२०८१ वैशाख १७, सोमबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशसमुदायमा गरिएको परीक्षणमा ६० जनामा देखियो सिकलसेल एनिमिया ‘बाहक’

समुदायमा गरिएको परीक्षणमा ६० जनामा देखियो सिकलसेल एनिमिया ‘बाहक’


धनगढी—सेती प्रादेशिक अस्पतालले सिकलसेल एनिमिया तथा थालेसेमिया सम्बन्धी समुदायस्तरमा स्क्रिनिङ तथा अनुसन्धानका लागि गरएिको निःशुल्क स्वास्थ्य शिविरमा परीक्षण गरेका नमुनामा सिकलसेल एनिमिया ‘बाहक’ पाइएको छ । कैलालीको धनगढी उपमहानगरपालिका—१६ को घसिटा र वडा नं १७ को धुर्जन्नामा करिब ३ सय ५१ जनामा गरिएको परीक्षणमा ६० जनामा सिकलसेल देखिएको सेती प्रादेशिक अस्पतालका सामाजिक सेवा इकाई प्रमुख गौरीदत्त जोशीले बताए ।

धनगढी उपमहानगरपालिका—१६ को घसिटामा १ सय ३४ महिला र ३० पुरुषमा गरिएको परीक्षणमा २४ महिला र ६ जना पुरुषमा सिकलसेल देखिएको छ । वडा नं १७ को धुर्जन्नामा १ सय ३७ महिला र ५० जना पुरुषमा गरिएको परीक्षणमा २३ महिला र ७ पुरुषमा सिकलसेल देखिएको अस्पतालले जनाएको छ ।

समुदायमा गरिएको परीक्षणमा सिकलसेल बाहक (sickling) देखिएपछि उक्त नमुना इलेक्ट्रोफोसिस गरेर सिकलसेल, थालसेमिया वा अन्य छुट्याइने सामाजिक इकाई प्रमुख जोशीले बताए । ‘सिकलसेल देखिएपछि सरकारले प्रदान गर्दै आएको सेवामार्फत उपचार गर्दै आएका छौं,’ उनले भने ।

समुदायमा सचेतना बढ्दैं

धनगढी उपमहानगरपालिका—१७ धुर्जन्ना उत्तर खैरेनी टोलका भलमन्सा सियाराम चौधरी आफ्नो समुदायका मान्छेसँगै सिकलसेल परीक्षण गराउन शिविरसम्म आइपुगेका थिए ।

सिकलसेल एनिमिया तथा थालेसेमियाको समुदायस्तरमा जानकारीबारे हेल्थआवाजको प्रश्नमा भलमन्सा चौधरीले उक्त रोगबारे समुदायका मान्छे त्यति जानकार नभएकाले स्वास्थ्य संस्था तथा चिकित्सकले गराएको जानकारी समुदायसम्म पु¥याउने गरेको बताए ।

त्यसैगरी, धनगढी उपमहानगरपालिका—१७ की २५ वर्षीय आशा चौधरी सिकलसेल परीक्षणका लागि शिविरमा आएकी थिइन् । हातखुट्टा दुख्ने समस्या भएकाले भलमन्साले खबर गरेपछि परीक्षणको लागि आएको उनले बताइन् । ‘मामालाई सिकलसेल एनिमिया देखिएकाले मैले पनि परीक्षण गराएको छु,’ उनले भनिन् ।

विगत ६ वर्षदेखि स्वास्थ्य स्वयंसेविका रुपमा काम गरिरहेकी करुणा चौधरीले समुदायमा सिकलसेल एनिमिया सम्बन्धी जनचेतना जगाउने काम गरिरहेको बताइन् । ‘सिकलसेल एनिमिया तथा थालेसेमिया सम्बन्धी तालिम लिएका छौं,’ करुणा भन्छिन्, ‘लक्षण देखिएका तथा आफन्तमा सिकलसेल देखिएकालाई रगत परीक्षणको लागि स्वास्थ्य संस्था पठाउने गरेका छौं ।’


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ