२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचारडा. अन्जनीकुमार झा भन्छन्, ‘महामारी नियन्त्रणका लागि छुट्टै दीर्घकालीन संरचना चाहिन्छ’

डा. अन्जनीकुमार झा भन्छन्, ‘महामारी नियन्त्रणका लागि छुट्टै दीर्घकालीन संरचना चाहिन्छ’


नेपाल चिकित्सक संघ (एनएमए)का पूर्व अध्यक्ष डा. अन्जनीकुमार झा हक्की स्वभावका चिकित्सक मानिन्छन् । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अध्यक्ष समेत भइसकेका डा.झा नेपाल सरकारले ल्याएका विभिन्न नीतिहरुमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । नेपाल चिकित्सक संघले शनिबार आयोजना गर्न लागेको पहिलो ‘राष्ट्रिय स्वास्थ्य सम्मेलन’ को को—चेयर समेत रहेका डा. झासँग सम्मेलनले स्वास्थ्य क्षेत्रको नीतिगत तहमा के योगदान गर्न सक्छ भन्ने विषयमा हेल्थआवाजले गरेको कुराकानीः

राष्ट्रिय स्वास्थ्य सम्मेलनको अवधारणा कसरी आयो ?
कोभिड–१९ महामारीले गर्दा समाजमा एउटा कठिन परिस्थिती आयो । सबै घरमा बस्ने अवस्था आयो । कोभिडका संख्या बढ्दै गयो । चिकित्सकहरु घरमा बस्न छाडेर उपचारका लागि जानैपर्ने बाध्यात्मक अवस्थामा आयो । यसमा हाम्रो स्वास्थ्य क्षेत्रमा मन्त्रालयमा तयारी अवस्थामा बस्नुपर्ने थियो । त्यसमा धेरै कमी—कमजोरीको बाबजुद पनि चिकित्सकहरु बिरामीहरुसँग लड्न पर्ने, भिड्नपर्ने, औषधीको व्यवस्था, अक्सिजनको अभाव, मानसिक तनाव मानिस बितिसकेपछि चिकित्सकमाथि हातपात यी सबै अनुभवहरु भयो । महामारीले सारा संसारलाई नै छोएको थियो ।

यी सबैको अन्तर्राष्टिय अनुभवलाई हेर्दै यसबाट भविष्यमा आउन सक्ने महामारीलाई मध्यनजर गर्दै स्वास्थ्य क्षेत्रलाई कसरी तयारी अवस्थामा राख्न सकिन्छ भनेर अनुभवको आधारमा समिट गरियो भने स्वास्थ्य क्षेत्र राम्रो हुन्छ । भोलिका दिनमा फेरि यस्ता घटना घट्दा कसरी तयार रहन सक्छौं । यी सबै कुराहरुको अन्तरक्रिया गर्नका लागि नेपाली समाज नेपाली चिकित्सक यहाँका नीति निर्धारण गर्ने राजनीतिक पार्टी, स्वास्थ्य मन्त्रालयलाई सबैलाई एक किसिमको सन्देश जाओस र टिकाउ रहोस् भन्नका लागि गरिन लागिएको हो ।

किनभने कतिपय घटनाहरु क्षणिक अवधिपछि बिर्सिन्छ त्यस्तो नहोस्, फेरि सम्झेर गर्नुभन्दा अनुभवले गाउँ नगर क्षेत्र र पोलिसी लेभलमा बसेकाहरुको अन्तरक्रिया र अन्तर्राष्ट्रिय अनुभव यी सबै अहिले नै तातिएर भन्न सकियो बोल्न सकियो र । एउटा प्रस्ताव तयार पार्न सकियो भने निकै राम्रो हुने उद्देश्य लिएर नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले सबैलाई सहभागिता गराएर गर्न लागिएको हो ।
कोभिड—१९ महामारीमा हाम्रो देशको तयारी कस्तो देखियो ? तपाईले तत्कालीन व्यवस्थापन कस्तो देख्नुभयो ।

प्रारम्भिक अवस्थामा गफ धेरै भयो । तर, अवस्था भने दयनीय थियो । चाहे मास्क होस्, स्यानीटाइजर होस्, अक्सिजनको अवस्था, बेडको अभाव यी सबैको अवस्था दयनीय थियो । त्यसबेलादेखि नै नेपाल चिकित्सक संघले आवाज उठाउँदै गयो । विस्तारै सबैले अनुभव गरे । विभिन्न किसिमका व्यापारीले भ्याक्सिन ल्याए । जुन ल्याउन पनि कतिसम्म तमासा गर्नुप¥यो । कठिन अवस्था थियो । यी सबै कुरामा आवाज उठाउँदा—उठाउँदा अवस्था अलि सहज हुन आयो । जो यसको सम्पूर्ण जिम्मेवारी लिएर बसेका थिए, ती व्यक्तिहरुले गम्भीरतापुर्वक यसलाई लिएका थिएनन् । कतिपयले मौका मानेर फाइदा गर्न पनि लागेको सुनेको थियौं, त्यो वास्तविकता पनि थियो ।

वि.सं. २०७२ सालमा भूकम्पमा चिकित्सक, स्वास्थ्यकर्मीले ठूलो भूमिका खेलेका थिए । त्यो आकस्मिक थियो । तर, ६ वर्षसम्म ठूलो विपत्तिको तयारीमा सरकारले नगरेको देखियो होइन् ?
७२ सालको भूकम्प जाँदा म चिकित्स संघको अध्यक्ष नै थिए । यही घरमा धेरैले सहारा लिएर बस्थे । त्यो बेलाको विपद्मा केही सहजता पनि थियो । तर, यो महामारी फरक छ । हाम्रो मुलुकमा कुन कुरा कहाँबाट संचालन हुने भन्ने ठोस निर्णय नै छैन । कहिले स्वास्थ्य मन्त्रालय भनेको छ, कहिले गृह मन्त्रालय कमिटी बनेको छ, बिग्रेको छ । त्यसैले यो समिटले आइपर्ने महामारी नियन्त्रणका लागि एउटा स्वास्थ्य मन्त्रालयअन्तर्गतको स्थायी शाखा बनाउने हाम्रो परिकल्पना हो ।

जसले बेला—बेला तालिम गराउने जस्तैः महामारी आउँदा के गर्ने, कस्तो नीति बनाउने, आवश्यक सामाग्री जुटाउने, त्यसका लागि कानुनका प्रक्रियाहरु आवश्यक पर्दो रहेछ, ती सब कुराहरु समावेश गर्ने जिम्मेवार व्यक्तिहरुसहितको शाखा बनाउने उद्देश्य रहेको छ । ताकी हामी महामारी आउँदा सुरक्षित हुने सम्भावना बढी हुन्छ ।

सरकारले नेशनल डिजिज कन्ट्रोलको परिकल्पना गरेको छ । तर, त्यो अघि बढ्न सकेको छैन् । यदि त्यो आयो भने तपाईंहरुको योजनामा केही सहज हुन्छ कि ?
हामीले बुझ्ने भाषामा कुरा गर्दा महामारी नियन्त्रणका लागि एउटा शाखा स्थापना गर्नै पर्छ । जसमा टिमले जहिले पनि कहाँ, कसरी महामारी आउँदा काम गर्ने ? त्यसको सरसल्लाह नियम—कानुनको आवश्यकता बढी छ । यो व्यवस्था आयो भने पनि ठिकै छ । तर, यसमा यो टिमले गर्ने काम र जिम्मेवारी नै यही हो भनेर स्पष्ट रुपले बनायो भने राम्रै हुन्छ ।

तपाईहरुले पहिलेदेखि नै दिइरहेको कतिपय सल्लाहमा त चासो नदिइहेको बेलामा यो एजेन्डालाई सरकारले स्वीकृती दिन्छ भन्नेमा कसरी विश्वस्त हुनहुन्छ ?
वि.सं. २००७ सालमा संगठन स्थापना भएदेखि नेपाली समाजमा स्वास्थ्य क्षेत्रमा जे—जस्ता परिवर्तन आए चिकित्सक संघ त्यसको अंशियार नै हो । हालसम्ममा जो—जो चिकित्सक संघमा आए, घचघच्चाएर सरसल्लाह गरेर नै हामीले नेपालको स्वास्थ क्षेत्र र स्वास्थ्य शिक्षामा दिइरहेका छौँ । यसो भन्दै गर्दा हामीले सम्पूर्ण श्रेय लिन खोजेका हैनौं । तर, मेजर पात्र जहिले पनि संघ रहेको छ । हामीले जति चाहेको हो । त्यहीअनुसार सरकारको निश्चित आफ्नो लिमिटेसनले नगरेको होला । तर, जे जति गरेको छ । केही हिस्साको जिम्मेवारी हामी पनि लिन्छौं । त्यसैले, सरकारले हामीले भनेको कुरा अनुमोदन गरेको छैन भन्न मिल्दैन् । सम्पूर्ण कुरा गर्ने गाह्रो कुरा हो ।

जस्तो कि अस्पतालको गुणस्तर, चिकित्सक दरवन्दी, चिकित्सा शिक्षाका कुराहरु । ती माग पूरा गरेमा स्वास्थ्य क्षेत्रमा राम्रो नै हुन्थ्यो । तुलनात्मक रुपमा आधुनिकरण र वैज्ञानिककरण भैराखेको छ । तर, अलि गति सुस्त भएको छ । उपकरण र पूर्वाधारमा गर्नुपर्ने सरकारले जति गर्नुपर्ने लगानी त्यो गरेको छैन । तर, यसको विकासमा सरकारले पनि गरेको छ, हाम्रो कुरा पनि स्वास्थ्य निकायले सुनेको पनि हो ।

भोलि हुने सम्मेलनबाट सरकारलाई दिने तपाईंहरुको मुख्य सन्देश के हो ?
हामीले दिन खोजेको सन्देश स्वास्थ्य नीतिगत परिवर्तनका लागि नै हो । महामारीमा हामीले विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय संस्थाबाट आवश्यक स्वास्थ्य सामग्री वितरण गरेको हौं । त्योबाहेक मुख्य काम भनेको नीतिगत रुपमा सरकारले आफ्नो नीतिमा परिमार्जन गर्नुपर्छ ।

महामारीका लागि समिट बनाउनुपर्छ, स्वास्थ्य क्षेत्रमा जनशक्ति बढाउनुपर्छ । अस्पतालहरुमा उपकरण थप गर्ने र पुराना उपकरण हटाएर आधुनिकरण गर्नुपर्छ । चिकित्सक नपुगेका गाउँ—गाउँमा एलोप्याथीक मेडिसिनमा चाहिने ल्याब इन्भेस्टीगेसन र औषधीहरुको अधिकतम व्यवस्थाको उपलब्ध गराओस् भन्ने हाम्रो सन्देश हो । यस समिटको फोकस भनेको यी सबै कुरा देशको सम्पूर्ण निकायले सुनिदेओस भन्ने नै हो ।


क्याटेगोरी : अन्तर्वार्ता / विचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ