२०८१ वैशाख २४, सोमबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशसेतीका नवनियुक्त मेसु डा. कमर भन्छन्, ‘सेती अस्पताल सुधार्ने सबै प्रयास गर्छु’

सेतीका नवनियुक्त मेसु डा. कमर भन्छन्, ‘सेती अस्पताल सुधार्ने सबै प्रयास गर्छु’


धनगढी—धनगढीस्थित सेती प्रादेशिक अस्पतालका नवनियुक्त मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. शेरबहादुर कमरले पदभार ग्रहण गरेका छन्। मंगलबार उनले अस्पतालको मेसुको जिम्मेवारी लिदैं पदभार सम्हालेका हुन्।

सोमबार सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले डा. कमरलाई मेसुको जिम्मेवारी दिएको थियो । त्यसअघि उनी अस्पतालको वरिष्ठ चिकित्सकका रुपमा कार्यरत थिए ।

सेतीका तत्कालीन मेसु डा. हेमराज पाण्डेयको महाकाली अस्पताल सरुवा भएपछि नयाँ मेसुको जिम्मेवारी डा. कमरले पाएका हुन् ।

पदभार ग्रहण गर्दै डा. कमरले आफ्नो कार्यकालमा अस्पतालको डेलिभरी सिस्टममा पर्याप्त सुधार गर्ने बताए। उनले अहिले पनि सेती अस्पतालमा थुप्रै राम्रा कामहरु सुरुवातको चरणमा रहेको र आफूले थप नयाँ योजनाहरु बनाएको बताए ।

‘अब हामीले लगत्तै वेबसाइट बनाउने तयारीदेखि लिएर इमर्जेन्सी र वार्डहरुमा रहेको कर्मचारी अभावको समस्यालाई समाधान गर्नेछौं,’ उनले भने, ‘यस्तै ओपीडीको भीड व्यवस्थापन, शल्यक्रियाको लागि बिरामीले भोग्ने सास्तीलाई हटाउने छौं।’

डा. कमरले आफू एक्लैले भन्दा पनि अस्पतालका सबै विभाग र व्यवस्थापन समितिलगायतले मिलेर काम गर्ने बताए । ‘म यसअघि महेन्द्रनगरको महाकाली अस्पतालमा बस्दा पनि कहिल्यै समस्या भएन्,’ उनले थपे, ‘अहिले पनि मलाई बाहिरको मान्छे भएको महसुस भएकै छैन।’

डा. कमरले मेसु जिम्मेवारीमा रहँदा पनि भ्याएसम्म बिरामी हेर्ने र वार्ड राउन्डमा जाने घोषणा गरे। यसअघिका मेसुहरुले भने बिरामी प्रायः कम हेर्ने गर्थे ।

को हुन् नवनियुक्त मेसु डा. कमर ?

गोरखामा जन्मिएका नवनियुक्त मेसु डा. कमर २०६३ सालमा मेडिकल अधिकृतका रुपमा सरकारी सेवा सुरु गरेका हुन् । त्यसपछि उनले २ वर्ष दोलखाको जिरी अस्पतालमा सेवा दिएका थिए ।

त्यसपछि राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान (न्याम्स)मा छात्रवृत्ति पाएर इन्टरनल मेडिसिनमा विशेषज्ञता हासिल गरेका थिए । एमडी सकेपछि ६ महिना महाकाली अस्पतालमा काम गरे । त्यसपछि डा. कमर सेती प्रादेशिक अस्पतालमा सेवा दिन थालेका हुन् । उनले सेतीमा इन्टरनल मेडिसिन विभाग प्रमुखलगायतको जिम्मेवारी रहेर काम गरिसकेका छन् ।

स्थानीय सरकारी स्कुलबाटै एसएलसी गरेका डा. कमरले महाराजगन्ज क्याम्पसबाट एचए उत्तीर्ण गरेका हुन् । उनले वि.सं. २०६१ सालमा त्रिवि चिकित्सा अध्ययन संस्थान महाराजगन्जबाट एमबीबीएस गरेका हुन् ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ