२०८१ वैशाख १७, सोमबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचारनवौं शिखर सम्मेलन र स्वास्थ्य अनुसन्धानको अबको बाटो

नवौं शिखर सम्मेलन र स्वास्थ्य अनुसन्धानको अबको बाटो


नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले प्रत्येक वर्ष आफ्नो स्थापना दिवसको अवसर पारी राष्ट्रिय शिखर सम्मेलन गर्दै आएको छ । विगतका वर्षहरुझैं यसवर्ष पनि परिषद्ले यही मिति २०७९ साल चैत २८ र २९ गते तदनुसार ११ र १२ अप्रिल, २०२३ का दिन ‘स्वास्थ्यका लागि अनुसन्धानः कार्यान्वयनका लागि तथ्य र अन्वेषण’ भन्ने नाराका साथ नेपालमा स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरूको नवौं राष्ट्रिय शिखर सम्मेलन आयोजना गरेको छ ।

यस सम्मेलनमा देश तथा विदेशबाट गरी विभिन्न अनुसन्धान विज्ञहरु तथा नीति योजनाकारहरुको सहभागिता रहेको छ । समेलनका लागि हामीलाई जम्मा २०३ वटा अब्स्ट्याक (abstract) हरु प्राप्त भएका थिए । सो मध्येबाट हामीले तोकेको मापदण्डअनुसार १२३ वटा पोष्टर प्रस्तुतीकरणकालाई छनौट भएका छन् भने ३८ वटा मौखिक प्रस्तुतीकरण छनौट भएका छन् । त्यसैगरी २९ वटा Invited talked का लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरुलाई आमन्त्रण गरेका छौं ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले स्थापनाकालदेखि नै नेपालमा स्वास्थ्य अनुसन्धानको प्रवर्द्धन र नियमन गर्नका साथै तथ्यमा आधारित नीति निर्माणमा सहयोग पुर्‍याउँदै आएको छ । यसका अतिरिक्त परिषद्ले युवा अनुसन्धानकर्ता र विद्यार्थीहरूलाई तालिम, कार्यशाला गोष्ठी र अन्य क्षमता अभिवृद्धिका गतिविधिहरू संचालन गर्दै अनुसन्धान संस्कृतिको विकास गर्दै आएको छ । स्वास्थ्य अनुसन्धानको दायरा फराकिलो बनाउने अभिप्रायले विभिन्न रोगहरुका लागि अध्ययन अनुसन्धानका सेन्टर फर एक्सीलेन्स (center for excellence) को अवधारणालाई अंगीकार गर्दै विभिन्न शैक्षिक संस्थाहरु, प्रतिष्ठानहरु, केन्द्रहरुसँग सहकार्य र सम्झौता गरी अनुसन्धान संचालन गर्ने र गराउने कार्य गरिरहेका छौं । यसका साथै परिषद्को संरचनालाई प्रदेश तहसम्म विस्तार गरी सेवा प्रदान गर्न निरन्तर प्रयत्नरत छौं ।

नेपालको स्वास्थ्य अनुसन्धानलाई अन्तर्राष्ट्रिय मापदण्डअनुरुप संचालन गर्नका लागि परिषद्ले विभिन्न कार्यहरु गर्दै आइरहेको छ । यसै अनुरुप परिषद् अन्तर्गत रहेको ईआरवी (ERB) ले एफईआरसीएपी (FERCAP) बाट सन् २०१९ देखि अन्तर्राष्ट्रिय सम्बन्धन प्राप्त गरेको छ । त्यसैगरी, हामीसँग International peer reviewed pubmed index जर्नल पनि रहेको छ साथै अनलाइन लाइब्रेरी पनि उपलब्ध छ ।

यसका साथै अनुसन्धान कार्यलाई आचारसंहिताको दायरामा राखी अनुसन्धान कार्यहरु संचालन गर्ने र गराउने उद्देश्यले विषय विज्ञ सम्मिलित टोलीबाट नियमित रुपमा स्थलगत अनुगमन मूल्याकंनको कार्य पनि हुँदै आएको छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले ऐन, २०४७ का व्यवस्थालाई टेकेर राष्ट्रिय महत्व र आवश्यकताको विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशन, विकासका साझेदार संघसंस्थाहरुसँगको सहकार्य तथा समन्वयनमा परिषद् आफैले अनुसन्धानका विभिन्न कार्यहरु पनि संचालन गर्दै आइरहेको छ । जस्तो : राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण, सिकलसेल एनिमिया सर्वेक्षण तथा जनसंख्यामा आधारित नेपालमा नसर्ने रोगहरुको सर्वेक्षण, जनसंख्यामा आधारित क्यान्सर रजिष्ट्रीजस्ता अनुसन्धानहरुलाई उदाहरणको रुपमा लिन सकिन्छ । त्यस्ता अनुसन्धानहरुबाट प्राप्त तथ्य र प्रमाणहरुलाई नीति र योजना निर्माणमा तहमा पुयाउनको लागि परिषद्ले निरन्तर रुपमा पैरवी गर्दै आएको छ ।

देशभित्र अनुसन्धान संस्कृति (Research culture) बढाउँदैं जाने परिषद्को योजनाअनुरुप हामीले हरेक विश्वविद्यालयहरुमा अनुसन्धान शाखा, पब्लिकेसन शाखा तथा इथिकल रिभ्यु शाखा हुनुपर्छ भनी आवाज उठाइरहेका छौं । स्वास्थ्य अनुसन्धानकर्ताको क्षमता अभिवृद्धि गर्ने र गराउने साथै स्नातकोत्तरको अनुसन्धान कार्यमा सबै विद्यार्थीहरूलाई अनिवार्य रुपमा अनुसन्धानसँग सम्बन्धित प्रशिक्षणहरु प्रदान गर्ने योजनामा छौं । त्यसैगरी अनुसन्धानसँग सम्बन्धित आचारसंहिताको मुद्धाहरुलाई सुदृढ गर्नलाई इन्स्टिच्युसनल रिभ्यु कमिटी (Institutional Review Committee) लाई थप सशक्त बनाउन हरपल प्रयास गरिरहेका छौं ।

विश्वव्यापी रुपमा बद्लिदो परिवेश बमोजिम अनुसन्धानलाई थप परिष्कृत र सबल बनाउन बायोमेडिकल/जिनोमिक रिसर्च, क्लिनिकल रिसर्च लगायतको क्षेत्रमा अनुसन्धानात्मक कार्य अगाडि बढाउने परिषद्को योजना रहेको छ । सो कार्यका लागि आवश्यक अनुसन्धानसँग सम्बिन्धत प्रयोगशाला निर्माण कार्य, क्लिनिकल ट्रायल रजिष्ट्रीका साथ अन्य रोगहरुको विषयगत रजिष्ट्रीको व्यवस्थित संचालनजस्ता विषयमा परिषद्ले विशेष जोड दिदैं जानेछ ।

यसैगरी, हाम्रो पहिचानको रुपमा रहेको औषधिजन्य जडिबुटीको अध्ययन अनुसन्धानका लागि ड्रग डेभलपमेन्ट लगायतका अनुसन्धानात्मक कार्यलाई प्राथमिकतामा राखिएको छ । साथै, यस परिषद्ले देशमा पाइने विभिन्न प्रकारका जडिबुटीको बारेमा अध्ययन अनुसन्धान गरी आयुर्वेद चिकित्सा पद्धतिमा थप टेवा पुर्‍याउने कोशिस गरिरहेको छ ।

त्यस्तैगरी आर्टिफिसियल इन्टेलीजेन्सलाई हरेक अनुसन्धान कार्यमा जोड्दै लाने योजना परिषद्ले लिएको छ । साथै, परिषद्का क्रियाकलापहरुलाई डिजिटलाईज गर्ने प्रयासमा परिषद् निरन्तर लागि परेको छ ।

स्वास्थ्यका क्षेत्रका अध्ययन तथा अनुसन्धान कार्यमा नवीनतालाई प्रोत्साहन गरी प्राप्त तथ्यहरुलाई व्यवहारिक रुपमा रुपान्तरण गर्दै सरकारसँगको सहकार्यलाई पनि बढावा दिनेछ भन्ने कुरामा हामी विश्वसत रहेको छौं । स्वास्थ्य क्षेत्रका लक्ष्यहरु प्राप्त गर्न, नीति निर्माणमा अनुसन्धानबाट प्राप्त नतिजाहरुको प्रयोगको महत्व बढ्दो रहेको हुँदा नेपाल सरकारले स्वास्थ्य अनुसन्धानमा लगानी बढाउने, नवप्रर्वतनलाई प्रोत्साहित गर्नुको साथै व्यवहारिक समस्या समाधानहरुमा रुपान्तरण गर्न शैक्षिक संस्थाहरु, उधोगहरु बीचको सहकार्यलाई पनि बढावा दिनेछ ।

अन्त्यमा, खोज र अनुसन्धानबाट प्राप्त निष्कर्षमार्फत देशको समग्र स्वास्थ्य क्षेत्रको सुधारमा यस सम्मेलनले महत्वपूर्ण भूमिका खेल्नेछ भन्ने विश्वास हामीले लिएका छौं । साथै यस सम्मेलनबाट प्राप्त नतिजाहरुलाई एकै ठाउँमा राखी विज्ञहरुसँग पुनः छलफल गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत नेपाल सरकारलाई पठाइने छ । यस शिखर सम्मेलनको भव्य र सभ्य सफलताको लागि सबैको साथ र सहयोगको अपेक्षा गर्दछु ।

(डा. ज्ञवालीले नवौं स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको राष्ट्रिय शिखर सम्मेलनका अवसरमा दिएको मन्तव्यको सम्पादित अंश)


क्याटेगोरी : अन्तर्वार्ता / विचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ