२०८१ वैशाख २०, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचार‘अहिलेका अस्पतालहरु पैसा कमाउने उद्देश्यले मात्र खुलेका छन्’

‘अहिलेका अस्पतालहरु पैसा कमाउने उद्देश्यले मात्र खुलेका छन्’

‘जनताको स्वास्थ्यप्रति कोही उत्तरदायी भएन’


नवराज सुवेदी पञ्चायतकालका एक प्रभावशाली नेता हुन् । पहिलोपटक ३० वर्षको उमेरमा मन्त्री भएका उनी त्यसपछि पनि पटक-पटक मन्त्री भए । वि.सं. २०३६ सालको जनमत संग्रहपछि गृह मन्त्रालयसँगै स्वास्थ्य मन्त्रालयको पनि कार्यभार सम्हाले ।

वीर अस्पताल (हालको पूरानो भवन)को आधुनिकीकरणका परिकल्पनाकार पनि उनै हो । स्वास्थ्यमन्त्री भएका बेला सुवेदीले पहिलोपटक वीरमा ४ चिकित्सकलाई विशेषज्ञ पढ्न विदेश पठाएर अर्थो, न्युरो, मुटु र युरोलोजी विभागको जग बसाए । पञ्चायतकालको स्वास्थ्य नीति, प्रणाली र पछिल्ला स्वास्थ्य अवस्थाका विषयमा हेल्थआवाजले सुवेदीसँग गरेको कुराकानीः

वि.सं. २०३६ सालमा तपाईंलाई स्वास्थ्य मन्त्रालयको नेतृत्व गर्ने अवसर कसरी प्राप्त भयो ?
वि.सं. २०३६ सालमा जनमत संग्रह भयो, त्यो बेला म मन्त्री थिइन । जनमतमा पञ्चायतको पक्षमा काम गरें । सुर्यबहादुर थापा प्रधानमन्त्री हुनुहुन्थ्यो, उहाँ पञ्चायतलाई भोट दिने भन्ने पक्षमा हुनुहुन्थ्यो । हामी दुई जना एक वर्षमा ७५ वटै जिल्ला दोहोर्‍याइ, तेहेर्‍याइ घुम्यौं ।

नतिजा पञ्चायतकै पक्षमा आयो । पञ्चायतले जितेपछि राजाले मलाई सबै कार्यकर्ता काठमाडौं आउछन्, उनीहरुको चित्त बुझाउनुपर्छ, सबै कार्यकर्तासँग भिजेको तिमी हौं अरुले मान्छे चिनेको छैन त्यसकारण गृह मन्त्रालय तिमीले सम्हाल भन्नुभयो । मैले हुन्छ भने । जनमतको रिजल्ट आएपछि म गृहमन्त्री भए । अधिराज्यभरका कार्यकर्ता सबै काठमाडौं आए । सबैको धारणा मेरो कारणले पञ्चायत जित्यो भन्ने भयो । तिनलाई खुसी पारेर पठाउनुपर्यो । बडो कठिन काम थियो । जे होस् एक वर्षमा मैले गृहमन्त्री भएर कार्यकर्तासँग डिल गरें । तर, म अति व्यस्त भए ।

गृहबाट स्वास्थ्यमा जाने अवसर कसरी आयो ?
आफ्नै साथीहरुलाई पनि त्यति टाइम दिन सकिनँ । उनीहरु पनि रिसाए । अनि मैले एकदिन राजालाई सरकार मलाई गृहबाट बिदा दिइबक्सोस् भने । त्यसो भए तिमीले स्वास्थ्य हेर्देउ भन्नुभयो । विकास र पञ्चायत त तिमीबाहेक अरुलाई दिने स्थितिमा म छैन, त्यसमा प्लस एउटा स्वास्थ्य मन्त्रालय थपिदिन्छु । गृहको सट्टा त्यो तिमीले हेर्देउ भन्नुभयो । त्यो बेला स्वास्थ्य भनेकै त्यही वीर अस्पताल भन्ने थियो ।

हुकुम भयो तर बिल्डिङ छैन । भर्खर त्रिवि शिक्षण अस्पताल सुरु भएको थियो । अरु कुनै हस्पिटलहरु आएको थिएन । एउटा प्रसुति गृह भर्खर सुरु भएको थियो । मैले राजालाई भने, ‘त्यसो भए मलाई एउटा बिल्डिङ बनाउन र विशेषज्ञ सेवाहरु वीर हस्पिटलमा राख्नको निम्ति सरकारबाट सहयोग पाउनुपर्छ ।’ राजाबाट हुन्छ भन्ने हुकुम भयो । म स्वास्थमन्त्री भए ।

स्वास्थ्यमन्त्री भएपछि पहिलो काम के गर्नुभयो ?
मेरो पहिलो इच्छा चन्द्रशम्शेरले बनाएको पूरानो भवनको साटो अलि ठूलो मोर्डन भवन बनाउनु थियो । राजालाई पहिले नै भनेर आएको थिए, पुनः सम्झाए । राजाबाट जापानिज, जर्मन वा स्वीजरल्यान्ड कसैले बनाइदिन्छ कि एक पटक कुरा गर भन्नुभयो । मैले राजदूतहरुलाई बोलाएर कुरा गरें, कोही तयार भएनन् । भारत भने बनाउन तयार भयो । त्यहीबेला अहिलेको ट्रमा सेन्टर पनि एउटा बनाई दिनुप¥यो भनेर प्रस्ताव राख्यौ । भारतीय राजदुतले १५ दिन समय मागे । राजदुतले दिल्लीसँग कुरा गरेपछि त्यो सहमति भयो ।

त्यो सहमतिअनुसार भवन बन्यो तर पहिलेको डिजाइनभन्दा फरक बन्यो । सहमतिमा दुई वटा भवनको बीच (पूरानो मुख्य भवन र हाल सर्जिकल भवन भए ठाउँमा) तलबाट महाबौद्ध जाने बाटो बनाएर माथि विल्डिङ बनाउने प्लानिङ थियो । म एक डेढ वर्ष बसें स्वास्थ्यमा । म निक्लेपछि त्यो नक्सा पनि परिवर्तन भएछ । कसले परिवर्तन गरेछ, मलाई इन्ट्रेस्ट हुने कुरा पनि भएन । आफू हुन्जेल गरेको थिए । ट्रमा सेन्टर अहिले जहाँ बनेको छ, त्यही बनाउने भनेर भनिएको थियो । त्यहाँ पहिले एउटा ठूलो औषधि पसल थियो । त्यही विल्डिङ भत्काएर ट्रमा सेन्टर बनाउने भनेर एग्रिमेन्ट भएको मेरै पालामा हो ।

तपाईं मन्त्री हुँदा वीर अस्पतालमा कस्ता कस्ता सेवाहरु थिए ?
वीरमा न अर्थोपेडिक सेक्सन थियो, न हार्टको सेक्सन नै । डा. मृगेन्द्रराज भएपछि उहाँ हर्टको सेक्सन, डा. ज्वालाराज भएपछि अर्थोपेडिकजस्तो । मैले हार्ट, अर्थोपेडिक शल्यक्रिया गर्ने, युरोलोजी र न्यूरोलोजी विभाग बनाउन पहल गरे । राजासँग कुरा गरेर एकैपटक ४ जनालाई छात्रवृत्तिमा पठाउने निर्णय गरे । जसमा न्यूरोलोजीमा डा. दिनेशनाथ गंगोल, युरोलोजीमा डा. विश्वराज दली, मुटुमा डा. लोकविक्रम थापा र अर्थोपेडिकमा डा. ज्वाला राज पाण्डेलाई बेलायतसँग कुरा गरे । बेलायतले हामी छात्रवृत्ति दिन्छौं भनेपछि चार नाम मैले पठाए । पठाएको ८—१० दिनपछि डा. दिनेशनाथ गंगोल आएर भन्नुभयो, ‘ए हजुर म त नजाने भए । म जान पाइनँ ।’ मैले तपाईंको नाम गइसकेपछि कसरी नजानेभन्दा उहाँले भन्नुभयो, ‘होइन हजुर मेरो हजुरबुवा १०१ कि १०२ वर्षको हुनुहुन्छ, म जाने भएपछि बुवाले रोएर कराउनुभयो ।’

मलाई त बडो गाह्रो पर्‍यो, मेरो नाम काटिदिनुपर्‍यो भने । तपाईंको ठाउँमा कसलाई पठाउनु त भन्दा डा. उपेन्द्र देवकोटाको नाम दिनुभयो । डा. उपेन्द्रलाई चिनाउनुभयो । अनि मैले बेलायती राजदूतलाई नाम चेन्ज गर्दिनु भने । राजदूतले यो सम्भव छैन भने । मैले सम्भव नभएकोलाई सम्भव बनाउने त तपाईं हाम्रो काम हो, यो त गर्नुपर्‍यो महामहिम भनेपछि उहाँले म ट्राई गर्छु भन्नुभयो । २—३ दिनपछि डा. उपेन्द्रको कन्फर्मेसन आयो । एक वर्षको ट्रेनिङ थियो । उहाँहरु सकेर आएपछि वीर अस्पतालमा अर्थोपेडिक, हर्ट, युरोलोजी, न्यूरोलोजी सेक्सन खुल्यो । डा. गंगोल आएर भन्नुभयो, ‘हजुरले उपेन्द्रलाई न्युरोलोजी पढाउनु भयो । यो भवनको माथि एक तल्ला हामीलाई न्युरोलोजी बार्ड बनाउन हजुरले पैसाको जोगार गर्दिनुस् ।’

मेरो समय सकिन लागेको थियो, कहाँबाट ल्याउने पैसा बडो मुस्किल छ भने । पछि मैले स्वास्थ्य सचिवलाई १५—२० लाख रुपैयाँ कहीँबाट रकमान्तर गरेर पनि ल्याउनुस र यो वीर हस्पिटलमा न्युरो सेक्सन खोल्नलाई पैसा दिनुस् भने । पैसा दिएपछि उहाँहरुले भवनमाथि एक तल्ला बनाउनुभयो । अहिले पनि राम्रै चलाएका छन् । डा. उपेन्द्रले सुरुमा त्यही काम गरेका हुन् । डा. उपेन्द्र, डा. बसन्त पन्त र डा. गोपालरमण शर्मा तीन जना भएर त्यहाँ ५०—६० वेडको न्यूरो वार्ड नै चलाए ।

स्वास्थ्यमन्त्री हुँदा नीतिगत कामहरु कतिको प्राथमिकतामा परे ?
डाक्टरहरुको सिनियर र जुनियर हुने क्रम र कोड मैले नै बनाएको हो । त्यो कोड बनाउँदा बडो गाह्रो भयो । विभिन्न देशले छात्रवृत्ति दिन्थ्यो पढेर आउथे । तर, छात्रवृत्तिमा पढेकाले करार गर्नुपर्ने व्यवस्था थिएन, अनिवार्य एक वर्ष दुर्गम क्षेत्रमा गएर बस्नुपर्ने मैले बनाइदिएको हो । त्यो समयको स्वास्थ्य नीति भनेको वि.सं. २०५७ सम्ममा एसियाली मापदण्डमा लैजाने लक्ष्य नै थियो ।

देशभर स्वास्थ्य सेवा प्रवाहको अवस्था कस्तो थियो ?
वीर हस्पिटल थियो, प्रसुति गृह थियो । म स्वास्थ्य मन्त्री हुँदा टिचिङ हस्पिटल बनाएर सकिन लागेको थियो । कान्ति बाल अस्पताल थियो । शान्त भवन थियो । म नै स्वास्थ्यमन्त्री हुँदा शान्त भवन र पाटन हस्पिटललाई मर्ज गराएको हो । नियममा त्यो बोर्डमा मन्त्री अध्यक्ष हुने भन्ने थियो तर म अध्यक्ष नबसेर तारादेवी भट्टराई र कल्याणमणि दीक्षितहरुसँग सदस्य भएर काम गरे । दुई वटालाई मर्ज गराएर त्यो उद्घाटन गरेपछि मैले छोडेको हो ।

त्यो बेलामा प्रत्येक गाउँ पञ्चायतमा एउटा स्वास्थ्य चौकी खोल्ने राजाको निर्देशन थियो । त्यो आधारबाट हामीहरुले स्वास्थ्य चौकीहरु खोल्दै गएका थियौं । सबै ठाउँ त खुलिसकेको थिएन । तर, सुरुवात भएको थियो । डाक्टर त कमै थिए । प्रत्येक पञ्चायतमा एउटा हेल्थ असिस्टेन्ट पुर्‍याउने नीति लिएका थियौं ।

मेसिनरीहरुले पनि काठमाडौं बाहिर सेवा दिइरहेका थिए नि होइन् ?
मेसीनरीहरुले चलाएको एउटा त शान्त भवन नै हो । अर्को पाल्पामा थियो । एउटा एरियामा नै मेसिनरी हस्पिटल राख्देको थियो । गोरखाको आँपपिपलमा सानो थियो । गोरखाको मेसिनरीले शिक्षामा प्रतिनिधित्व गरेको थियो, पाल्पाले हेल्थमा प्रतिनिधित्व गरेको थियो । ब्रिटिसहरुले धरानको घोपा क्याम्पमा स्वास्थ्यको व्यवस्था गरेका थिए ।

त्यो बेला नेपालमा चिकित्सकहरुको उत्पादन कसरी हुन्थ्यो ?
भारतबाट सर्टेन कोटाहरु आउँथ्यो, रसियाबाट पनि कोटा आउँथ्यो । पछि चाइनाबाट पनि कोटा आउन थाल्यो । त्यही कोटामा पठायो, त्यहीबाट पढेर आउँथे । अहिले पनि डाक्टरहरु हामीसँग धेरै छैनन् । अलिअलि पढायो, विदेश गइहाल्छन् । देश त खालीको खाली नै छ नि । अझै यहाँ डाक्टर पुगेको छैन ।

त्यतिखेर उपचार कत्तिको महंगो थियो ?
त्यो बेला उपचार महँगो थिएन, निःशुल्क उपचार हुन्थ्यो । वीर अस्पतालमा दिनको तीन टाइम खाना दिइन्थ्यो । बिहान चिया, विहानको खाना खाना, दिउँसो चिया बिस्कुट र बेलुका खाना दिइन्थ्यो । राम्रै खाना खुवाउँथ्यो, हप्तामा मासु पनि खुवाउथ्यो । हामीहरु बस्दा पनि त्यहीको खाना खान्थ्यौं । म मन्त्री भएर त्यहाँ दुई तीन पटक बिरामी भएर बसें । मैले पनि वीर अस्पतालकै खाना खाए । खाना मिठो थियो, सबै राम्रो थियो । पछि बिग्रदैं—बिग्रदैं हामी त कहाँ पुग्यौं कहाँ पुग्यौं ।

मन्त्रालयभित्र कर्मचारीहरुबीच राजनीति हुन्थ्यो कि हुँदैन थियो ?
मन्त्रालयभित्र त्यतिबेला राजनीति हुँदैन थियो । त्यतिखेर टे«ड युनियन थिएनन्, पार्टीका संगठन थिएनन् । त्यहाँभित्र राजनीतिको त कुरै छैन । सबै पञ्च नेपाली, सबै नेपाली । हाम्रो समयमा काम गर्नका निम्ति नेतृत्व थियो, इमान्दारिता थियो । मैले केही गरें, दुई पैसा खाए भने मेरो टाउकामा तरबार छ भन्ने हुन्थ्यो । राजाको हामीलाई त्यति डर हुन्थ्यो । अहिले जसले जति खाए पनि हुने, जति लुटेपनि हुने, काम गरे पनि हुने, नगरे पनि हुनेछ । त्यो बेलामा त्यस्तो थिएन ।

स्वास्थ्यको नीति नियम कसरी बनाइन्थ्यो ?
योजना बनाउँदा पहिले त मन्त्रालयले एउटै योजना बनाउँथ्यो । त्यसपछि हामी राजालाई पठाउँथ्यौं । राजा फेरि त्यहाँ बैंठक गर्नुहुन्थ्यो । त्यो बैठकमा छलफल भएर निर्णय भएपछि मन्त्रालयमा आएर मन्त्रीले भन्थे ।

त्यतिबेला अहिले जस्तो संचारमा सहज पहुँच थिएन । तल्लो तह बाट पनि सेवा प्रवाह हुन्थ्यो । मन्त्रालयसँग कसरी संचार हुन्थ्यो ?
मन्त्रीले सचिवलाई र सचिवले आफ्नो मातहतको कर्मचारीलाई भन्ने व्यवस्था थियो । तर, त्यो बेलामा अहिले भन्दा राम्रो थियो, आकाशवाणी थियो । आकाशवाणीबाट तुरुन्त जान्थ्यो, तुरुन्तै जवाफ आउँथ्यो । संचारमा पञ्चायतकालमा नेपाल भारतभन्दा राम्रो थियो । हामी धेरै माथि थियौं, अहिले इन्डिया कहाँ पुग्यो हामी घट्दैं—घट्दैं कहाँ पुगेका छौं ।

त्यतिबेला जटिल समस्याहरु पनि हुन्थ्यो होला ? नेपालमै उपचार नहुने अथवा गाउँतिर उपचार नहुने त्यस्ता जटिल केसहरुलाई कसरी व्यवस्थापन गरिन्थ्यो ?
केही केसहरुलाई त देशबाहिर पनि पठाइन्थ्यो । त्यस्ता घटना त्यतिबेला घटेका पनि छन् । एउटा उदाहरण त म आफै छु, म राष्ट्रिय पञ्चायतको अध्यक्ष हुँदा स्पोन्डीलाइटिस भएर म बेहोस भए । मलाई लगेर टेस्ट गर्दा तुरुन्तै मेरो शल्यक्रिया गर्नुपर्ने भयो । शल्यक्रिया एउटा जर्मनमा र एउटा न्युयोर्कमा हुँदोरहेछ । अनि राजाले न्युयोर्कमा पठाउँ भनेर हुकुम भयो, मेरो न्ययोर्कमा शल्यक्रिया भयो । त्यो बेलामा पनि केही जनताहरुलाई विदेश पठाएर उपचार गरिएको छ । हामीले कसैलाई चीनमा पठाएको थियौं, कसैलाई दिल्ली पठाएका थियौं ।

एउटा प्रसंग सुनाउ, राजा वीरेन्द्र र म किमाथांका गएका थियौं । त्यहाँको प्रधानपञ्चको आमा मोतियाबिन्दु भएर दुबै आँखा नदेख्ने हुनुहुँदोहेछ । राजाले आफ्नै हेलिकप्टरमा राखेर आफू किमाथांकामा बसेर धनकुटा क्याम्पमा उहाँलाई ल्याएर उपचार गराउनुभयो । धनकुटाकै शिविरमा शल्यक्रिया गरेर हेलिकप्टरबाट किमांथाका पुर्‍याएपछि बल्ल राजा त्यही हेलिकप्टर चढेर फर्किनुभयो । थाहा नभएको केस त थाहा नभएको भइहाल्यो, थाहा पाएको केसहरु भरसक दतारुकतासाथ उपचार गरिन्थ्यो ।

त्यो बेलामा राजाबाट नेपालको स्वास्थ्य कस्तो बनाउनुपर्छ भन्ने सल्लाह सुझाव हुन्थ्यो ?
राजा वीरेन्द्रको चाहाना स्वास्थ्य र शिक्षामा एसियाली मापदण्डभन्दा राम्रो हुनुपर्छ भन्ने थियो ।

अहिले नेपालमै स्वास्थ्यमा यति धेरै विकास हुँदाहुँदै अझै पनि नेताहरु विदेश धाउँछन् ? त्यो बेला राजा उपचारका लागि कुन देशलाई प्राथमिकतामा पर्थ्यो ?
राजा महेन्द्र बेलायत सवारी हुन्थ्यो । उहाँको हार्टको समस्या भएको हुनाले म मन्त्री भएको बेलामा तीन पटक बेलायतमा उपचारको लागि सवारी हुनुभयो । यहाँ नहुने समस्या नयाँदिल्लीमा उपचार गरिन्थ्यो ।

पहिले स्वास्थ्य संस्थामा पुग्न मुस्किल थियो, अहिले पुगेर पनि सेवा अति महंगो छ । त्यसलाई सहज बनाउन तपाईं के सुझाव दिनुहुन्छ ?
हाम्रो समयमा डाक्टरको फि पनि एउटै हुन्थ्यो । कसैले बढी लिने कसैले कम लिने, कसैले हजार रुपैंयाँ लिने र कसैले सात सय लिने गर्न पाइँदैन्थ्यो । एउटै रेट हुन्थ्यो । सबैले त्यही नियममा फी लिन्थे । त्यो बेलामा राजाको नेतृत्व थियो । अहिले न यसमा नेतृत्व छ, न जनताको सेवा सुविधा हेरौं भन्ने भावना छ । एक्सरे गर्न गयो भने एउटा हस्पिटलमा एउटा रेट छ, अर्को हस्पिटलमा अर्को रेट छ । त्यो रेट गभर्मेन्टले तोक्न सक्छ नि । तर, कसैलाई ध्यान नै छैन । त्यसरी हेर्ने पनि त चाहाना हुनुपर्‍यो, जनताप्रति म उत्तरदायी छु भन्ने भावना हुनुप¥यो । अहिले कसैमा त्यस्तो छैन् ।

पैसा हुने मान्छेलाई स्वास्थ्यमा खर्च भएको केही मत्लब भएन । तर, गाउँ घरका गरिब जनताहरुलाई स्वास्थ्य सेवा साह्रै मुस्किल पर्‍यो । त्यसमा सरकारले एकरुपता ल्याउनुपर्‍यो, गरिबहरुमा स्वास्थ्यको पहुँच पुर्‍याउनुपर्छ । अहिले खुलेका हस्पिटलहरु सेवाको भावनाले होइन्, पैसाको कमाउने भावनाले खुलेका छन् । स्वास्थ्य त सेवा भावनामा जानुपर्ने चिज हो नि त्यसको कमी भयो ।


(पूर्वमन्त्री सुवेदीसँगको विस्तृत भिडियो अन्तर्वार्ता केही दिनमा हेल्थआवाजमा हेर्न सकिनेछ ।-सं.)


क्याटेगोरी : अन्तर्वार्ता / विचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ