२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशसिमकोटमा एकल तथा विपन्न दलित महिलाको स्वास्थ्य बीमा

सिमकोटमा एकल तथा विपन्न दलित महिलाको स्वास्थ्य बीमा


वीरेन्द्रनगर—हुम्लाको सिमकोट गाउँपालिकाले दलित विपन्न तथा एकल महिलाका लागि निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सुरु गरेको छ । गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ मा विनियोजित बजेटमार्फत दलित विपन्न तथा एकल महिलाको स्वास्थ्य बीमा गर्ने निर्णय गरेको थियो ।

पहिलो चरणमा ५९ दलित विपन्न महिला तथा एकल महिलाको निःशुल्क स्वास्थ्य बीमा गरेको गाउँपालिकाका स्वास्थ्य संयोजक नरबहादुर भण्डारीले बताए ।

‘वडा नं १ मा दलित समुदायको बसोवास नभएकाले वडा नं २ देखि ८ सम्मका विपन्न तथा एकल महिलाको स्वास्थ्य बीमा गरिएको छ,’ उनले भने, ‘यस्तै वडा नं २ मा रहेका १४, वडा नं ३ का १०, वडा नं ४ मा एक, वडा नं ५ मा आठ, वडा नं ६ मा सात, वडा नं ७ मा आठ र वडा नं ८ मा रहेका ११ एकल दलित महिलाको निःशुल्क स्वास्थ्य बीमा गरिएको छ ।’

वडा नं १ मा दलित समुदायको बसोबास नभएकाले बीमा कार्यक्रम लागू नभएको स्वास्थ्य संयोजक भण्डारीले जानकारी दिए । प्रतिव्यक्ति लाग्ने बिमित रकम तीन हजार पाँच सय गाउँपालिकाले तिरिदिएको गाउँपालिका अध्यक्ष विजय भण्डारीले बताए ।

‘स्वास्थ्य बीमा कार्यक्रमले लक्षित परिवारमा अबदेखि सहज स्वास्थ्य सेवाको पहुँच पुग्ने भएको छ,’ उनले भने, ‘आगामी आर्थिक वर्षबाट दीर्घरोगका बिरामीको समेत निःशुल्क स्वास्थ्य बीमा गरिने भएको छ ।’

निःशुल्क स्वास्थ्य बीमा कार्यक्रममा अब छुटेकालाई पनि चाँडै बीमा कार्यक्रमा समेटिने भएको गाउँपालिकाले जनाएको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ