य संचालन केन्द्रको आवश्यकता किन पर्दो रहेछ भन्ने कुरा कोभिड—१९ महामारीमा भोगिसकेको बताउँदैं उनले आपत्तकालीन स्वास्थ्य संचालन केन्द्र हुँदा तथ्यांकहरु संकलनको लागि पूर्ण प्राविधिक रुपमा काम गर्न सकिने बताए । उनले केन्द्र सही तरिकाले संचालन गर्न समेत आग्रह गरे ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका आपत्तकालीन कार्य संचालन केन्द्रका प्रमुख डा अधिकारीले केन्द्र स्वास्थ्य निर्देशनालय सुदूरपश्चिम प्रदेशलाई हस्तान्तरण गरे ।

डा. अधिकारीले महामारीको आपत्तकालीन समयमा काम गर्न सजिलो हुने र प्रदेश सरकारसँगै अन्य निकायसँग समन्वय गर्न केन्द्र प्रभावकारी हुने बताए । उनले भने, ‘सिमा नाका नजिकै भएका कारणले महामारी तथा विपद्का समयमा सुदूरपश्चिम प्रदेश सरकारसँग पनि समन्वय गर्ने सजिलो हुनेछ ।’

सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका निर्देशक डा. जगदीश जोशीले महामारी तथा विपद्को आपत्तकालीन समयमा समन्वय गर्न र स्वास्थ्यको दु्रत प्रतिक्रिया टिम परिचालन गर्न सजिलो हुने धारणा राखे ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ