२०८१ वैशाख १९, बुधबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचारमाघे संक्रान्ति : स्वास्थ्यसँग संस्कृति जोड्ने प्रयासको पर्व

माघे संक्रान्ति : स्वास्थ्यसँग संस्कृति जोड्ने प्रयासको पर्व


डा. वासुदेव उपाध्याय
महानिर्देशक तथा वैकल्पिक चिकित्सा विशेषज्ञ
वैकल्पिक तथा आयुर्वेद चिकित्सा विभाग, टेकु ।

परापूर्व कालदेखि नै नेपाली समाजमा माघ १ लाई माघे संक्रान्तिको रुपमा मनाउने प्रचलन रहेको छ । स्वास्थ्यप्रतिको ख्याल राख्दैं संस्कृति जोगाउनुमा यस पर्वकोे महत्वपूर्ण भूमिका रहेको देखिन्छ । यस पर्वले पर्वको निम्ति प्रयोग गरिने खाना र बाहिरी ऋतुलाई हाम्रो शरीरसँग मिलाउने प्रयास गरेको छ । जस्तैः आयुर्वेद तथा संस्कृतको आधारमा भन्ने हो भने यस महिनाबाट ‘उत्तरायण’ को सुरु हुन्छ । ‘उत्तरायण’ भन्नाले सुर्य उत्तरतर्फ जाने क्रम भन्ने बुझिन्छ । र, यसलाई ‘आदानकाल’ पनि भनिन्छ ।

‘आदानकाल’ भनेको शरीरमा वायुदोषको वृद्धि सुरु हुनु हो । अर्थात्, यस समयमा बाहिरी वातावरण त चिसो हुन्छ नै, यसबाहेक यो समयमा हाम्रो भित्री शरीर पनि चिसो हुने भएकोेले हावाको प्रभावको कारण शरीरमा रुक्छता (रुखोपना) पैदा हुन्छ । वायुका गुण स्वरुप यसले शरीरमा चिसोपना उत्पन्न गराउँछ । तसर्थ, वायुको यस्तो रुक्छता हटाउनको निम्ति यसका द्धोषहरुबाट बच्ने खानाहरु खानुपर्छ । जसकारण यस पर्वमा त्यस्ता नकरात्मक प्रभावबाट टाढा राखोस्, भन्नका निम्ति घ्यु, खिचडी, तरुल, सखरखण्ड, पिडालु, सेलरोटी तथा फुलौरा (फापरको पिठोबाट बनाइने परिकार) जस्ता परिकारहरु खाइन्छ ।

यस अर्थमा भन्नुपर्दा वायुदोषको कारण यस समयमा शरीरमा विभिन्न रोगहरु उत्पन्न हुन सक्ने सम्भावना उच्च मात्रामा रहन्छ । तसर्थ, संस्कृतिमा नै यसलाई जोडिएर शरीरमा बढ्न लागेको चिसो बढ्न नदिनको लागि खानपिनको माध्यमबाट नै त्यसलाई कम गर्न सकिन्छ, भनेर यो माघे संक्रान्तिमा सांस्कृतिक रुपमा नै संस्कृति र स्वास्थ्य जोड्न खोजिएको हो । जसकारण नै यो परम्परा बनाइएको हो ।

यसरी माघी पर्वमा खाइने प्रत्येक खानाको सम्मिश्रणबाट शरीरमा प्रोटिन, कार्बाेहाइड्रेट तथा फ्याट प्राप्त हुन्छ । वृहत रुपमा हेर्ने हो भने यस पर्वमा खाइने अधिकांश खानाहरुमा ग्लूकोज, सुगर तथा फ्याटको मात्रा बढी पाइन्छ । वैकल्पिक चिकित्साको टर्मिनोलोजीमा हेर्ने हो भने यी खानाहरुले शरीरमा भएका वायुदोषका प्रभावहरुलाई घटाउनको निम्ति मद्दत गर्छ । जसले गर्दा त्यसबाट पर्न सक्ने सम्भावित दुस्प्रभावहरु घटाउनको निम्ति उक्त परिकार वा खानाहरुको प्रयोगमा जोड दिइएको हो ।

यसका साथै अन्य समयमा शरीरले पचाउन सक्ने मात्रै सादा खाना खाएतापनि यस समयमा शरीरभित्रका अंगहरु खाना पचाउनको निम्ति सक्षम पनि रहन्छ । जसकारण यस समयमा कार्बाेहाइड्रेट तथा फ्याटयुक्त हेभी डाइट्स पनि पचाउन सक्ने भएकोले उक्त खानाहरु खान पनि सकिन्छ भन्ने सन्देश पनि यस माघी पर्वले दिन खोजेको छ । यस अर्थमा भन्नुपर्दा यो पर्वले स्वास्थ्य र संस्कृति जोड्ने प्रयासको रुपमा महत्वपूर्ण भूमिका समेत खेलेको छ ।


क्याटेगोरी : अन्तर्वार्ता / विचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ