२०८१ वैशाख १६, आईतबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशसुदूरपश्चिममा ५ लाखभन्दा बढी बालबालिकालाई दादुरा-रूबेला विरुद्धको खोप लगाइँदै

सुदूरपश्चिममा ५ लाखभन्दा बढी बालबालिकालाई दादुरा-रूबेला विरुद्धको खोप लगाइँदै

खोप अभियानको सामाजिक विकासमन्त्री साउदद्वारा उद्घाटन


धनगढी—सुदूरपश्चिम प्रदेशमा दादुरा—रूबेला खोप अभियान सेती प्रादेशिक अस्पतालबाट सुरू गरिएको छ । आइतबार एक कार्यक्रममाझ सामाजिक विकास मन्त्री झपटबहादुर साउदले खोप अभियानको उद्घाटन गरेका हुन्।

स्वास्थ्य निर्देशनालय राजपुर डोटीले सुदूरपश्चिम प्रदेशमा ५ लाख २३ हजार ८ सय ३९ जना बालबालिकालाई दादुरा–रुबेला विरुद्धको खोप लगाइने जनाएको छ । दादुरा–रुबेला खोप अभियान २०८०—८१ अन्तर्गत प्रदेशका ९ जिल्लामा खोप लगाउन लागिएको हो ।

आइतबार १३ फागुनदेखि प्रदेशभर एकसाथ सुरु हुने खोप अभियानमा ९ महिनादेखि ५ वर्षमुनिका २ लाख ९ हजार ७ सय ५५ जना र ५ वर्षदेखि १५ वर्षमुनिका ३ लाख १४ हजार ८४ जना बालबालिकालाई दादुरा–रुबेलाको खोप लगाउने लक्ष्य रहेको स्वास्थ्य निर्देशनालय डोटीका खोप कार्यक्रम स्रोत व्यक्ति मीनराज जोशीले जानकारी दिए ।

कैलाली र कञ्चनपुरमा ९ महिनादेखि १५ वर्षमुनिका र अन्य ७ जिल्लामा ९ महिनादेखि ५ वर्षमुनिका बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाउने योजना रहेको उनले बताए । उनका अनुसार कैलालीमा २ लाख ४० हजार ७ सय ५८, कञ्चनपुरमा १ लाख ६५ हजार ५ सय ३२, डडेल्धुरामा ११ हजार ८ सय २३, डोटीमा १८ हजार २ सय ९५ र बैतडीमा २१ हजार ३ सय २४ जना बालबालिकालाई खोप लगाइनेछ ।

दार्चुलामा १० हजार ४ सय १०, बझाङमा १८ हजार ३ सय ७६, बाजुरामा १३ हजार ९ सय ४२ र अछाममा २३ हजार ३ सय ७९ जना बालबालिकालाई दादुरा–रुबेलाको खोप लगाउने लक्ष्य रहेको उनले बताए ।

प्रदेशभर खोप अभियानमा ६ हजार ७ सय ६४ स्वास्थ्यकर्मी परिचालन गरिएको छ । यस्तै, ८ हजार ३ सय ४० जना स्वयंसेवक खटिने तथा ३ हजार ३ सय ८२ वटा खोप सेसन रहने स्वास्थ्य निर्देशनायका निर्देशक डा. जगदीश जोशीले बताए । ‘दादुरा —रूबेलाबाट कैलाली र कञ्चनपुर बढी जोखिममा छ,’ उनले भने, ‘खोप अभियानमा दादुरा–रुबेला खोप बाहेक नियमित खोप लगाउन छुटेका बालबालिकाको पहिचान गरी नियमित खोप पनि लगाइनेछ ।’

हाल सुदूरपश्चिम प्रदेशमा १ सय १५ दादुराका बिरामी रहेको निर्देशनालयले जनाएको छ । जसमध्ये बाजुरामा १८, कैलालीमा ५९ र कञ्चनपुरामा ३८ जना बिरामी रहेको जनाइएको छ । सरकारले सन् २०२६ सम्ममा दादुरा निवारण गर्ने लक्ष्य राखेको छ ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ